बतासलाई पशुपति धर्मशालाबाट नहटाउन उच्च अदालतको आदेश

फाइल तस्बिर

काठमाडौँ – उच्च अदालत पाटनले पशुपति धर्मशालामा होटल सञ्चालन गरिरहेको बतास समूहलाई त्यहाँबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

पर्यटनमन्त्री प्रेम आलेको निर्देशमा पशुपति क्षेत्र विकास कोषले बताससँग भएको सम्झौता रद्द गर्दै होटल सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो।

उक्त निर्णयविरुद्ध होटल सञ्चालकले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै आइतबार न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले तत्काल त्यहाँबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो।

भण्डारीको इजलासले अन्तरिम आदेशबारे छलफल गर्न फागुन ९ गते दुवै पक्षलाई बोलाएको छ।

जारी आदेशमा भनिएको छ, ‘अन्तरिम आदेशको टुंगो नलाग्दासम्म मिति २०७६/१/३० को करार सम्झौताबमोजिम होटल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सृजना नगर्नू नगराउनू भनी विपक्षीहरुको नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।’

बतासले नारायणहिटीमा ऐतिहासिक संरचनालाई ध्वत बनाएको भन्दै पर्यटन मन्त्रालयले त्यहाँबाट पनि उसलाई हटाएको छ।

फाल्गुन १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्