निकुञ्जमा सेना

वन्यजन्तुसँग मायामा बाँधिएका छन् यी सैनिकहरु

काठमाडौँ – घना जगलको बीचमा वातावरणसँगै मिल्ने हरिया रङका लुगा लगाएकाहरु समूहमा हिँडिरहेका थिए। उनीहरु दायाँ–बायाँ, अगाडि–पछाडि चारैतिर ठाडो कान पारेर चनाखा थिए। तर उनीहरुलाई देखेर जंगलमा रहेका जनावर भने भागेनन्। मानौं जनावरलाई थाहा छ कि उनीहरु आफ्नै सुरक्षाका लागि खटिएका हुन्।

पछिलो समय बाघको चहलपहल बढी रहेको बर्दिया राष्ट्रिय निकुञ्जको दृश्य हो यो। त्यहाँ मानिसमाति बाघको आक्रमण बढिरहेको छ। बर्दियाको ठाकुरद्वारमा रहेको नेपाली सेनाको श्री देवीदत्त गणका सैनिकहरु बर्दिया राष्ट्रिय निकुञ्ज र त्यहाँ रहेका बाघलगायत अन्य वन्यजन्तुको सुरक्षाका लागि खटिएका छन। सैनिकहरु निकुञ्जभित्र दैनिकजसो सुरक्षा गस्तीमा परिचालन हुन्छन्।

वनमा दैनिकजसो खटिरहने भएकाले होला सैनिकहरुसँग जनावर खासै डराउँदैनन्। जनावरले बोल्न सक्दैन। तर, को शत्रु र को मित्र हो भन्ने बुझ्छन् भनिन्छ। यसकै संकेतका रुपमा बुझ्नुपर्छ यसलाई। आफ्नो सुरक्षाको लागि खटिएकाहरुको गन्धले पनि चिन्न सक्छ जनावरले। त्यसैले खटिएका सैनिकलाई देख्दा जनावर भाग्दैनन्। झन् सैनिकहरुकै नजिक भएर जनावरहरु निर्धक्क हिँडडुल गरिरहेका छन्। वन र वन्यजन्तुसँग सुरक्षाकर्मीको सम्बन्ध नङ र मासु जस्तै छ। त्यसैले बाघको आक्रमणको त्रास बढिरहँदा पनि सुरक्षा गस्ती जारी छ। सैनिकहरुप्रति जनावरको विश्वास पनि कायमै छ। कति गाढा छ, जंगलको सुरक्षामा खटिएका सैनिक र जनावरहरुबीचको सम्बन्ध।

बर्दिया राष्ट्रिय निकञ्जमा साइकलमा गस्ती गर्दै नेपाली सेना।

तराई क्षेत्रमा पर्ने निकुन्जहरुमध्ये बर्दिया राष्ट्रिय निकुञ्ज सबैभन्दा विशाल छ। यसको क्षेत्रफल ९६८ वर्ग किमि छ। त्यस्तै मध्यवर्ती क्षेत्रकाे क्षेत्रफल ५०७ वर्ग किमि रहेकाे छ। पाटे बाघका लागि पनि यो निकुञ्ज अनुकूल र उपयुक्त मानिन्छ। निकुञ्जको सुरक्षाको जिम्मेवारी गएको एक वर्षदेखि नेपाली सेनाको श्री देवीदत्त गणले लिएको छ। गणपति प्रमुख सेनानी दिनेश कार्की भन्छन्, ‘निकुञ्जको सुरक्षाका लागि सेनाले गर्ने डिउटी र अन्य क्षेत्रमा गर्ने डिउटीमा मुख्य फरक भनेको यहाँ वन र वन्यजन्तुको सुरक्षासँगै यहाँ मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने जनतासँग पनि राम्रो सम्बन्ध स्थापित गर्दै उहाँहरुको सुरक्षालाई पनि उत्तिकै महत्व दिनु हो।’

वन र वन्यजन्तुको सुरक्षामा खटिँदा मानव र जनावरबीचको द्वन्द्व व्यवस्थापन गर्नु सबैभन्दा ठूलो चुनौती भएको उनी बताउँछन्। उक्त द्वन्द्व व्यवस्थापन गर्न निकुञ्जका कर्मचारी र स्थानीय बासिन्दासँग समन्वय गर्दै आएको जानकारी कार्कीले दिए। ‘हामीले आफ्नो कार्यलाई अझै प्रभावकारी रुपमा सम्पादन गर्न नयाँ प्रविधि सुरु गरेका छौं’, उनले भने।

