नयाँ पर्यटकीय गन्तव्यको विकास गर्न चुरेमा पदमार्ग (तस्बिरहरुसहित)

दाङ – बजार नजिक हरित पार्क छ। चुरे पहाड नजिकै छ। चुरे पहाडमा पुग्न समस्या छैन, गोरेटो बाटो छ पुरानै। यहीँ बाटो पार्कबाट चुरे पहाड पुग्ने पदमार्ग बन्दैछ। लमही नगरपालिकाले नयाँ पर्यटकीय गन्तव्य विकास गर्न पदमार्ग निर्माण थालेको हो।
अजम्बरी सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रभित्र पदमार्ग निर्माण गरिएको छ। यसले पर्यटकहरुलाई आकर्षित गर्ने वन समितिका अध्यक्ष पवन शर्मा रिजालले बताए।
‘हरित पार्क छ। जहाँ धेरैबेर अडिन पाइन्छ। त्यसमाथि चुरे पहाड जान पदमार्ग बन्दैछ’, उनले भने, ‘यो पदमार्गबाट हरियाली नियाल्न सकिन्छ। बिहानको समयमा मर्निङ्गवल्क गर्न उपयुक्त हुन्छ। स्वास्थ्य पनि राम्रो हुन्छ।’
पर्यटकलाई आकर्षण गर्न पदमार्ग निर्माण थालिएको छ। स्थानीय सरकारको लगानीमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पदमार्ग निर्माण गरेर नयाँ पर्यटकीय गन्तव्यको विकास गरिएको हो। साढे तीन किलोमिटर लामो पदमार्ग निर्माण गरिने छ। अजम्बरी जैविक विविधता पार्क हुँदै लमही नगरपालिका– १ सितलापुरसम्म पदमार्ग निर्माण हुनेछ।
एक सय दिनमा पदमार्ग निर्माण सक्ने लक्ष्यका साथ काम भैरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक शरद पुरीले जानकारी दिए। ‘रोजगार सेवा केन्द्रमा सूचीकृत हुनुभएका अति विपन्न वर्गका बेरोजगार व्यक्तिलाई रोजगारी दिने र पदमार्ग तयार पार्ने उद्देश्यअनुरुप काम भैरहेको छ’, संयोजक पुरीले भने, ‘एक सय दिनको रोजगारी हो। पदमार्ग बनेपछि पहाड नियाल्न पैदल निस्कन सकिन्छ। जसले पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास लिएका छौं।’
स्थानीय सरकारले नयाँ–नयाँ पर्यटकीय गन्तव्यको खोजीमा छ। पुराना पर्यटकीय क्षेत्रको विकाससँगै नयाँ पर्यटकीय गन्तव्यको विकास गरिएको लमही नगरपालिकाले जनाएको छ। पदमार्गले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्ने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी बताउँछन्।
‘यो पदमार्गले पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने छ। हाइकिङ्गका लागि उत्तम गन्तव्य हुनेछ’, उनले भने, ‘रोजगार सृजनासँगै पर्यटन प्रवर्द्धनमा ध्यान दिएका छौं।’
लमही नपाकी उपप्रमुख देवका बेल्वासेले पर्यटन प्रवर्द्धन गर्न पदमार्ग उपयोगी हुने बताइन्।
पर्यटकलाई मात्र नभई शारीरिक स्फुर्ती र मानसिक स्वास्थ्यको लागि पनि पदमार्ग सहयोगी बन्ने देखिन्छ।