नेपालमा ‘फिल्म टुरिजम’ को सम्भावना प्रचुर छ, तर सरकारको ध्यान गएको छैन – दीपक रौनियार

काठमाडौँ – चलचित्रकर्मीको पेशमा आफूलाई उभ्याउने प्रक्रियामा दीपक रौनियारले अनुभवका थुप्रै भारी काँधमा राखे। सधैँ अरुको कथा बनाउने उनलाई बेलाबखतमा आफ्नो कथा पनि क्यामरामा कैद गरेर प्रस्तुत गर्ने ‘आइडिया’ आउँथ्यो। ‘आखिर चलचित्रकर्मीको जीवन आम मानिसले रंगीचङ्गी, चमकधमक, रेड कार्पेटमा हिँड्ने नै त सोचेका हुन्छन्,’ उनले भने, ‘एउटा चलचित्र बनाउन कति मेहनत पर्छ, चलचित्र बनाउँदा निर्देशक, निर्माताले आफ्नो जीवनको समय कसरी खर्चन्छ र उसको जीवनमा कस्ता कस्ता उतारचढाव आउँछ त्यो पर्दा पछाडिको कुरा हो नि!’

चलचित्रको समीक्षक हुँदै चलचित्र निर्देशक, निर्माता बनेका हुन् दीपक रौनियार। पहिलो चलचित्र ‘हाइवे’ बनाएका उनको परिचय ‘सेतो सूर्य’ चलचित्रले फराकिलो बनाइदियो। सेतो सूर्यले नेपाली चलचित्रलाई विश्वमा परिचित गराउन ठूलो भूमिका खेलेको छ।

‘सेतो सूर्य हामीले भेनिस चलचित्र महोत्सव र टोरोन्टो चलचित्र महोत्सव गरी लगभग १०० वटा चलचित्र महोत्सवमा देखाइसकेका छौँ। यो चलचित्र १५ भन्दा धेरै देशमा पनि प्रदर्शन गरियो’, दीपकले भने। यो चलचित्रलाई ओस्कारको लागि नेपालले छनोट गरेर पठाएको थियो। सेतो सूर्यको अन्तर्राष्ट्रिय दौडको प्रक्रिया सुनाएपछि रौनियारले भने, ‘हाइवेबाट सुरु भएर, कालो पोथीले गरेको काम सेतो सूर्यले विस्तार गर्‍यो।’
नेपाली चलचित्रलाई विश्व बजारमा प्रस्तुत गर्न लागिपरेका रौनियार निर्देशित ‘फोर नाइट्स’ अहिले ७२औँ बर्लिन चलचित्र महोत्सवमा प्रतिस्पर्धामा छ।

‘फोर नाइट्स’ उनको पाँचौं चलचित्र हो। नेपालबाट संयुक्त राज्य अमेरिकामा स्थापित हुने प्रक्रियामा उनले जे जे भोगेका छन्, त्यसैलाई छोएर चलचित्र बनाएको उनले सुनाए। ‘फोर नाइट्स’ उनीजस्तै संघर्षरत निर्देशक र उनकी श्रीमतीको कथा हो। मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र आशा मग्राती रहेका छन्।

‘यो चलचित्र न्यूयोर्कमा खिचिएको हो। ११ वर्ष भयो न्यूयोर्कमा आएर बसेको। धेरै ठाउँको सहरमा बस्दाको संघर्षलाई यहाँ जोडेर प्रस्तुत गर्न खोजिएको छ’, दीपकले भने, ‘प्रायः चलचित्रकर्मीहरु अरुको कथा भन्छन्, आफ्नो भन्दैनन्। भनिहाले पनि कथा बनाउने प्रक्रियाको कुरा गर्दैनन्। यसमा ‘चलचित्र बनाउने प्रक्रिया’ लाई डकुमेन्ट गरिएको छ।’

उनले थपे, ‘ग्लामरको बीचमा स्याडो, सरो हुन्छ, त्योबारेमा देखाउनुपर्छ भन्ने लागेर हो। किनभने एउटा चलचित्र बनाउन निर्माता निर्देशकले धेरै दुःख गरेका हुन्छन्।’

उनले यो चलचित्र आफूले भने जसरी बनाउन पाएनन्। हुन त प्रोजेक्टमा आफूले भनेजस्तो गर्न नपाएको उनको पहिलो अनुभव होइन। उनले आफ्नो नियतिलाई यसरी सुनाए, ‘यो प्रोजेक्ट ४ दिनसम्म छायाँकन गर्ने योजना थियो तर सिनेम्याटोग्राफरको समय बेमेलले १२ घण्टामा छायाँकन गर्नुपर्‍यो। मैले सोचेको सबै कुरा खिच्न त पाइनँ। चित्त दुखाउनु पर्ने अवस्था पनि भएन। यही कथालाई उनले अहिले बर्लिनमा भइरहेको ७२ औँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रतिस्पर्धामा राखेका छन्।

