प्रदेश १ मा विकासका सम्भावना धेरै छन्: मुख्यमन्त्री राई

काठमाडौँ- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले राष्ट्रियताको रक्षा र सम्बृद्धिको यात्रा पूरा गर्न विकासको विकल्प नरहेको बताएका छन्।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌मा सोमबार आयोजित ‘प्रदेश १ को आर्थिक रुपान्तरणका सम्भावित क्षेत्रहरु’ कार्यक्रममा मुख्यमन्त्री राईले समग्र प्रदेशको विकासमा दत्तचित्त भएर लाग्न मातहतलाई निर्देशन दिएका छन्।

प्रदेशका विभिन्न क्षेत्रमा विकासका सम्भावना धेरै रहेको बताएका मुख्यमन्त्री राईले ती सबै सम्भावनालाई एकैपटक कार्यान्वयनमा ल्याउन पूँजीगत खर्चको अभाव रहेको बताए। यद्यपि राष्ट्रियताको रक्षा र सम्बृद्धिको यात्रा पूरा गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताए।

सरकारसँग पूँजीगत खर्च अभाव रहेको बताउँदै मुख्यमन्त्री राईले निजी क्षेत्रले सम्भावित क्षेत्रहरुमा लगानीका लागि उदारता प्रस्तुत गर्नुपर्नेमा जोड दिएका थिए। प्रदेश लगानी प्राधिकरणको सुझाव गहकिलो भएको बताएका उनले मुलुकमा आर्थिक क्रान्तिको समय आएको प्रस्टाए। राजनितीक क्रान्ति मुलुकमा सकिएको बताएका उनले विकास निर्माणदेखि आर्थिक क्रान्तिमा भारत र चीनको प्रगतिलाई पछ्याउनुपर्ने बताए।

कार्यक्रममा विदेशी वा स्वदेशी लगानीका निम्ती ऐन, कानून परिमार्जन गर्ने, शान्ति सुरक्षा एवं सुशासनलाई सुधार गर्दै जाने उद्घोष गर्दै मुख्यमन्त्री राईले सबै विज्ञको ज्ञानलाई समेटेर अघि बढ्ने विश्वास दिलाएका थिए।

फाल्गुन ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्