कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (फेब्रुअरी ६ देखि १२ सम्म)

प्यान्डेमिक घट्दै, मृत्युदर बढ्दै: के हो कारण?

कोरोना प्यान्डेमिकको पछिल्लो लहर, ओमिक्रोन लहर, तीव्र उकालो लागेर छिट्टै ओरालो लाग्न थालेको देखिन्छ।

पछिल्लो समय यो क्रम प्रतिदिन घट्दै गएको छ। नेपालमा सन् २०२२ को जनवरी पहिलो सातातिर सुरु भई तीव्र्र बढ्दै गएको ओमिक्रोन लहर करिब दुई सातामै उच्च बिन्दुमा पुगेको थियो। त्यति बेला पिसिआर परीक्षणबाट मात्रै पत्ता लागेका संक्रमितको संख्या १० हजार नाघी नेपालको प्यान्डेमिक इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो दैनिक संक्रमण संख्या बन्न पुग्यो।

तत्पश्चात् नाटकीय रूपमा फेरि दैनिक संक्रमण घट्दै हाल सानो संख्यामा खुम्चिसकेको छ। नेपालमा विगतका लहरभन्दा भिन्न पछिल्लो लहर निकै तीव्र्र तर छोटो, करिब एक महिना, रह्यो हालसम्मको परिप्रेक्ष्यमा। त्यति धेरै क्षति पनि पु¥याउन पाएन यसले। यसबाट दुई वटा कुराको अनुमान लगाउन सकिन्छ।

पहिलो, हाल विश्वमा, आवर वल्र्ड इन डाटाका अनुसार औसतमा ६०% भन्दा धेरै जनसंख्याले कम्तीमा एक डोज कोरोना भ्याक्सिन लगाइसकेका छन् तर यो अनुपात कम विकसित देशमा निकै न्यून छ, मूलतः अफ्रिकी देशमा।

नेपालमा पनि १८ वर्षभन्दा माथिकामध्ये करिब ५५% र कुल जनसंख्यामध्ये ७०% भन्दा धेरैले दुई मात्रा कोरोना भ्याक्सिन लगाइसकेका छन्। त्यस्तै, विश्वमा प्रत्यक्ष वा अप्रत्यक्ष कोरोना संक्रमण लागिसकेकाहरूको संख्या पनि ठूलै छ, हालसम्म ४० करोडभन्दा धेरै।

तसर्थ भ्याक्सिन र संक्रमणले विश्वका करिब दुई तिहाइ जनतालाई प्रभाव पारिसकेको अवस्थामा सामुदायिक इम्युनिटी अर्थात् हर्ड इम्युनिटीको विकास केही हदसम्म भइसकेको अनुमान लगाउन सकिन्छ।

त्यसैका कारण पछिल्लो लहरले विश्व र नेपालमा पनि त्यति ठूलो क्षति गर्न सकेन र आगामी दिनमा संक्रमण र यसको असर क्रमशः घट्दै गई प्यान्डेमिक पनि कम हुँदै जाने आशा गर्न सकिन्छ।

दोस्रो, प्यान्डेमिकको वर्तमान लहर विश्वमा फरक–फरक प्रकृति र ढंगको देखिएको छ। प्रमुखतः समग्र रूपमा विश्वमा हाल दैनिक संक्रमण घट्दै गई वर्तमान लहर ओरालो लाग्दै गरेको छ भने मृत्युको लहर उकालो लागेको छ। समग्र रूपमा वर्तमान लहरको बेला मृत्यु दर विगतभन्दा कम भए पनि अमेरिकामा हाल दैनिक २५००–३००० मानिसको मृत्यु भइरहेको छ। अमेरिकामा वर्तमान कोरोना मृत्यु लहर हालसम्मकै सबैभन्दा दोस्रो ठूलो मृत्यु लहरको रुपमा देखा परिरहेको छ।

भारत र ब्राजिलमा पनि वर्तमान अवस्थामा दैनिक संक्रमणमा कमी आए पनि मृत्युको लहर आइरहेको देखिन्छ। जापानमा पछिल्लो समय संक्रमण र मृत्यु दुवैको नयाँ लहर आई हालसम्मकै सबैभन्दा उच्च दैनिक संक्रमण र मृत्युको किर्तिमान बनेको छ। जापानमा हाल दैनिक करिब १ लाख दैनिक नयाँ संक्रमण र करिब १२०–१४० दैनिक मृत्यु देखा परिरहेको छ। त्यस्तै, कोरियामा दैनिक संक्रमण हालसम्मकै उच्च छ भने दैनिक मृत्यु केही हप्ताअघि मात्रै हालसम्मकै उच्च पुगेको थियो।

त्यस्तै, युरोपमा पनि हाल दैनिक मृत्यु त्यति कम भइसकेको अवस्था छैन। यसले के देखाउँछ भने प्यान्डेमिकको असली रूप हाल र भविष्यमा कस्तो होला अझै अनिश्चित छ।

तसर्थ यसको अन्त्य कहिले र कसरी हुन्छ भन्ने अड्कलमा सीमित रहेको देखिन्छ। विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसिया प्यान्डेमिकको पछिल्लो सिकार बनिरहेको छ।

दक्षिण एसियाको पछिल्लो १५ दिन, सन् २०२२ जनवरी २६ देखि फेब्रुअरी ९, को कोरोना प्यान्डेमिकसम्बन्धी विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।

चित्र न. १ ले दक्षिण एसियाको पछिल्लो १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ।

पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमण नाटकीय रूपमा तीव्र ओरालो लागिरहेको छ जुन १००००० जति पुगेको छ। तर, दैनिक मृत्यु भने उल्टो केही बढ्दै गएको देखियो जुन १३०० जति छ।

दैनिक संक्रमण तीव्र्र घट्दै गए पनि दैनिक मृत्यु नघट्नु प्यान्डेमिक जोखिमको सूचक हुन सक्छ। चित्र न. २ ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै गत हप्ता नेपाललगायत सबै देशमा दैनिक संक्रमण दर घट्दै गएको देखिन्छ।

त्यस्तै, चित्र न. ३ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै गत साता दक्षिण एसियाका सबै देशमा दैनिक मृत्यु बढ्दै गएको देखियो।

चित्र न. ४ले दक्षिण एसियाली र अन्य केही देशको पछिल्लो १५ दिनको जोन्स होप्किन्स विश्वविद्यालय र आवर वर्ल्ड इन डाटाका अनुसार साप्ताहिक औसत संक्रमण दर (पोजिटिभिटी)को प्रवृत्ति देखाएको छ।

चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका अधिकांश देशमा दैनिक संक्रमण दर स्थिर र ओरालो लागेको प्रवृत्ति देखियो।

गत साता माल्दिभ्सको औसत दैनिक संक्रमण दर दक्षिण एसियामा सबैभन्दा उच्च देखियो भने भारतको सबैभन्दा न्यून।

अमेरिका र बेलायतमा पनि गत हप्ता दैनिक संक्रमण दर केही स्थिर देखियो भने जापानको संक्रमण दर अझै उच्च देखिएको छ।

नेपालको दैनिक नया संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ फेब्रुअरी ६ देखि १२ अर्थात् ०७८ माघ २३ देखि २९ गतेको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न. ५मा प्रस्तुत गरिएको छ।

यस लेखमा पिसिआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत साताको सात दिन, माघ २९ गते शनिबारसम्म, देशभरि जम्मा ७४१० जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ९७२६३२ पुगेको छ।

साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि १७८३० थियो। त्यस्तै, साप्ताहिक मृत्यु संख्या गत हप्ता ७९ रह्यो जुन दुई हप्ताअघि १०० थियो।

यो समेत नेपालको जम्मा कोरोना मृत्यु ११८८२ पुगेको छ। गत हप्ता जम्मा ६५०९४ पिसिआर परीक्षण गरियो जुन दुई हप्ताअघि ५९४५९ थियो।

पछिल्लो समय नेपालमा दैनिक परीक्षण संख्यामा एकरुपता देखिँदैन जसले परीक्षणको लक्षित वर्ग सही हुन नसक्ने संकेत गर्छ।

गत हप्ता काठमाडौँ उपत्यकाको साप्ताहिक संक्रमण अनुपात समग्र नेपालको तुलनामा औसतमा ४२.५८% देखिएको छ जुन दुई हप्ताअघि ५२.४३% थियो। अर्थात् गत हप्ता देशको कुल दैनिक संक्रमणमध्ये ४२.५८% काठमाडौँ उपत्यकामा भेटिएको थियो।

नेपालको दैनिक संक्रमण (पोजिटिभिटी) दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न. ६ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर, नयाँ संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम ३.८२% देखि अधिकतम १८.३६% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर १२.५५% रह्यो जुन दुई हप्ताअघि २९.२४% थियो।

नेपालमा पछिल्लो समय दैनिक संक्रमण दरमा सुधार हुने क्रम निरन्तर देखिँदै आएको छ। तर, त्यसको विपरीत दैनिक मृत्युमा भने खासै सुधार भइसकेको देखिँदैन। दुई हप्ताअघि करिब ०.५% रहेको नेपालको दैनिक मृत्यु दर गत हप्ता १% भन्दा माथि देखियो।

संक्षेपमा, विश्व र दक्षिण एसियामा नाटकीय रूपमा बढेको पछिल्लो प्यान्डेमिक लहर नाटकीय रूपमै घट्दै गएको छ। तर, दैनिक मृत्युमा भने खासै सुधार नदेखिई मृत्यु दर बढेको देखिन्छ।

गत हप्ता, ०७८ माघ २३ देखि २९ गतेसम्म, नेपालमा साप्ताहिक नयाँ कोरोना संक्रमण र संक्रमण दर निकै घटेको पाइयो।

त्यस्तै, दैनिक र साप्ताहिक मृत्यु संख्यामा केही सुधार भए पनि मृत्यु दर भने गत हप्ता विगतभन्दा बढेको पाइयो।

दैनिक मृत्यु दरमा वृद्धि हुनु दुखद मात्र नभई प्यान्डेमिकको अनिश्चित अवस्थाको सूचक हुन सक्छ। तसर्थ यसलाई अवज्ञा र बेवास्ता गर्नु मूर्खता हुन सक्छ।

त्यस्तै, सिंगो देशको तुलनामा काठमाडौँ उपत्यकाको औसत साप्ताहिक संक्रमण केही हप्तादेखि निरन्तर घट्दै आएको छ जसले पछिल्लो समय कोरोना संक्रमण काठमाडौँ उपत्यकाबाहेक अन्यत्र पनि केही बढेको संकेत गर्छ।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ–कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ति साबित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका उपाय कडाइसाथ अपनाउनुपर्ने हुन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यो लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ। यसमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ।
प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक विरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

फाल्गुन १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्