संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालासँग अन्तर्वार्ता

‘जति भाइरस फेरिँदै जान्छ, उति लक्षण बदलिँदै जान्छ’ (भिडियो)

नेपालमा डेल्टा भेरियन्टको संक्रमण मत्थर हुँदै गर्दा फेरि नयाँ भेरियन्ट ओमिक्रोन भित्रियो। दैनिक रुपमा नयाँ संक्रमितको संख्या थपिँदै गयो।  संक्रमण दर एकाएक ह्वात्तै बढ्यो। ओमिक्रानको संक्रमण फैलिरहेकै अवस्थामा सब–भेरियन्टको ‘बीए २’ को संक्रमण नेपालमा बढी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै विश्व स्वास्थ्य संगठले पनि यसलाई डेल्टाजस्तो घात नरहेको बताएको छ। संक्रमण तीव्र गतिमा फैलिए पनि संक्रमित भइहाले पनि स्वास्थ्यमा जटिल समस्या नहुने जनाएको छ।

उसो त पछिल्लो समय नेपालमा संक्रमण घट्दो क्रममा देखिएको छ। दैनिक १२ हजारभन्दा बढी संक्रमित फेलापरेको अवस्थामा अहिले २ हजारको हाराहारीमा संक्रमित फेलापर्न थालेका छन्। संक्रमण घट्दै गएपनि जोखिम कति छ? अब आउने नयाँ भेरियन्टका लागि खोप कत्तिको भरपर्दो छ? यस्तै विषयमा केन्द्रित भएर संक्रामक रोग विशेषज्ञ प्रा. डा. जनक कोइरालासँग गरिएको कुराकानीः

कोभिडको नयाँ भेरियन्ट र ट्रान्समिसनको अहिलेको अवस्थाले के बताउँछ?

कोरोना भाइरसको अहिलेको अवस्थालाई तेस्रो लहर मानिन्छ। पहिलो पटक चीनबाट आएको भाइरस थियो भने दोस्रो लहरमा डेल्टा भाइरस भनिएको थियो। त्यस्तै अहिले तेस्रो लहरमा विश्वका अन्य मुलुकहरुमा पनि देखिएको ‘ओमिक्रोन’ देखिएको छ। पहिलो लहरको भन्दा दोस्रो लहरको भाइरस छिटो सर्‍यो भने तेस्रो लहरमा अझ छिटो फैलिएको छ।

अरु देशमा पनि त्यस्तै देखिएको थियो भने नेपलामा पनि त्यस्तै किसिमले फैलिएको देखियो। र, ह्वात्तसँग फैलिएर धेरै जनसंख्यालाई एकै पटक संक्रमण गरेर फेरि ह्वात्तै घटेर गएको छ। यो अरु देशहरुमा पनि त्यस्तै देखिएको छ।

अहिले पिक गरेर घट्ने क्रममा छ भनेर हामीले बुझेका छौँ।

अहिलेको अवस्थालाई हेर्ने हो भने मानिसहरुले अपनाएको सावधानी, सरकारले गरिरहेका प्रयासहरु र खोपका कुराहरु पुगिरहेका छन्, वा के छ?

पहिलोभन्दा दोस्रो भाइरस बढी सर्थ्यो। दोस्रोभन्दा तेस्रो अझ बढी छिटो र सजिलैसँग सर्ने किसिमको भाइरस छ। त्यसले गर्दा हामीले पहिलो लहरमा जे सिकेका थियौँ, दोस्रोबाट तेस्रोमा पुग्दा अझ बढी सतर्कता अपनाउनु पर्ने रहेछ। यसो भन्दै गर्दा सतर्कता नलिएको त होइन। पहिलो र दोस्रोभन्दा तेस्रो पटकमा बढी सतर्कता त लिइयो। सबैले मास्क लगाएको छन्।

एक किसिमले भीडभाड गर्नु हुँदैन भन्ने पनि भइसकेको थियो। स्कुल, पार्टी प्यालेसलगायतका भीडभाड हुने स्थानहरु बन्द पनि गरिएको थियो। खोप पनि लगाइँदै छ। पहिलो लहरमा खोपको उपलब्धता थिएन। दोस्रो लहरमा भर्खरै खोप लगाउन सुरु गरिएको थियो। सरकारले सकेसम्म सबैलाई समेट्ने गरी खोप पनि दिँदै आइरहेको छ।