देश सञ्चारसँगको कुराकानीमा उनी हौसिएका सुनिन्थे। ‘कुनै पनि चलचित्र निर्माता, निर्देशकको लागि चलचित्र ए लेभलको चलचित्र महोत्सवमा प्रतिस्पर्धाको लागि जानु सपना हुन्छ। हाम्रो पहिलो चलचित्र होइन तर हामीलाई धेरै खुसी लागेको छ’, उनले अगाडि भने, ‘चलचित्र यहाँ देखाउनु भनेको यसले व्यापारको लागि धेरै वटा आयामहरु खोल्नु र बोटो देखाउनु हो। छोटो चलचित्रको बजार ठूलो छैन। तर, राम्रो आशा भने जगाएको छ।’ प्रतिस्पर्धामा भिडेको चलचित्र जम्मा १६ मिनेटको छ।

महोत्सवमा भिड्दाको खुसीका साथ साथ उनमा आफ्नो देशले चलचित्र क्षेत्रलाई साथ नदिएकोमा मन चिसो भएको अनुभूति पनि छ। तैपनि उनी भन्छन्, ‘अरुको आश गर्ने हैन। आफ्नो तर्फबाट जे गर्न सकिन्छ गर्दै जाने हो।’ तर कहीँ न कही राज्यको सहयोगले यो क्षेत्रको उत्थान होस् र उनीजस्ता चलचित्रकर्मीलाई निराश नबनाओस् भन्ने ठान्छन् उनी।

‘फिल्म मेकर भएरमात्रै बाँच्न नेपालमा गार्‍हो छ। हामीलाई सरकारको सहयोग छैन। नेपालीले चलचित्र बनाउने भनेको अन्तर्राष्ट्रिय सहयोगबाट हो। धेरै निराश हुन पनि भएन। सफलताको पछाडिको यात्रा के हो भन्ने पनि हुन्छ’, उनले आफ्नो जीविकोपार्जनको आयामलाई कोट्याए, ‘म विश्वविद्यालयमा चलचित्र पढाउँछु। त्यो नै बाँच्ने आधार हो। यो चलचित्र बनाउनको लागि केही फण्ड विश्वविद्यालयको तर्फबाट पनि आएको छ। बाँकी आफैले लगानी गरेको हो।’

उनको सबै समय अनि लगानी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली चलचित्रलाई पुर्‍याउने कसरतसँग जोडिएको छ। उनले चलचित्रले दिने रिटर्न बजारमा निर्भर हुने र बजार भनेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव रहेको बताए। ‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जानु भनेको इज्जत, नामको लागि मात्रै हैन। महोत्सव भनेको चलचित्रको बजार हो। उदाहरणको लागि हामी गोलभेडा उत्पादन गर्छौं। हामीले गोडभेडालाई व्यापार गर्दा देशभरि पुर्‍याउने हो भने देशको केन्द्रीय बजारमा लैजान पर्छ। नत्र स्थानीय बजारमा मात्रै बिक्री गर्न सकिन्छ’, उनले भने, ‘फेस्टिभल भनेको फुटबलको वर्ल्ड कप जस्तै हो किनकि फेस्टिभलमा जसले पनि चलचित्र देखाउन पाउँदैन। त्यहाँ देखाउनको लागि छनोट प्रक्रिया हुने गर्छ। फेस्टिभलमा चलचित्र प्रदर्शन भएपछि त्यसले विश्व बजार पाउन सक्छ।’

‘नेपाली चलचित्रको स्थानीय बजार नै पछिल्लो समय कोरोना भाइरस महामारीले धराशायी बनाइदिएको छ’, दीपक थप्छन्, ‘चलचित्र क्षेत्रलाई बलियो बनाउन व्यक्तिभन्दा संस्था र सरकारको पहल आवश्यक छ। चलचित्रले अन्तर्राष्ट्रिय बजार पाउन पनि यही कुरा लागू हुन्छ।’

अहिले जति पनि अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली चलचित्र पुगेका छन्, ती सबै व्यक्तिगत पहलमा पुगेको दीपक बताउँछन। ‘सूर्य शाहीजीको चलचित्र पनि यही महोत्सवमा छ। दर्जनौं चलचित्र निर्देशक, निर्माता आइराखेका छन्’, उनले भने, ‘अहिले विश्वका जुनसुकै चलचित्र महोत्सवमा कुनै न कुनै नेपाली चलचित्र निर्माता निर्देशकको उपस्थिति छ। जति भएको छ, व्यक्तिगत पहलमा भएको छ। राज्यले पहल नगरेसम्म उन्नति दिगो हुँदैन।’

उनले यही महोत्सवमा पोर्चुगलबाट आएका प्रतिस्पर्धीलाई कार्यक्रममा सहभागी हुनमात्रै ९ हजार युरो दिइएको थाहा पाए। तर नेपाल सरकारले प्रचुर सम्भावना भएको ‘फिल्म टुरिजम’लाई वास्ता गरेको छैन। उनी गर्न सकिने धेरै ठाउँ देख्छन्। तर, सरकारको ध्यान त्यहाँ पुगेको छैन।
‘राज्यले नगरे गार्‍हो हुन्छ। तर, दुखी हुने अवस्था भने छैन।

सन् २०१२ मा आएको हाइवेको समय र अहिलेको समयमा आकाश–जमिनको अन्तर छ। हामी अहिले एक्लो छैनौँ’, कुराकानी टुंग्याउँदै उनले भने, ‘सरकारसँग आशा पनि छैन, निराशा पनि छैन।’

फाल्गुन ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्