सर्वदलीय बैठकको औचित्य छैन – एमाले

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो २ बजे बोलाएको संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा एमाले सहभागी नहुने भएको छ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने जानकारी दिए।

उनले देश सञ्चारसँग भने, ‘सभामुखले बोलाएको सर्वदलीय बैठकको औचित्य छैन, एमाले जाँदैन।’

सभामुखले आफ्नो गल्ती सच्याउन बोलाइएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने नेता रिजालको भनाइ थियो।

एमालेले सभामुख सापकोटा पदबाट हट्नुपर्ने माग गर्दै आएको छ। उसले आफूले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै संसद बैठकमा निरन्तर अवरोधसमेत गर्दै आएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एमाले र सभामुखबीच राम्रो सम्बन्ध थिएन। ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गर्न पटकपटक आग्रह गर्दा पनि तत्कालीन सभामुख कृष्णबहादुर महराले मानेनन्।

महरा पदमुक्त भई सापकोटा सभामुख भए पनि एमसीसी अघि बढ्न सकेन। यसबीच सर्वोच्चले एमाले र माओवादी केन्द्र एकता भई बनेको नेकपा (नेकपा) लाई वैधानिकता नदिएपछि फेरि दुई पार्टी छुट्टिए। यसबीच एमाले टुक्रिएर एकीकृत समाजवादी बन्यो। ओली सत्ताबाट च्युत भए।

एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत १४ सांसदलाई कारबाही गरेको पत्र संसदमा दर्ता गरे पनि सभामुखले कारबाही नगरेको भन्दै सुरु भएको एमाले–सभामुखको दुश्मनी अहिलेसम्म मत्थर भएको छैन। यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

सभामुख सापकोटाको निजी सचिवालयका अनुसार सर्वदलीय बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेमकिपा सांसद प्रेम सुवाल, जनमोर्चा सांसद दुर्गा पौडेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतलाई बोलाइएको छ।

सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्याधीश चोलेन्द्र शमशेर राणविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि मुलुकको राजनीति तरंगित भएको छ। प्रमुख प्रतिपक्षी एमालेले महाभियोग प्रस्तावलाई षड्यन्त्रको संज्ञा दिँदै यसको प्रतिवाद गर्ने भनेको छ।

सर्वदलीय बैठकअघि एमाले संसदीय दलको बैठक पनि आजै बस्दैछ।

फाल्गुन २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्