बीएससी एग्रिकल्चर कार्यक्रम सञ्चालन गर्न नेपाली सेना र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता

काठमाडौँ – नेपाली सेना कृषि विज्ञान संस्थानमा बीएससी एग्रिकल्चर कार्यक्रम सञ्चालन गर्न नेपाली सेना र त्रिभुवन विश्वविद्यालयबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

जंगी अड्‍डामा आयोजित एक कार्यक्रममा नेपाली सेना र त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

लमजुङ जिल्लामा तैनाथ नेपाली सेना व्यवसायिक कृषि तथा पशुपालन तालिम केन्द्रलाई नेपाली सेना कृषि विज्ञान संस्थानको रुपमा सञ्चालन गरी स्नातक तहको बीएससी एग्रिकल्चर कार्यक्रम सञ्चालन गर्ने लक्ष्यअनुरुप सम्झौता भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।

उक्त एमओयू हस्ताक्षर कार्यक्रममा नेपाली सेनाका तर्फबाट सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी आनन्दकुमार अधिकारीले हस्ताक्षर गरेका थिए। त्रिभुवन विश्वविद्यालयका तर्फबाट कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डीन प्रा भार्गव धितालले हस्ताक्षर गरेका थिए।

माघ २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्