यति तयारी गरिरहँदा पनि अपुग भने भइरहने रहेछ। अझ बढी संक्रमण गराउने भाइरस आएको हुनाले सबै तयारी गर्दागर्दै पनि पुगेन। त्यसले गर्दा हामीले के पाठ सिक्नु पर्‍यो भने अर्को भाइरस आउँदा कुन किसिमको भाइरस आउँछ, अझ चाँडो सर्ने आउछ कि? अझ बिरामी बनाउने आउँछ कि? यस्ता कुराहरुलाई अरु देशहरुको अध्ययन अनुसन्धानलाई हेरेर बुझेर पहिलादेखि नै तयारी अवस्थामा बस्नु पर्ने रहेछ भन्ने कुरा सिक्यौँ। र, अर्को कुरा कुनै पनि भाइरसलाई कमजोर भाइरस भनेर हेप्नु हुँदैन। किनभने आमिक्रोनलाई कमजोर भाइरस भनिएको थियो, अहिले पनि मानिसहरुको मृत्यु भइरहेको छ। त्यसैगरी खोपको दुई मात्राले मात्रै पुग्दैन भन्ने कुरा पनि बुझिएको छ। अब तेस्रो मात्रा लगाउने सुरु गरिएको छ।

अझै केही थाहा छैन, पछि भाइरस अझ परिर्वतन भएर अर्को बुस्टर पो दिनु पर्ने हो कि? त्यसको लागि पनि हामीले तयारी गर्नु पर्ने हुन्छ।

अहिलेसम्मको इतिहास हेर्ने हो भने तेस्रो लहर आएपछि संक्रमण घट्दै जान्छ। त्यसपछि इन्डामिक लेभलमा हुन्छ, लो लेभलमा हुन्छ। संक्रमणबाट धेरैको मृत्यु हुँदैन भन्ने पहिला हामीले सिकेका थियौँ। तर कोभिड–१९ अलि फरक किसिमको रहेछ। हरेक पटक आउँदा हामीलाई झुक्याएर आएको छ। र, यसले नयाँ– नयाँ कुरा सिकाएको छ। त्यसैले हामीले भविष्यमा नयाँ रुपमा के हुन्छ। त्यसलाई कसरी तयारी अवस्थामा राख्ने भन्ने कुरा हामीले अध्ययन गरेर बस्नु पर्‍यो। अनि अरु देशहरुबाट सिक्नु पर्‍यो। अरु देशहरुमा अध्ययन भएर हामीकहाँ आइपुग्यो भने हामीलाई सजिलो हुन्छ। भन्नुको मतलब हामी ‘वाचफूल’ हुनुपर्‍यो। यही नै हो हामीले पाएको पाठ।

नयाँ भेरियन्ट नेपालमै विकसित हुन सक्ने सम्भावना छ  कि छैन?

नेपालमा पनि नयाँ भेरियन्ट बन्न सक्छ। डेल्टा भेरियन्ट चलिरेहेकै बेला यूकेमा नेपाली डेल्टा भेरियन्ट भनेर नाम राखिएको थियो। भेरियन्ट भन्ने कुरा म्यूटेसन कुन बेला कहाँ ‘सक्सेसफूल्ली’ म्यूटेसन, जसले व्यापक रुप लिन्छ, त्यसलाई हेर्नु पर्ने हो। नेपालमा नयाँ भेरियन्टलाई तुरुन्तै पत्ता लगाउन सक्ने टेक्नोलोजी आइपुगेको छैन। जीनोमिक सीक्वीन्सिङ भनिन्छ, यो गरेर अहिलेसम्म ओमिक्रोनलाई हेर्दा ४४ वटा भाइरसलाई हेरियो।

हामीसँग सीमित क्षमता छ। तर यदि अरु कतै पनि नदेखिएका लक्षणहरु देखिएका छन् अथवा बिरामीको संख्या ह्वात्तै बढेर गयो भने त्यस्ता व्यक्तिलाई आइसोलेट गरेर आफूले नसक्ने भए अरु देशहरुमा पठाएर त्यसलाई नयाँ भेरियन्ट हो कि भनेर जाँच्नु पर्ने हुन्छ। तर नयाँ भेरियन्ट जहाँ पनि निस्कन सक्छ, यसलाई भन्न सकिँदैन कहाँबाट निस्किन्छ भनेर।

अहिले फेरि यूरोप र एसियामा सब–भेरियन्ट  (बीए.२) देखिएको छ। जुन नेपालमा धेरै देखिएको भनिएको छ। यो सब–भेरियन्ट कस्तो हो? यसबाट डराउनुपर्ने अवस्था कत्तिको छ?

