मानव अधिकार आयोगले स्थानीय तहको निर्वाचनको अनुगमन गर्ने

फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले आगामी २०७९ वैशाख ३० तय भएको स्थानीय तहको निर्वाचनको अनुगमन गर्ने भएको छ।

बुधबार आयोगले निर्वाचन अनुगमनका लागि निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त, पूर्व आयुक्त तथा नागरिक समाजका प्रतिनिधिहरुसँग राष्ट्रिय मानव अधिकार आयोगमा छलफल गरेको छ।

राष्ट्रिय मानव अधिकार आयोगले विद्यमान निर्वाचन कानुनको मानव अधिकारको दृष्टिकोणबाट पुनरावलोकन गरी संशोधनका लागि सुझाव दिनुपर्ने सुझाव दिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै समानुपातिक समावेशीता, लैंगिक समानता, मतदाता शिक्षा, अत्यधिक खर्चिलो निर्वाचन, निर्वाचनको निष्पक्षता र स्वच्छता, भयरहित वातावरण, निर्वाचन आचारसंहिताको पालना लगायतका विषयमा अनुगमन गर्नुपर्नेमा आयोगले जोड दिएको छ।

देशबाहिर रहेका नेपालीहरुलाई मतदानको अधिकारका विषयमा निर्वाचन आयोग र सरकारलाई उपयुक्त सुझाव दिनुपर्ने धारणा सहभागिहरुले राखेका थिए।

छलफलमा निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, निलकण्ठ उप्रेती, पूर्व आयुक्त इला शर्मा, नागरिक समाजका डा. गोपालकृष्ण शिवाकोटी, एवम् आयोगका सदस्यहरु तथा आयोगका कर्मचारीको समेत सहभागिता थियो।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्यहरुले मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ तथा नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ ले प्रत्याभूत गरेका मानव अधिकारहरुको सुनिश्चिता गराउन आयोगले निर्वाचनपूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात् गरी तीन चरणमा निर्वाचनको अनुगमन गर्ने र अनुगमनबाट प्राप्त तथ्य र निष्कर्षको आधारमा निर्वाचन आयोग र सरकारलाई सिफारिस गर्ने बताए।

फाल्गुन ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्