युक्रेन संकट

बेलारुसमा सेना बढाउनु युक्रेनमाथि आक्रमण गर्ने रुसको पूर्वतयारी – अमेरिका

रुसले आक्रमणको तयारी स्वरुप सीमा क्षेत्रमा सैन्य उपकरण तैनाथ गरेको स्याटेलाइट तस्बिरमा देखिने पश्चिमा राष्ट्रले बताएका छन् ।

रुसले बेलारुसमा आफ्ना सैनिकको तैनाथी बढाउनु थप चिन्ताजनक रहेको अमेरिकी विदेशमन्त्रीले बताएका छन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले रुसले बेलारुसमा सैनिकको तैनाथी बढाउनुले उ युक्रेनमाथि आक्रमणको तयारीमा रहेको थप स्पष्ट हुने बताएका हुन्।

रुसले आफ्ना करिब ३० हजार सैनिक बेलारुसमा कायम राख्ने निर्णय गरेको छ। युक्रेनसँग सीमा जोडिएको बेलारुस रुसका लागि रणनीतिक साबित हुनेछ ।

रुसी सैनिकका कमाण्डरहरुलाई युक्रेनमाथि आक्रमण गर्न आदेश प्राप्त भइसकेको अमेरिकी विदेशमन्त्री ब्लिंकनले गुप्तचर निकायको सूचना उद्धृत गर्दै भनेका छन्।

तर युक्रेनले भने रुसी आक्रमणका सम्बन्धमा भइरहेको चर्चा ‘अनुपयुक्त’ रहेको बताएको छ।

सीमा नजिक अहिलेसम्म रुसले ‘स्ट्राइक ग्रुप’ नबनाएका कारण आजभोलि नै आक्रमणको सम्भावना नदेखिने युक्रेनका रक्षामन्त्री एलेक्सी रिज्निकोभले बताएका छन्। तर अमेरिकी अधिकारीहरुले भने रुसले कुनै पनि बेला आक्रमण गर्न सक्ने बताउँदै आएका छन्।

रुसले युक्रेनमाथि आक्रमणको योजना नरहेका दाबी गर्दै आएको छ। यस्तै बेलारुसले आफ्नो देशमा रुसी सैनिकको उपस्थिति युक्रेनको पूर्वी क्षेत्रमा हाल कमजोर हुँदै गएको अवस्थालाई मध्यनजर गरेर रहेको बताएको छ। बेलारुसमा रहेका रुसी सैनिकले युद्धाभ्याससमेत गर्दै आएको दावी गरिएको छ।

पूर्वी युक्रेनमा रुसको साथ पाएका विद्रोहीले विगत ८ वर्षदेखि हिंसात्मक गतिविधि गर्दै आएका छन्। पछिल्लो केही दिनमा सो क्षेत्रमा विद्रोही र युक्रेनी सैनिकबीच भिडन्त हुँदा कम्तीमा दुई सैनिकको मृत्यु भएको छ। यस्तै सो क्षेत्रमा विस्फोटका घटना जारी छ।

रुसको अस्वीकार तथा युक्रेनका मन्त्रीले पनि तत्काल आक्रमणको सम्भावना नदेखिने बताइरहँदा अमेरिकी विदेशमन्त्री ब्लिंकनले अहिलेसम्म आफूहरुले प्राप्त गरेको सूचना तथा देखिएका प्रमाणहरुले रुस आक्रमणको तयारीमा रहेको देखिने बताए।

सिएनएनसँगको अन्तर्वार्तामा विदेशमन्त्री ब्लिंकनले रुसले आक्रमण सुरु नगर्दासम्म संकट समाधानका लागि सम्भव भएसम्मका सबै कूटनीतिक प्रयास जारी राखिने बताए।

अमेरिकाका अनुसार रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख ९० हजार सैनिक तैनाथ गरेको छ।

फाल्गुन ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्