चम्कँदै पाँचथर मिक्लाजुङकाे गुँदाला भोजोला ताल

पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेखगाउँमा रहेको गुँदाला भोजोला ताल।तस्बिर : रवीन्द्र काफ्ले/रासस

पाँचथर – मेची राजमार्गको राँके बजारबाट पश्चिम लागेपछि समथर डाँडाहरुमाथिको यात्रा सुरु हुन्छ। पाँचथर र इलामका फराकिला र सुन्दर फाँट हेर्दै जति–जति हिँड्यो उत्ति–उत्ति आनन्द आउँछ। राँके कटेपछि आउने सबै डाँडा र थुम्काहरुको आ–आफ्नै मौलिकता र सुन्दरता छ। देउराली, पुरानो पञ्चमी, घुर्विसेपञ्चमी, सप्तमी, रबि, चिसापानी पञ्चमी, कन्याटार जस्ता बजारहरु डाँडाको तलमाथि हुँदै फैलिएका छन्। यी सबै ठाउँ जोड्ने सडक चाहिँ बहुचर्चित राँके–रबि–भेडेटार सडक हो।

यी सबै ठाउँका आ–आफ्नै परिचय छन्, जसको व्याख्या यहाँ पुगेर आनन्द लिएपछि मात्रै गर्न सकिन्छ। तर राँकेबाट रबि हुँदै पहाडको काखमा बसेको कन्याटार पुगेपछि नजिकैको लेखगाउँ पुग्न सबैले सुझाउँछन्। पाँचथरसहित तेह्रथुम र धनकुटाका केही भूभाग देखिने यहाँबाट मनोरम दृश्य हेर्दै झट्ट डाँडो छिचोल्दा आनन्द दोब्बर हुन्छ, यात्रा सार्थक बनेको अनुभूति जो कोहीले गर्दछन्।

बुट्यानहरुले ढाकेको हरियो जङ्गल, बाटोसम्म लत्रिएका लहलह अर्गेली, बुकी फूल र काँसले ढाकेको पाखाको बीचमा फैलिएको गुँदाला भोजोला ताल तपाइँको आँखामा पर्छ। मन फुरुङ्ग हुन्छ, थकान हराउँछ र रमाइलो गर्ने जोस चल्छ। नजिकै समथर ठाउँमा काठ र टिनले बनेका रङ्गीबिरङ्गी स-साना घरहरु, बोलचाल र शिष्टताको मौलिकताले आत्मीयता प्रदर्शन गर्छ।

मेची राजमार्ग छोडेपछि पूरै कच्ची सडकको यात्रा, धुलो र हिलोको अवरोध, अप्ठ्यारो र असजिलोले दिएको पीडा भुलाउन गुँदाला भोजोला ताल हरदम तम्तयार छ। बिहानीको शिरशिरे हावा होस् अथवा गोधुलीको मन्द बतास नै, हावाको वेगसँगै नाचिरहेको तालको पानी एक टकले हेरिरहन, डिलमा बसेर सुसेली हाल्न वा प्यारा मान्छेहरु सम्झन तपाइँ लालायित बन्नुहुन्छ नै। नभए छेउ–छेउमा रहेका चौतारीमा बसेर फूलहरुको बास्नासँगै प्रकृतिले दिएको आनन्दको छटामा एक क्षण त अवश्य हराउनु हुन्छ।

यत्तिले पनि नपुगे डुङ्गामा चढेर पोखरीका छेउकुना गर्दै चिसो–चिसो हावासँगै आनन्द लिने अवसर पनि तपाइँसँगै छ। हो, दुर्गममा पनि पर्यटकको तृष्णा मेट्न तम्तयार बनेको मिक्लाजुङ गाउँपालिका–७ लेखगाउँस्थित गुँदाला भोजोला ताल। राँके–रबि–भेडेटार सडकसँगै डाँडामा टिलपिल–टिलपिल पानी लिएर प्रकृतिको सुगन्ध बाँड्न गुँदाला भोजोला ताल हरदम तयार छ। विगतमा सानो पोखरी रहेको यस स्थानमा स्थानीयवासीको अग्रसरतामा केही वर्षअघि ताल निर्माण भएको हो। हरियो जङ्गल, नीलो आकाश र हिमालको छायाँ पर्ने तालमा लिइएका तस्बिरहरु निकै आकर्षक हुने हुनाले गर्मी सिजनमा यहाँ पर्यटकहरुको भीड लाग्न थालेको छ।

केही समययता उक्त तालमा रमाइलो गर्नका लागि डुङ्गासमेत प्रयोगमा ल्याइएको छ। विगतमा सानो ताल रहे पनि स्थानीयवासीले निकासतर्फ पक्की संरचना बनाई तालको विस्तार गरेका छन्। डुङ्गा सञ्चालन तथा तालको संरक्षणमा सक्रिय स्थानीयवासी सरोज राईका अनुसार यहाँ पाँचथरसहित इलाम, झापा, सुनसरी, धनकुटालगायत स्थानबाट पर्यटकहरु आउने गर्दछन्। गर्मी मौसममा दैनिक ५० जनाभन्दा बढी पर्यटक यहाँ आइपुग्ने गरेको राईले बताए।

गुँद र बोजो नामका वनस्पति रहेको ठाउँमा ताल निर्माण गरिएकाले यसको नाम गुँदाला भोजोला राखिएको राईको भनाइ छ। ताल आकर्षक बन्नाका साथै पर्यटकसमेत भित्रिन थालेपछि गत वर्षबाट डुङ्गा प्रयोगमा ल्याइएको हो। पर्यटकको उपस्थिति बाक्लिएपछि डुङ्गाबाट समेत राम्रै आम्दानी हुने गरेको छ। सिजनमा तालसँगै रहेको लेखगाउँमा पसल तथा स–साना होटलहरु राम्रोसँग चल्ने गरेका छन्।

स्थानीयवासीले ताल निर्माण र संरक्षणमा अग्रसरता लिएपछि सङ्घीय सरकार, प्रदेश सरकार र मिक्लाजुङ गाउँपालिकाले समेत यहाँ लगानी गरेका छन्। ताल निर्माण भएसँगै सामाजिक सञ्जालमार्फत व्यापक प्रचार भएको स्थानीयवासी रविन राईको भनाइ छ। ‘नयाँ वर्षको समय र अन्य सिजनको समयमा यहाँ प्रशस्तै पर्यटक आउँछन्’, राईले भने, ‘स्टल राखेर व्यापार चलाउने गरेका छौँ।’

विगतमा गुमनाम रहेको आफ्नो गाउँमा पर्यटकहरुको आकर्षण बढेपछि खुसी लागेको उनको भनाइ छ। -रासस

फाल्गुन ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्