निलम्बित सह–न्यायाधिवक्ता थापामाथि भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उच्च सरकारी वकिल कार्यालय, पोखराका सह–न्यायाधिवक्ता ( निलम्बित) सुरेन्द्र बहादुर थापा र उनकी श्रीमती अन्जु समेतलाई प्रतिवादी बनाएर  मुद्दा दायर  गरेको  छ।

उच्च सरकारी वकिलको कार्यालय, पोखरामा हुँदा घुससहित रंगेहात पक्राउ परेका थापाविरुद्ध अख्तियारले ६१ लाख २ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो।

अनुसन्धानका क्रममा थापाले उक्त रकम गैरकानूनी रुपमा आर्जन गरेको पुष्टि भएको अख्तियारको दाबी छ।

५ असार २०४५ मा सरकारी सेवामा प्रवेश गरेका थापाको गत वर्षसम्म एक करोड ७६ लाख रुपैयाँ मात्रै वैध आर्जन हुनेमा सम्पत्ति छानविन गर्दा दुई करोड ३७ लाख रुपैंया आर्जन गरेको भेटिएको अख्तियारको भनाइ छ। ६१ लाख रुपैयाँको स्रोत नखुलेको भन्दै अख्तियारले थापामाथि  चलाएको हो।

साथै थापाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती अन्जु खड्का थापाको नाममा  बैंक खाताहरुमा रहेको रकम मौज्दात र घरजग्गा तथा खर्चको श्रोत पुष्टि हुन नसकेको उल्लेख छ। थापाले सार्वजनिक सेवामा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी श्रीमती अन्जु खड्काको नाममा समेत राखेको पाइएको भन्दै अख्तियारले अन्जुलाई समेत प्रतिवादी बनाइ मुद्दा दर्ता गरेको हो।

लागत मूल्य वरावरको भागको श्रोत नखुलेको सम्पत्ति बिगो साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ को उपदफा १ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख, बमोजिम जफत गर्ने प्रयोजनार्थ थापाकी श्रीमती अन्जु खड्का थापासमेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफतको मागदावी सहित बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

माघ २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्