कार्यव्यवस्था परामर्श समितिको बैठक

अन्ततः संसदमा टेबुल नहुने भो एमसीसी, कांग्रेसको जोडविरुद्ध उभिए माओवादी केन्द्र र एकीकृत समाजवादी

फाइल तस्बिर

काठमाडौँ – प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसिसी पेश नहुने भएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारका लागि तीन शोक प्रस्ताव र थारु आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची तय गरेको हो।

समितिको बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले धेरै ढिला भएको भन्दै एमसिसी संसदमा पेश गर्नुपर्ने बताए। त्यसमा गृहमन्त्री बालकृष्ण खाँणले पनि समर्थन गरेका थिए।

तर नेकपा माओवादी र नेकपा (एकीकृत समाजवादी) ले अहिले संसदमा प्रतिपक्षले अवरोध गरिरहेकाले छलफलको वातावरण नरहेको भन्दै पहिले छलफलको वातावरण बनाउनु पर्ने बताए। उनीहरुले एमसिसी जस्तो राष्ट्रिय महत्वको विषयमा छलफलको वातावरण बनाउनु पर्ने भन्दै तत्काल पेश नगर्न आग्रह गरे।

नेपाली कांग्रेस आजै संसदामा एमसिसी पेश गर्ने पक्षमा रहे पनि माओवादीले त्यसको विपक्षमा उभियो। दलको बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए। सो भेटले बिहीबार दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाउने निर्णय गरेको छ। उक्त बैठकले एमसिसीबारे निर्णय गर्ने बुझिएको छ।

संसदभित्र कार्य व्यवस्था समितिकाे बैठक भइरहँदा बाहिर सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी समर्थित युवा-विद्यार्थीहरुसँगै ६ दल तथा माेर्चालगायतले एमसीसीविरुद्ध प्रदर्शन गरिरहेका छन्।

फाल्गुन ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्