कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (फेब्रुअरी १३ देखि १९ सम्म)

प्यान्डेमिकको बेवास्ता मुर्खता मात्रै

कोरोना प्यान्डेमिकको पछिल्लो लहर, ओमिक्रोन लहर, हाल नेपालमा क्रमशः ओरालो लाग्ने क्रममा देखिएको छ र प्यान्डेमिक अवस्था सामान्यझैँ हुन लागिसकेको छ। तर, विश्वको अवस्था हेर्दा ठाउँ हेरी यसको रूप फरक–फरक देखिएको हुनाले यो अझै अनिश्चितझैँ लाग्छ।

उदाहरणका लागि हाल जापानमा दैनिक कोरोना संक्रमण र दैनिक मृत्यु दुवै अति उच्च भई हालसम्मकै सबैभन्दा उच्च देखिएको छ। त्यस्तै, प्यान्डेमिक नियन्त्रणमा अब्बल देखिएको दक्षिण कोरियामा दैनिक संक्रमण हालसम्मकै सबैभन्दा उच्च देखिएको छ भने दैनिक मृत्यु पनि बढिरहेको छ।

स्मरण रहोस्, दक्षिण कोरियामा दैनिक मृत्यु गत महिना मात्रै हालसम्मकै सबैभन्दा उच्च पुगेको थियो। त्यस्तै, भुटानमा पनि पछिल्ला दिनमा हालसम्मकै ठूलो प्यान्डेमिक लहर चलिरहेको छ र कोरोना मृत्यु पनि अघिल्लो लहर, जुन हालसम्मकै सबैभन्दा घातक थियो, त्यसबेलाभन्दा हाल फाटफुट देखिन थालेको छ। भियतनाम, हङकङलगायत पूर्वी युरोपमा पनि त्यस्तै अवस्था देखिन्छ।

अन्यत्र जेसुकै भए पनि नेपालमा स्थिति शान्त छ। नेपालमा आएका प्यान्डेमिक लहरमध्ये वैशाख–जेठमा आएको लहर सबैभन्दा ठूलो थियो।

उक्त लहर अवधि, जम्मा संक्रमण, मृत्यु आदिको हिसाबले वर्तमान लहरभन्दा निकै ठूलो रह्यो।

नेपालमा प्यान्डेमिकको इतिहासमा गएका ठूला दुई लहर जुन दोस्रो (अघिल्लो ) र तेस्रो (वर्तमान, पछिल्लो) लहर थिए यी दुई लहरको तुलनात्मक विश्लेषण तल गरिएको छ।

यदि, नेपालको सुरुको सानो प्यान्डेमिक लहरलाई नबिर्सने हो भने उल्लिखित लहर क्रमशः तेस्रो र चौथो हुनेछन्। नेपालका पछिल्ला दुई ठूला प्यान्डेमिक लहरबीचको भिन्नता टेबुलमा देखाइएको छ। दोस्रो लहर सन् २०२१ को अप्रिल दोस्रो सातादेखि सुस्त वृद्धि हुन सुरु गरी तेस्रो सातादेखि तीव्र बढ्न थालेको थियो। त्यतिबेला नयाँ संक्रमणसँगै नयाँ कोरोना मृत्यु पनि तीव्र बढेको थियो। दैनिक संक्रमण सयभन्दा कम र दैनिक मृत्यु शून्यसमान भइसकेको अवस्थाबाट अचानक संक्रमण र मृत्यु दुवै अकासिएको थियो।

त्यति बेला विश्वमा पनि नयाँ प्यान्डेमिक लहर २०२१ को मार्चदेखि नै सुरु भइसकेको थियो। नेपालको तेस्रो लहर भने २०२२ को सुरुदेखि प्रारम्भ भई निकै तीव्र देखिएको थियो। मृत्युचाहिँ सामान्य मात्र बढेको थियो। त्यतिबेला विश्वमा नयाँ लहर २०२१ डिसेम्बरको उत्तरार्धदेखि नै सुरु भइसकेको थियो।

