हुम्लामा समिट एयरले पनि थाल्यो खाद्यान्न ढुवानी

सिमकोट – हुम्लामा समिट एयरको जहाजले पनि खाद्यान्न ढुवानी थालेको छ। यसअघि सीता एयरले मात्रै हुम्ला खाद्यान्न ढुवानी गर्दै आएको थियो।

समिट एयर थपिएपछि नेपालगञ्ज र सुर्खेतबाट खाद्यान्न ढुवानी सहज भएको खाद्यान्न व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीले जनाएको छ। कम्पनीले खाद्यान्न ढुवानीमा अनुदान दिँदै आएको छ।

कम्पनीको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले केही दिनदेखि दुई वटा एयरलाइन्सका जहाजले खाद्यान्न ढुवानी भइरहेको जानकारी दिए। यसअघि करिब दुई महिनासम्म सीता एयरले मात्र खाद्यान्न ढुवानी गरेको थियो। जसले खाद्यान्न मौज्दात कम हुन गई हुम्लामा खाद्यान्न संकट हुनसक्ने सम्भावना बढेको थियो।

अहिले दुई विमान कम्पनीका जहाजले दैनिक १२ देखि १५ उडानबाट खाद्यान्न ढुवानी भइरहेको प्रमुख अधिकारीले बताए। खाद्यान्न ढुवानी बढेसँगै मौज्दात पनि बढेको उनको भनाइ छ। उनका अनुसार केही दिनपछि तारा एयरले पनि खाद्यान्न ढुवानी गर्ने भएको छ।

हालसम्म नेपालगञ्जबाट एक हजार २५० क्विन्टल र सुर्खेतबाट एक हजार १५० क्विन्टल गरी दुई हजार ४०० क्विन्टल खाद्यान्न हुम्ला ढुवानी भइसकेको छ। शाखाले सर्वसाधारणलाई खाद्यान्न बिक्री गर्नसमेत सुरु गरेको छ।

चालु आर्थिक वर्षका लागि नेपालगञ्जबाट चार हजार र सुर्खेतबाट ६ हजार क्विन्टल खाद्यान्न हुम्ला ढुवानी गरिनेछ। हवाई मार्ग भई हुम्ला पुग्ने खाद्यान्नतर्फ ढुवानीका लागि नेपालगञ्जबा प्रतिकेजी १०८ र सुर्खेतबाट प्रतिकेजी १०५ रुपैयाँ तोकिएको छ।

पैदल मार्गबाट पनि हुम्लामा खाद्यान्न ढुवानी सुरु भइरहेको शाखाले जनाएको छ। यसअघि नियमित ढुवानी नहुँदा गत वर्ष असोजपछि माघमा मात्रै सर्वसाधारणलाई खाद्यान्न बिक्री गरिएको थियो।

फाल्गुन ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्