संसद बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने

फाइल तस्बिर

काठमाडौँ – प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि एमसिसी टेबुल हुने सम्भावना क्षीण छ।

बुधबारको संसद बैठकमै सरकारले एमसीसी संसदमा टेबुल गर्न जोड गरेको थियो। तर एमालेको अवरोधबीच केही समय चलेको संसद बैठक आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो।

दलहरुबीच सहमति नहुँदा आजको बैठकमा पनि एमसीसी टेबुल हुने सम्भावना क्षीण रहेको हो। संसद सचिवालयले जारी गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा समेत एमसीसी छैन।

सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गर्नेछन्।

संसद बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले आज पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। शुक्रबार बिहान ११ बजे समितिको बैठक बोलाइएको हो।

बैठकमा संसदको अवरोध हटाउनेलगायतका विषयमा छलफल हुने बुझिएको छ। त्यस्तै सरकारले संसद बैठकमा एमसीसी टेबुल गर्न सभामुख सापकोटालाई दिँदै आएको विषयमा पनि दलहरुको राष्ट्रिय सहमति खोजिने बुझिएको छ। कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आजको बैठकमा एमसीसी टेबुल हुने बुधबार नै बताएका थिए।

त्यसैले कार्यव्यवस्था समितिको बैठकको सहमतिको आधारमा चल्न सभामुख सापकोटाले आज पनि समितिको बैठक आह्वान गरेका हुन्। तर आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल एमालेले सहभागी नहुने बताइएको छ। उसले आफ्नो मागको सुनुवाइ नभइकन सभामुखले बोलाएको कुनै पनि बैठकमा सहभागी नहुने र संसद बैठक पनि चल्न नदिने बताउँदै आएको छ।

यसअघि बुधबार बसेको कार्यव्यवस्था समितिको बैठकले संसद बैठकमा टेबुल गर्ने सहमति दिएन। कार्यव्यवस्था परामर्श समितिको बैठकअघि सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठकसमेत बस्दैछ।

फाल्गुन ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्