ठाकुरद्वारामा रहेको देविदत्त गणका गणपति प्रमुख सेनानी दिनेश कार्की।

नेपाली सेनाले राष्ट्रिय निकुञ्जमा खटिने सैनिकहरुको लागि निकुञ्जसम्बन्धी विशेष तालिम सञ्चालन गर्छ। उक्त तालिममा प्रकृतिसँगै जनावरहरुको महत्व, तिनीहरुको आनीबानी, गन्ध, पञ्जादेखि बचाउ र आक्रमणबाट बच्ने उपाय अथवा सावधानीबारे सिकाइन्छ। ‘यस किसिमको तालिमले आफूलाई सुरक्षित भई अझै वन र वन्यजन्तुको सुरक्षामा लाग्न आत्मविश्वास दिन्छ’, महासेनानी कार्कीले भने, ‘मनोवैज्ञानिक रुपले पनि सहज महसुस गराउँछ। वन र वन्यजन्तुको सुरक्षाका लागि खटिएको भए पनि मध्यवर्ती क्षेत्रमा बस्ने जनता र निकुञ्जमा घुम्न आउने सबैको सुरक्षाको जिम्मेवारी पनि हाम्रो लागि उत्तिकै महत्वपूर्ण छ।’

वन र वन्यजन्तुको सुरक्षामा कसरी खट्छ सेना?

नियमित रुपमा दिनमा तीनवटा र रातमा एउटा गस्ती सञ्चालन हुन्छ। देवीदत्त गणका अपरेसन अधिकृत सेनानी रामकाजी कुमालका अनुसार गस्ती आवश्यकता र भूगोलअनुसार पैदल, साइकल, हात्ती, मोटरसाइकल, गाडी र डुंगामा हुन्छ। तर विशेष अपरेसन आवश्यक परे निकुञ्ज र गणका अपरेसन अधिकृतले योजना बनाउँछन्।

निकुञ्ज वरिपरि अवैध क्रियाकलाप भएको पाइए दुई जना अपरेसन अधिकृतले बनाएको योजनाअनुसार सैनिक परिचालन गरिने उनी बताउँछन्। बर्दिया राष्ट्रिय निकुञ्जमा हाल ५ वटा चेक प्वाइट, गण हेडक्वार्टरसहित ३२ वटा पोष्टबाट सुरक्षाकर्मी खटिने जानकारी सेनानी कुमालले दिए।

ठाकुरद्वारामा रहेको देविदत्त गणका अप्रेशन अधिकृत सेनानी रामकाजी कुमाल।

गणले २०७७ माघ महिनादेखि निकुञ्जको सुरक्षाको जिम्मेवारी पाएको हो। यसबीच बाघको आक्रमणबाट ९ जना र हात्तीको आक्रमणबाट ५ जना गरी १४ जनाको मुत्यृ भएको उनले बताए।  पछिल्लो समय राजमार्गमा समेत बाघको चहलपहल बढेको र विगतको दुर्घटनालाई ध्यानमा राखी चारवटा चेक प्वाइटमा टाइम कार्ड लागू गरिएको कुमाल बताउँछन्।

‘२४ सै घण्टा वन र वन्यजन्तुको सुरक्षामा खटिँदा वन र वन्यजन्तुसँग आफूहरुको आत्मीय सम्बन्ध बढेको महसुस भएको छ’, उनले भने, ‘हामीले जस्तो जनावरले बोल्न त सक्दैन। तर उनीहरुको हाउभाउ हामी थाहा पाउँछौं।

बर्दिया राष्ट्रिय निकुञ्जमा देवीदत्त गण खटिएयता जनावरबाट सुरक्षाकर्मी कसैलाई पनि हालसम्म कुनै आक्रमण नभएको कुमालले बताए। प्रकृतिको सुरक्षामा खटिँदा आफूलाई गर्व महसुस हुने गरेको उनले सुनाए।

यस्ताे छ निकुञ्ज खटिएका सैनिकहरुको अनुभव

बेलाबेलामा गस्ती गएर फर्किने क्रममा बाघसँग जम्काभेट हुने सिपाही सुन्दरी साउदले सुनाइन्। त्यसबेला मनमा डर हुने उनी बताउँछन्। तर त्यो डरसँगै आफूलाई खुसी लाग्ने उनले बताइन्।

