विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेल सिफारिस, अरु न्यायाधीश को-को?

काठमाडौँ – विशेष अदालत काठमाडौँको अध्यक्षमा श्रीकान्त पौडेल सिफारिस भएका छन्।

बुधबार कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको बैठकले विशेषको अध्यक्षमा पौडेलसहित अरु पाँच जना न्यायाधीश सदस्यका रुपमा सिफारिस गर्ने निर्णय गरेको हो।

परिषदले विशेषको अध्यक्षमा सिफारिस पौडेल उच्च अदालत पाटनमा दरबन्दी भइ हाल उच्च अदालत पोखराको बागलुङ इजलासमा कार्यरत छन्।

त्यसै गरी विशेषको सदस्यका उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश रमेशकुमार पोखरेल, उच्च अदालत विराटनगरका न्यायाधीश यमुना भट्टराई, उच्च अदालत पोखराको बागलुङ इजलासका न्यायाधीश शालिग्राम कोइराला, उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बलभद्र बास्तोला र उच्च अदालत पाटनका न्यायाधीश खुसी प्रसाद थारुको नाम सिफारिस गरिएको छ।

परिषदले राजश्व न्यायाधीकरणको अध्यक्षमा टेकप्रसाद ढुंगानालाई सिफारिस गर्ने निर्णय गरेको छ। परिषदको सिफारिमा प्रधानन्यायाधीशले न्यायाधीशहरुको पदस्थापन तथा सरुवा गर्ने कानुनी व्यवस्था छ।

विशेष अदालतमा गत साउनदेखि दुई जना मात्रै न्यायाधीश छन्। साउन १ गते विशेष अदालतका अध्यक्षसहित ४ जना न्यायाधीशको सरुवा भएको थियो। नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको भोलिपल्ट उनीहरुको सरुवा भएको हो।

फाल्गुन ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्