प्रधानमन्त्री देउवा र प्रचण्डको भेटवार्ता सकियो, एमसीसी आजै संसदमा टेबुल हुने सम्भावना क्षीण

काठमाडौँ – अमेरिकी सहयोग परियोजना एमसीसी आज बस्ने प्रतिनिधिसभाको बैठकमा टेबल नहुने सम्भावनाा बढेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको भेटवार्ताले त्यसको संकेत दिएको हो।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले समेत आजको बैठकमा एमसीसी टेबल नहुने सम्भावना रहेको बताइन्।

उनले प्रधानमन्त्री देउवा र प्रचण्डबीचको भेट सकिएको जानकारी दिँदै गठबन्धनका शीर्ष नेताहरुको बैठक बिहीबार दिउँसो ३ बजे बस्ने बताइन्।

‘प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीचको छलफल सकिएको छ’, स्वकीय सचिव दाहालले भनिन्, ‘भोलि ३ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने तय भएको छ।’

प्रधानमन्त्री देउवाले संसदको आजको बैठकमै एमसीसी टेबल गर्न खोजेपछि सत्ता साझेदार दल माओवादी केन्द्रले त्यसको विपक्षमा उभिने निर्णय गरेको छ। त्यस्तै जबरजस्ती एमसीसी पारित गरिए माओवादी केन्द्रले सरकारसम्म छाड्ने निर्णय गरेको छ।

माओवादी केन्द्रको सोही निर्णयबारे जानकारी दिन अध्यक्ष प्रचण्ड बुधबार बालुवाटार पुगेका थिए। प्रचण्डले सदन सुचारु हुनुपर्ने र त्यसको लागि एमालेले संसदमा अवरोध पुर्‍याउन बन्द गर्नुपर्ने, गठबन्धनमा सहमतिपछि मात्रै एमसीसी अघि बढाउनुपर्ने र एमसीसीका राष्ट्र हित विपरीतका प्रावधान संसोधन भएपछि मात्रै संसदमा टेबुल गर्नुपर्नेबारे प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गरेका थिए।

फाल्गुन ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्