सुँगुरलाई आहारा दिन जाँदा बाघको आक्रमणबाट बर्दियामा एकजनाको मृत्यु

काठमाडौँ – बर्दियामा बाघको आक्रमणबाट मंगलबार राति एकजनाको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका–४ की ४१ वर्षीया लिली थारुको बाघको आक्रमणबाट मृत्यु भएको वडाध्यक्ष शेरबहादुर थारुले जानकारी दिए।
सैनवार गाउँकी लिली मंगलबार बेलुका ७ बजे आफूले पालेका सुँगुर–बंगुरलाई चारो हाल्न गएकी थिइन्। बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाघले त्यही समयमा उनलाई आक्रमण गरेको वडाध्यक्ष थारुले बताए।
‘बाघले आक्रमण गरेपछि अरुले होहल्ला गरे। बाघ भाग्यो’, उनले भने, ‘गम्भीर घाइते भएकी लिलीलाई उपचारका भुरीगाउँ लगिएको थियो। बचाउन सकिएन।’
राष्ट्रिय निकुञ्जको आडमा रहेका बस्तीका बासिन्दाहरु छेकबारको व्यवस्था नहुँदा आफ्नै घरमा पनि असुरक्षित हुने गरेको उनले बताए।
लिलीको शव पोस्टमार्टमका लागि अहिले गुलरिया अस्पतालमा राखिएको छ। बर्दियामा यो वर्ष हालसम्म बाघको आक्रमणबाट चारजनाको मृत्यु भइसकेको छ।