किन स्वाट्टै घट्यो संक्रमण? कस्तो छ गत महिनाको कोरोना ग्राफ?

फाइल तस्बिर

काठमाडौँ- पछिल्लो समय संक्रमण दर घट्दै गएको छ। माघ महिनाको पहिलो हप्ता ह्वात्तै बढेको संक्रमण दर अहिले घट्दै गएको तथ्याङ्कले देखाएको छ।

संक्रमित हुनेको संख्यामा क्रमशः कमी हुदै गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ। कतिपयले परीक्षण कम भएका कारण संक्रमण दर ओरालो लाग्दै गएको भन्दै सरकारको आलोचना समेत गरिरहेका छन्। तर, सरकारले परीक्षणको दायरा बढाउन कुनै पनि प्रयास भने गरेको देखिएको छैन। सम्भावित लक्षण भएपछि मानिसहरु आफै परीक्षणका लागि प्रयोशाला पुग्ने गरेका थिए।

संक्रमण कम भएकै कारण परीक्षण गर्नेहरुको संख्यामा कमी आएको हुन सक्ने विज्ञहरुले बताएका छन्।

संक्रमण कम हुन राम्रो पक्ष हो। तर, संक्रमण दर ओरालो लाग्दै गर्दा पनि मृत्यु हुनेको संख्यामा कमी आएको देखिएको छैन। तथ्याङ्क हेर्ने हो भने अनुपातमा मृत्यु हुनेको संख्या वृद्धि भएको देखिएको छ।

विश्वव्यापी रुपमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिदै गर्दा मृत्युदर कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको थियो। उसो त नेपालमा कोरोना भाइरसको पहिलो लहरमा भन्दा दोस्रो लहरका बेला संक्रमणका कारण धेरैले ज्यान गुमाएका थिए।

त्यो बेला ‘डेल्टा’ भेरियन्टलाई सबैभन्दा खतरनाक मानिएको थियो।

अहिले पनि तेस्रो लहर मत्थर हुदै गर्दा दोस्रो लहरमा जस्तो मृत्युदर धेरै देखिएको छैन। दोस्रो लहर जस्तो मृत्यु हुनेको संख्या धेरै नभएपनि अहिले मृत्यु हुनेको संख्यामा कमी भने आएको छैन।

भाइरसको संक्रमण गराउने प्रकृति फरक भएका कारण दोस्रो लहरमा जस्तो यो लहरमा कम संक्रमितको मृत्यु भएको दाबी गर्छन्, संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला।

‘मृत्युदर कम किन भएको भन्दा यसले शरीरको माथिल्लो भागमा संक्रमण गराउने भएका कारण संक्रमण फोक्सोमा पुगन्जेलसम्म हाम्रो रोग प्रतिरोधात्मक शक्तिले काम गरिसक्छ। हामीले तुलना गरेर हेर्दा ५/६ महिना अगाडि देखिएको डेल्टा भेरियन्टले गर्दा दैनिक १० हजार संक्रमित पुग्दा मृत्यु दर अढाइ सय थियो’, उनले भने, ‘तर अहिले संक्रमितको संख्या १२ हजार पुग्दा पनि सबै भन्दा धेरै मृत्यु भनेको १६ वटा भयो। पहिलाको जस्तो दुई सय अढाई सय नाघेन यसपालि। यसले गर्दा मृत्यु दर धेरै कम हुन्छ भन्ने प्रमाणित भएको छ।’

संक्रमण देखिएको केही समय पछि मात्र मृत्यु दर बढ्ने उनी बताउँछन्।

‘संक्रमितको संख्या घटिरहेको छ, अस्ति मृत्यु दर किन कम थियो भन्दा त्यसलाई ‘ल्याक पिरियड’ भनिन्छ, मानिसलाई रोग लागेपछि एक हप्तापछि गाह्रो पर्छ। र, दुईदेखि तीन हप्ता लाग्छ मृत्यु हुनलाई। अन्य औसत १० देखि १४ दिन भनिन्छ’, डा. कोइरालाले भने, ‘त्यसैले दुई हप्तासम्म हामीले १०/१५ को संख्यामा मृत्यु हुने यो ट्रेन देखिराख्छौँ। अब बिस्तारै यो क्रम पनि घट्दै जान्छ। यो बढेर जाँदैन। ल्याकले गर्दा त्यस्तो देखिएको हो।’

यस्तै तत्काल संक्रमित भएका व्यक्तिको तत्काल नै मृत्यु नहुने नै बताउँछन्, स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी।