अहिलेसम्म जुन सब–भेरियन्टको कुरा गरिएको छ, त्यो आमिक्रोनकै कुरा गरिएको छ। ओमिक्रोनले रुघामर्की लगाउने किसिमको लक्षण देखाउने हुनाले फोक्सोमा नपुगेर रुघाखोकी लगाउने र चाँडै सर्ने भएको हुँदा यसले डेल्टालाई रिप्लेस गरेर गर्‍यो। किनभने डेल्टालाई समय लाग्ने देखिएको थियो। ओमिक्रोन आइसकेपछि डेल्टाको प्रकोप हटेर गयो। यो यहाँ मात्र नभएर विश्वका अन्य देशहरुमा पनि त्यही नै देखिएको छ।

फेरि ओमिक्रोनको पनि सब–भेरियन्ट बीए १, बीए २, बीए ३ भनेर निकालिसकेपछि विभिन्न अध्ययनहरुले बीए २ अलि बढी छिटो सर्ने देखाएको छ। त्यसलाई कसैले ‘स्टेल्थ कोभिड’ भनेर नाम पनि दिए। तर यो बीए २ सब–भेरियन्ट नै हो। अहिलेसम्मको डाटा हेर्दा यो छिटो फैलिन्छ, तर यसले गाह्रो पार्दै जसरी अहिले ओमिक्रोनको चलिरहेको छ, त्यसरी नै रुघाखोकी, ज्वरो आउने, कसैलाई निमोनिया बनाउनेसँगै कसैको मृत्यु पनि हुन सक्छ। तर, धेरै जसो रुघाखोकीमा आउने ज्वरोको जस्तो लक्षण देखापर्ने र पहिला ओमिक्रोन भइसकेको व्यक्तिलाई संक्रमण हुने सम्भावना एकदमै कम हुन्छ।

संक्रमण भने हुनसक्छ भनेर देखाएको छ। त्यसले गर्दा बीए २ भेरियन्ट नेपालमा आइसके पनि कतिलाई भएको छ कतिलाई छैन, यो ‘एनालाइसिस’ गरेर हेरिएको छैन। संक्रमण भए पनि यसले अहिले भइरहेको संक्रमणभन्दा ज्यादा खराबी वा फरक किसिमको रोग उत्पादन गर्दैन भन्ने बुझिएको छ।

तर, जसको रोग प्रतिरोधात्मक शक्ति कमजोर छ, उनीहरुलाई भने गाह्रो बनाउन सक्छ। ओमिक्रोन र यसमा फरक के छ भने यो छिटो सर्छ, तर उस्तै किसिमको रोग लगाउँछ।

अहिले फेरि लक्षणहरु पनि फरक–फरक देखिएका छन्, यो भेरियन्टहरु म्यूटेन्ट भएर आइरहँदा लक्षण परिर्वतन भएर आइरहने हुन् वा के हो?

हो, लक्षण फरक हुन सक्छन्। जस्तै डेल्टाले स्वास–प्रश्वासको माथिल्लो सतहमा भन्दा सिधै फाक्सोमा गएर फोक्सोको कोषहरुलाई संक्रमण गर्ने हुनाले पहिला रुघाखोकी धेरै नलाग्ने, लागिहाले पनि अलिअलि रुघा लाग्ने घाँटी खस्खसाएर निको भएको जस्तो हुने हुन्थ्यो। तर, जब फोक्सोमा पुग्थ्यो, अनि मात्रै गाह्रो बनाउथ्यो। यसो हुँदा रोग प्रतिरोधात्मक क्षमतालाई छल्थ्यो र सामान्य हो भन्ने हुन्थ्यो। संक्रमण फोक्सोमा पुगेर धेरै क्षति गरिसकेपछि हाम्रो शरीरले आक्रमण गर्दा झन् गाह्रो हुने, जटिल प्रकारको निमोनिया भइसकेको देखिन्थ्यो।

तर, अहिलेको नयाँ भेरियन्टले पहिला नै नाक र घाँटीको सतहमा हुने भएका कारण सुरुमै रुघाखोकी लागेजस्तो हुन्छ। रुघा लागेपछि हाम्रो शरीरले रोगप्रतिरोधात्मक शक्ति प्रकट गरेर त्यसलाई नियन्त्रण गर्छ। ‘अपर रेस्पीरेटरी ट्रयाक इन्फेक्सन’ भनेको रुघाखोकी जस्तो लक्षण बढी देखिएको छ, यो नयाँ भेरियन्टमा।

भविष्यमा कुन कोषमा जान्छ, कोभिडले यति मात्र होइन, कतिपयको मुट, कलेजोमा संक्रमण गराएका देखिएको छ, जसलाई ‘मायोकार्डाइटिस’ ‘पेरीकार्डाइटिस’ भनिन्छ। कसैलाई पखाला मात्रै गराउँछ। आन्द्रामा रोग गएर पखाला मात्रै गएका पनि छ। विभिन्न अङ्गहरुमा गएर संक्रमणले क्षति पुर्‍याउन सक्छ। कसैलाई पुरै शरीरमा हुन सक्छ, उनीहरुलाई अझ जटिल बनाउन सक्छ।

यसले जति रुप परिवर्तन गर्छ, लक्षणहरु पनि फरक प्रकारको गराउन सक्छ।

विश्वमा भइरहेका रिसर्चहरु हेर्दा यो खोपहरुले काम गरिरहेको पनि देखिएको छ, तर पहिलो लहरमा भन्दा दोस्रो लहर संक्रमणको डर कम थियो। अहिले तेस्रो लहरमा पुग्दा संक्रमण पनि भइरहेको छ। मानिसहरु पनि सँगसँगै हिँडिरहेका देख्दा डराउनु पर्नेछ या छैन? यसो गरिरहँदा संक्रमणबाट बच्ने उपाय के–के हुन सक्छन्?

