संसदअघि कार्यव्यवस्था परामर्श समितिको बैठक, सम्भावित कार्यसूचीमा छैन एमसिसी

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ। बैठकमा एमसिसी टेबुल हुने सम्भावना बढेको छ। तर कार्यसूची भने तय भइसकेको छैन। बैठकको कार्यसूची तय गर्न सभामुख अग्निप्रसाद सापाकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

त्यसअघि सत्ता गठबन्धनको बैठक बस्दैछ। बालुवाटारमा बिहान १० बजे बस्ने गठबन्धन बैठकको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिले कार्यसूची तय गर्ने सम्भावना छ। गठबन्धन बैठकमा एमसिसीलाई लिएर समान धारणा बनाउनेबारे छलफल हुने बताइएको छ। सरकारले गएको बुधबार र शुक्रबारका संसद बैठकमा एमसिसी पेश गर्ने तयारी गरे पनि गठबन्धनमा कुरा नमिल्दा हुन सकेन।

सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसिसी संसदमा पेश गराउनुपर्ने पक्षमा स्पष्ट रुपमा उभिँदा नेकपा (एकीकृत समाजवादी) ले पेशसम्म गर्न दिने पक्षमा छ। नेकपा माओवादी केन्द्रले भने संसदीय दलमार्फत एमसिसीको विपक्षमा उभिने र जबरजस्ती पारित गराउन खोजिए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ। तर उसको धारणा अहिले केही परिवर्तन भएको आँकलन छ।

लगातार संसदमा अवरोध गर्दै आएको एमालेले पहिले सत्ता गठबन्धनको स्पष्ट धारणा आउनुपर्ने र त्यसपछि मात्रै आफूहरुको कित्ता स्पष्ट पार्ने बताउँदै आएको छ।

एमसिसी सदनमा पेश गर्ने तयारी भइरहँदा पछिल्ला दिनमा विरोध प्रदर्शन सघन बनेका छन्। एकीकृत समाजवादीकै युवा–विद्यार्थीहरु एमसिसीविरुद्ध सडक आन्दोलनमा छन्। केही स्थानमा एमसिसी विरोधी प्रदर्शनले हिंसात्मक रुप लिएको छ। आज संसद बैठक हुने दिन एमसिसीको विपक्षमा रहेका दल तथा मोर्चाहरुले विरोध प्रदर्शनलाई निरन्तरता दिने तयारी गर्दै आएका छन्।

अमेरिकी सरकारको सहयोग परियोजना एमसिसी सदनबाट पारित गराउनका लागि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले पत्र लेखेर माग गरेको समय सीमा फागुन १६ मा सकिँदै छ।

फाल्गुन ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्