‘संक्रमण हुने बित्तिकै मृत्यु भइहाल्ने हुदैन। स्वास्थ्य बिग्रेर अस्पताल भर्ना हुनलाई केही दिन लाग्छ। अस्पताल पुगेपछि उपचारका प्रयासहरु हुन्छन्। वा अस्पताल पुग्दापुग्दै ज्यान जान सक्छ। तर यो कुरा संक्रमण देखिएको केही हप्ता पछि मात्रै हुन्छ’, उनले भने,‘तथ्याङ्क हेर्ने हो भने हामी माघको पहिलो संक्रमणको हप्ता उच्च बिन्दुमा थियौँ। त्यसको प्रभाव भनौँ वा मृत्यु हुनेको संख्या हिजो आज देखिन्छ।’

अझै संक्रमणको जोखिम कति?

संक्रमण दर कम हुँदै गए पनि सतर्कता भने अपनाउन जरुरी रहेको डा. अधिकारीले बताए।

‘संक्रमण दर कम हुदै गएको छ। यो भनेको सकारात्मक पक्ष हो। धेरै मानिसहरु संक्रमित भएर निको भएको अवस्था छ। धेरैले खोप लगाएको अवस्था पनि छ। अर्को भनेको धेरैमा भएको सतर्कताको पाटो पनि हो। यी सबै कुरालाई हामीले हेरेका छौँ’, उनले भने, ‘जोखिमको हिसाबले कुरा गर्दा हामीले कम छ भन्न सक्दैनौँ। हामीसँग अहिले पनि ३० हजार सक्रिय संक्रमितहरु पुष्टि भएको तथ्याङ्क छ। यो हिसाबले उनीहरुले अरुलाई सार्न सक्ने सम्भावना धेरै हुन्छ।’

डा. अधिकारीका अनुसार नयाँ भेरियन्ट आउनसक्ने भएका कारण संक्रमणबाट जोगिनका लागि साबधानी उच्च हुनु पर्छ।

उनले भने, ‘दैनिक रुपमा हजार जना नयाँ संक्रमित थपिरहेको अवस्था अझै पनि छ। यसले जहिले पनि समुदायमा संक्रमित भएको भन्दा थप संक्रमित छन् भन्ने पुष्टि गर्छ। अर्को नयाँ भेरियन्टहरु आउन सक्ने सम्भावना भएका कारण साबधानी उच्च हुनु पर्छ।’

संक्रमण दर घट्दै गएपछि समाजमा संक्रमण कम मात्रामा हुन्छ र संक्रमण कम भएपछि कम ‘एक्सपोजर’ हुन्छ। संक्रमण धेरै हुँदा धेरै मानिसहरुलाई हुने सम्भावना हुन्छ। जसले गर्दा धेरै भन्दा धेरैलाई सर्न सक्छ।

दुई सय भन्दा बढी केस देखिएसम्म संक्रमणको जोखिम अझै पनि उच्च रहेको बुझ्नुपर्ने बताउँछन्, डा. कोइराला।

‘जबसम्म केसहरु देखिरहेका छन्। सय दुई सय जनामा मात्रै देखिएको छ भने पनि कुन बेला कहाँ एक्सपोजर हुन्छ, त्यो थाहा हुँदैन। नेपालमा सय दुई सय जना संक्रमित भनेको डेढ दुई हजार हो। किनभने पहिलो विश्व स्वास्थ्य संगठनले तथ्याङ्क संकलन गर्दा पनि जति तथ्याङ्क आएको छ, त्यसको २० देखि २५ गुणा बढी समाजमा संक्रमण छ भनेर देखाएको थियो’, उनले भने,‘परीक्षण गर्ने भनेको कि गाह्रो भएर हो, कि विदेश यात्रा गर्नेहरुका लागि अनिवार्य भएकाले परीक्षण हुन्छ। अरु सामान्य अवस्थामा भएकाले रुघाखोकी भनेर परीक्षण गर्दैनन्।’

डा. कोइरालाका अनुसार अहिले नेपालमा दुई हजार संक्रमितको भइरहेका छन् भने त्यसको मतलब अझै २०/२५ हजार संक्रमित छन् भन्ने बुझ्नु पर्ने हुन्छ।

उनले भने, ‘त्यसैले जबसम्म संक्रमितको संख्या सय भन्दा कम हुदैन, त्यो बेलासम्म जोखिम धेरै नै छ भनने बुझ्नु पर्छ। र, सबै भन्दा कम भएपछि पनि पूर्ण रुपमा शून्य भने छैन, तर पहिलाको भन्दा सुरक्षित छौँ भन्ने बुझ्नु पर्छ।’

त्यसपछि क्रमशः जोखिम पनि घट्दै जाने उनले बताए।

फाल्गुन १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्