सुरुमा के भएको थियो भने खोप लगाइसकेपछि हामीलाई रोग लाग्दैन, खोपले हामीलाई बचाउँछ भन्ने धारण थियो। खोपलाई हेर्ने हो भने अहिलेसम्मको बलियो एमआरएनए खोप भनिन्छ, जुन अमेरिकाको फाइजर, मोर्डनाहरुले उत्पादन गरेको छ। यो खोप लगाउँदा पनि डेल्टा र ओमिक्रोनले संक्रमण गरायो। तर, संक्रमित भएपनि साधारणतया लक्षणहरु मात्रै देखियो। ‘माइल्ड इन्फेक्सन’ मात्रै भयो। गाह्रो भएर अस्पताल भर्ना हुने अथवा मृत्यु हुने संख्या घटेर गयो।

यसको मतलब खोपले संक्रमणलाई पूर्ण रुपमा रोक्ने रहेनछ। रोग लाग्दो रहेछ भन्ने बुझियो। त्यस्तै किसिमले नेपालमा पनि १८ वर्षभन्दा माथिका व्यक्तिहरुका लागि तीन वटा खोप उपलब्घ छन् भने किशोरकिशोरीहरुलाई दुई वटा खोप उपलब्ध गराइएको छ।

यी खोपहरुले हामीलाई जटिल हुनबाट बचाउँछ। तर, यसको मतलब हेल्चेक्र्याइँ गरे पनि हुन्छ भन्ने होइन।

अहिले लगाउने खोपभन्दा पनि नाकमा हाल्ने खोप हुनुपर्छ भन्ने कुरा उठिरहेकाछन्, यो खोप स्वरुपको विकल्प के–के हुन सक्लान्?

नयाँ–नयाँ कुराहरु वैज्ञानिकहरुले खोजिरहेका छन्। ‘नेजल भ्याक्सिन’ नाकमा हाल्ने खोप नयाँ कुरा होइन। यो खोप पहिला इन्फ्लुयन्जामा पनि पाइन्छ। अन्य देशहरुमा पाइन्छ, तर नेपालमा चाहिँ यो पाइन्छजस्तो मलाई लाग्दैन। रुघा लाग्ने भनेको नाकमा हो, स्प्रे गर्‍यो भने भाइरस भित्र पस्न दिँदैन। त्यहाँको रोगप्रतिरोधात्मक क्षमता बलियो हुन्छ भनेर दिने चलन छ।

मलाई थाहा भएसम्म त्यस्तो खोप भारतले उत्पादन गरेको छ। त्यो खोप परीक्षणकालमै छ। अझै अनुमति पाइसकेको भने छैन। त्यसले अनुमति पायो भने विभिन्न देशहरुमा प्रयोग गरिएला। यो खोप राम्रो पनि हो, किनभने ‘इन्जेक्सन’ गरिरहनु परेन, दुःख भएन। अर्को भनेको ‘लोक्कल्ली’ नै दियो, सबैभन्दा पहिला नाकबाटै आउने हो। स्वासबाट सर्ने भएकाले यो राम्रो पक्ष हो।

यो बाहेक अरु–अरु किसिमको खोप पक्कै पनि निस्कन्छ। पाँच वटा फरक प्रविधिबाट खोपहरु त निस्किसकेको छ। हरेक पल्ट भेरियन्ट आउँदा नयाँ खोप बनाउन सम्भब छैन, किनभन्दा ओमिक्रोन आयो भनियो। खोप बनाउनका लागि ६ महिनादेखि एक वर्ष लाग्छ, त्यतिन्जेल अर्को भेरियन्ट आइसक्छ। त्यसले गर्दा विश्व स्वास्थ्य संगठनले जुनसुकै भेरियन्ट आएपनि काम गर्ने खोप बनाउन खोजिरहेको छ। यस्तो खोप आएपछि के हुन्छ भन्दा खोप लगाइसकेपछि जतिसुकै भेरियसन भएपनि जतिसुकै म्यूटेसन भएपनि त्यसले काम गर्छ।

माघ २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्