नेपालको दोस्रो लहर उच्च बिन्दुमा पुग्न एक महिनाजति लागेको थियो भने तेस्रो लहर करिब दुई हप्तामै उच्च बिन्दुमा पुगेको थियो।

दोस्रो लहर तीन हप्ता उच्च अवस्थामै कायम रही त्यसपछि सुस्त गतिमा झर्न थाली करिब साढे दुई महिनापछि बल्ल केही नियन्त्रित भई दैनिक संक्रमण १०००–१५०० जति पुगेको थियो।

तर, फेरि संक्रमणमा वृद्धि भई दैनिक ३००० नाघी बल्ल सेप्टेम्बर अन्त्यतिर ६०० हाराहारीमा झरेको थियो। यसरी दोस्रो लहर करिब ६ महिना लम्बियो भने तेस्रो लहर त्यति लम्बिन पाएन।

पछिल्लो अर्थात् तेस्रो लहर करिब एक हप्ता मात्रै उच्च बिन्दुमा कायम रही तीव्र ओरालो लाग्यो र करिब ५ हप्ता जतिमै दैनिक संक्रमण ५०० भन्दा तल झर्‍यो।

त्यस्तै, दोस्रो लहरको बेला, करिब ६ महिनाको दौरान, जम्मा करिब ५२०००० भन्दा धेरै जना संक्रमित भई ८००० जनाभन्दा धेरैको मृत्यु भएको थियो भने तेस्रो लहरको बेला करिब ५ हप्ताको अवधिमा करिब १४०००० संक्रमित भई करिब ३०० जनाको मात्रै मृत्यु भएको थियो।

दोस्रो लहरको बेला दैनिक अधिकतम ९४३८ जनासम्म नयाँ कोरोना संक्रमण र २४६ जना नयाँ मृत्यु भेटिएको थियो भने तेस्रो लहरको बेला दैनिक १२३३८ जना नयाँ संक्रमण र ३२ मात्र नयाँ मृत्यु भेटिएको थियो।

दोस्रो लहरको बेला दैनिक मृत्युदर १.५%–३% सम्म रह्यो भने तेस्रो लहरका बेला औसतमा १% भन्दा कम रह्यो। त्यस्तै दोस्रो लहरको बेला दैनिक अधिकतम संक्रमण दर ५०.३६% सम्म पुगेको थियो भने तेस्रोको बेला ५२.१% सम्म पुगेको थियो।

यसरी दोस्रो र तेस्रो लहरबीचको प्रमुख भिन्नता भनेको दोस्रो लहर आक्रामक तरिकाले समाजमा फैलिई धेरै घातक सिद्ध भयो भने तेस्रो लहर अझै तीव्र फैलिए पनि त्यति धेरै घातक हुन पाएन।

विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसिया पछिल्लो अवस्थामा शान्त देखिन्छ। दक्षिण एसियाको पछिल्लो १५ दिन, सन् २०२२ फेब्रुअरी २ देखि १६, को कोरोना प्यान्डेमिकसम्बन्धी विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।

चित्र न. १ ले दक्षिण एसियाको पछिल्लो १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमण तीव्र ओरालो लागिरहेको छ जुन करिब ५०००० –६०००० जति पुगेको छ।

त्यस्तै, दैनिक मृत्यु पनि पछिल्लो समय केही घट्दै गई औसतमा ७००–८०० जति भएको छ। चित्र न. २ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै गत हप्ता नेपाललगायत सबै देशमा दैनिक संक्रमण घट्दै गएको देखिन्छ।

त्यस्तै, चित्र न. ३ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै गत हप्ता दक्षिण एसियाका सबै देशमा दैनिक मृत्यु पनि घट्ने क्रममा देखिन्छ।

 

चित्र न. ४ले दक्षिण एसियाली र अन्य केही देशको पछिल्लो १५ दिनको जोन्स होप्किन्स विश्वविद्यालय र आवर वल्र्ड इन डाटाका अनुसार साप्ताहिक औसत संक्रमण दरको प्रवृत्ति देखाएको छ।

चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका अधिकांश देशमा दैनिक संक्रमण दर स्थिर र ओरालो लागेको देखियो। गतहप्ता माल्दिभ्सको औसत दैनिक संक्रमण दर दक्षिण एसियामा सबैभन्दा उच्च देखियो भने भारतको सबैभन्दा न्यून। अमेरिकामा र बेलायतमा पनि गत हप्ता दैनिक संक्रमण दर केही स्थिर देखियो भने जापानको संक्रमण दर हाल पनि अझै निकै उच्च देखिएको छ।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ फेब्रुअरी १३ देखि १९ अर्थात् ०७८ फागुन १ देखि ७ गतेको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न. ५ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, फागुन ७ गते शनिबारसम्म, देशभरि जम्मा २६९८ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ९७५३३० पुगेको छ।

साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि ७४१० थियो। त्यस्तै, साप्ताहिक मृत्यु संख्या गत हप्ता ३५ रह्यो जुन दुई हप्ताअघि ७९ थियो। यो समेत नेपालको जम्मा कोरोना मृत्यु ११९१७ पुगेको छ। गत हप्ता जम्मा ३९०५३ पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि ६५०९४ थियो।

गत हप्ता काठमाडौँ उपत्यकाको साप्ताहिक संक्रमण अनुपात समग्र नेपालको तुलनामा औसतमा ३७.३४% देखिएको छ जुन दुई हप्ताअघि ४२.५८% थियो। अर्थात् गत हप्ता देशको कुल दैनिक संक्रमणमध्ये ३७.३४% काठमाडौँ उपत्यकामा भेटिएको थियो।

नेपालको दैनिक संक्रमण दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न. ६ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर, नयाँ संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम ५.१८% देखि अधिकतम ११.७% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ७.०४% रह्यो जुन दुई हप्ताअघि १२.५५% थियो।

नेपालमा पछिल्लो समय दैनिक संक्रमण दरमा सुधार हुने क्रम निरन्तर देखिँदै आएको छ। दैनिक मृत्युमा सुधार देखिए पनि मृत्यु दर अझै उच्च देखिन्छ, औसतमा १.३५%। तीन हप्ताअघि करिब ०.५% रहेको नेपालको दैनिक मृत्यु दर दुई हप्ताअघि १% भन्दा माथि थियो।

विश्व र दक्षिण एसियामा नाटकीय रूपमा बढेको पछिल्लो प्यान्डेमिक लहर घट्दै गएको छ। दैनिक मृत्युमा सुधार देखिए पनि मृत्यु दर अझै उच्च छ।

गत हप्ता, ०७८ साल फागुन १ देखि ७ गतेसम्म नेपालमा साप्ताहिक नयाँ कोरोना संक्रमण दर निकै घटेको पाइयो। त्यस्तै, दैनिक र साप्ताहिक मृत्यु संख्यामा केही सुधार भए पनि मृत्यु दर गत हप्ता पनि उच्च रह्यो। दैनिक मृत्यु दरमा वृद्धि हुनु दुःखद मात्र नभई प्यान्डेमिकको अनिश्चित अवस्थाको सूचक हुन सक्छ। तसर्थ यसलाई अवज्ञा र बेवास्ता गर्नु मूर्खता हुन सक्छ।

त्यस्तै, सिंगो देशको तुलनामा काठमाडौँ उपत्यकाको औसत साप्ताहिक संक्रमण केही सातादेखि निरन्तर घट्दै आएको छ जसले पछिल्लो समय कोरोना संक्रमण काठमाडौँ उपत्यकाबाहेक अन्यत्र पनि केही बढेको संकेत गर्छ।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती सावित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात साबुनपानीले राम्ररी धुने, अनावश्यक भीड नगर्ने आदि सावधानीका उपाय कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ। यसमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ।

यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु बुद्धिमानी हुनेछ।

फाल्गुन ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्