समुदायस्तरमै नौमती बाजा संरक्षण अभियान (तस्बिरहरुसहित)

दाङ – गढवा गाउँपालिका– ७ घोराहा निवासी राधा अधिकारीलाई हिजोआज फुर्सद छैन। विवाह, पूजा तथा ब्रतवन्ध हुँदा झन् उनलाई भ्याइनभ्याइ हुन्छ। खाली समय घरमै बिताउने राधा अहिले नौमती बाजा बजाउन व्यस्त भएकी हुन्।

बढाई, नौमती, झ्यालीलगायत पाँच तालको बजा बजाउन सक्छिन् उनी। लोपन्मुख बाजाको संरक्षण गर्ने अभियान सुरु भएपछि उनी यो अभियानमा जोडिन पुगेकी हुन्।

‘बेरोजगार थिएँ। दाइहरुले बाजा बजाएको देखेपछि रहर जाग्यो’, उनले भनिन्, ‘बाजा बजाउन जान्ने भएपछि फुर्सद निकाल्न मुस्किल छ। विवाह, ब्रतवन्ध, पूजामा माग बढेको छ।’

दुई वर्षअघि गढवा पञ्चेबाजा कला संस्कृति केन्द्र स्थापना गरेर लोपोन्मुख बाजा संरक्षणको अभियान थालिएको हो। यो अभियानमा अहिले महिलाहरुको सक्रियतासमेत बढेको छ। सीप सिकेपछि विवाह, ब्रतवन्ध, पूजालगायत सभा–समारोहमा नौमती बाजाको माग बढेको हो।
दैनिक खर्चसमेत बाजा बजाएर जुट्ने गरेको छ।

बाजा साथी जस्तै भएको स्थानीय शारदा विक बताउँछिन्। ‘सुरुमा बाजा देख्दा डर लाग्थ्यो। अहिले बजाउन थालेपछि त साथी जस्तै भएको छ’, उनले खुसी हुँदै भनिन्, ‘पहिले महिलाले बाजा बजाउन हुँदैन भनेर सिक्नै पाइँदैनथ्यो। अहिले त बाजा बजाएर दुई चार रुपैयाँ आम्दानी पनि गर्न पाएका छौं।’

नौमतीलगायत मौलिक बाजाहरु लोप हुन थालेपछि दाङमा संरक्षण र व्यवसायिकता प्रदान गर्ने उद्देश्यले अभियान थालिएको छ। बाजा संरक्षणको नेतृत्व महिलाहरुले लिएका छन्। पञ्चे बाजाको संस्कृति हराउँदै जान थालेको बेला रेशम शाहीलाई बाजा संरक्षण गर्नुपर्छ भन्ने योजनाले तान्यो। गाउँघरमा बाजा खोजियो। नपुगेका बाजा किनियो। अहिले अभियानले सफलोन्मुख छ।

‘ठूलो आवाजमा डिजे घन्क्याएर नाचगान गर्ने क्रम बढेपछि हाम्रो परम्परा लोप हुन थाल्यो। त्यही भएर बाजा संरक्षण गर्ने अभियानमा हामी जुट्यौं, ’उनले विगत सम्झँदै भने, ‘अहिले सबै यो अभियानमा छौं।’

बाजा संरक्षण अभियानको नेतृत्व चुडामणि पौडेलले गरेका छन्। गढवा पञ्चेबाजा कला संस्कृति केन्द्रका अध्यक्ष रहेका पौडेलले समुदायका सबै जातजातिको सहभागितामा संरक्षण अभियान थालिएको जानकारी दिए।

लोपोन्मुख बाजा संरक्षणसँगै संस्कृति हस्तान्तरण पनि भैरहेको छ। कुनै समय दलित समुदायका व्यक्तिले मात्रै बजाउने भनेर चिनिएको बाजा अहिले सबैको साझा भएको छ र संयुक्त रुपमा बजाउन थालिएको छ। यसले जातीय विभेदको समेत अन्त्य गर्न मद्दत पुगेको छ।

लोप हुन थालेको बाजा संरक्षण गर्ने अभियानलाई प्राथमिकता दिएको गढवा पञ्चेबाजा कला संस्कृती केन्द्रका प्रवक्ता तिलकबहादुर पुनले बताए। ‘मुख्य कुरा पञ्चेबाजा संरक्षण गर्ने उद्देश्य हो’, उनले भने, ‘हामीले सामाजिक काम पनि यही अभियानमार्फत गर्दै आएका छौं।’

समुदायको अभियानलाई सरकारी स्तरबाट पनि सहयोग हुन थालेको छ। घरेलु तथा साना उद्योग कार्यालयले बाजा बजाउन सीप र बाजा दुवै हस्तान्तरण गरेको हो।

फाल्गुन १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्