बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सांकेतिक तस्बिर

काठमाडौँ – बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँ ब्यास नगरपालिका घर भई हाल काठमाडौं–२६ सोह्रखुट्टे बस्दै आएका ३२ वर्षीय सुरज गुरुङ छन्।

उनी एमएम कन्स्ट्रक्सन प्रालिका सञ्चालकसमेत रहेको प्रहरीले जनाएको छ। त्यस्तै, सिन्धुपाल्चोक साविक बाह्रबिसे गाविस–४ घर भई हाल काठमाडौं–३१ तीनकुने बस्दै आएका ३६ वर्षीय सुमित भण्डारी छन्।

उनीहरूको नामको बैंक खाताबाट रकम भुक्तान हुने भनी खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरूलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उच्च अदालत पाटनले प्रतिवादीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा सजाय हुने ठहर गरेको थियो। सोहीअनुसार केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो।

प्रतिवादी गुरुङलाई २४ दिन कैद र ७२ लाख रुपैयाँ जरिवाना तथा भण्डारीलाई ५ दिन कैद र ९ लाख ७३ हजार रुपैयाँ जरिवाना तोकिएको छ।

 

फाल्गुन २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्