ठाकुरद्वारामा रहेको देविदत्त गणमा कार्यरत सिपाही सुन्दरी साउँद।

‘बाघसँग जम्काभेट हुँदा डर त किन नहुनु’, सुन्दरी भन्छिन्। ‘दिनरात बाघकै सुरक्षामा खटिन्छौं। बाघ देख्न पाउँदा खुसी पनि हुन्छौं। उसलाई देखेर हामी शान्त भइदियो बस, बाघ पनि आफ्नो बाटो लाग्छ।’

उनी सैनिक सेवामा प्रवेश गरेको ३ वर्षमात्र भएको छ। छोटो अवधिमै निकुञ्जको सुरक्षामा खटिन पाउँदा खुसी लागेको सुन्दरी सुनाउँछिन्। ‘निकुञ्जका जनावरहरुलाई खुसी र स्वस्थ देख्दा मलाई पनि सुख मिल्छ, मन आनन्दित हुन्छ’, उनले भनिन्।

हुद्दा पृथ्वी थापा नेपाली सेनामा प्रवेश गरेको १४ वर्ष भयो। यसबीचमा उनी पहिलोपटक राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका छन्। साधारणभन्दा निकुञ्जको डिउटी अलि फरक रहेको उनले बताए।

ठाकुरद्वारामा रहेको देविदत्त गणमा कार्यरत हुद्दा पृथ्वी थापा।

सुरुमा केही डर महसुस भएको पृथ्वीले सुनाए। तर अहिले सहज भएको उनी बताउँछन्। उनका अनुसार गस्तीमा जाँदा ठाउँठाउँमा जनावरहरु देखिन्छन्। ‘त्यो समयमा कतिलाई डर लाग्छ। तर अवस्थालाई नियन्त्रणमा लिएर जनावरहरुको प्रतिक्रियाअनुसार आफूले व्यवहार गर्नुपर्छ’, पृथ्वीले भने।

दैनिक गस्तीमा जाने हुँदा जनावरहरुको आनीबानीबारे जानकारी मिल्ने उनी बताउँछन्। बर्दियामा बाघको आक्रमणबारे खबर आउँदा आफन्त र घरबाट चासो व्यक्त गर्ने गरेको उनले बताए। ‘साथीभाइले पनि सोध्ने गर्छन्। तर त्रसित हुनुपर्ने अवस्था छैन’, पृथ्वीले भने, ‘जनावरलाई हानी पुर्‍यायो भने मात्रै आक्रमण गर्ने हो। नत्र उसले आक्रमण कमै गर्छ। फेरि जंगलमा जनावर र हाम्रो सम्बन्ध नङ र मासु जस्तो छ। हामीहरु जंगलको एउटै परिवारको रुपमा छौंं।’

जनावरहरुलाई नोक्सानी गर्नुभन्दा पनि कसैले उनीहरुलाई नोक्सानी गर्छ कि भनेर सुरक्षाकर्मीहरु खटिएको उनी स्पष्ट पार्छन्। उनले निकुञ्जको डिउटीमा आउँदा सुरुमा केही असहज लागे पनि अहिले जंगल र जनावरको सुरक्षामा खटिँदा रमाइलो लाग्ने गरेको उनको भनाइ छ।

सुन्दरी र पृथ्वीको जस्तै अमल्दार लोकनाथ गौतमको पनि राष्ट्रिय निकुञ्जको डिउटी पहिलो हो। गस्ती जाने क्रममा जम्काभेट नभए पनि टाढाबाट बाघ, गैंडा, हात्तीलगायतका जनावर देखेको उनले सुनाए।

ठाकुरद्वारामा रहेको देविदत्त गणमा कार्यरत अमल्दार लोकनाथ गौतम।

सुरुका दिनमा जंगल र जनावरलाई बुझ्न केही समय लागे पनि पछि जंगल र जनावरको माया लाग्न गौतमले बताए।

गस्तीमा जाँदा घाइते जनावर भेटिए निकुञ्ज प्रशासनलाई खबर गर्नुपर्ने नियम छ। उनीहरुका अनुसार जंगल र अन्यत्रको डिउटीको प्रकृति फरक छ। जंगलको डिउटीमा केही हदसम्म जोखिमपूर्ण छ।

निकुञ्जमा कहिलेदेखि सेनाले सुरक्षा दिन थाल्यो?

नेपालमा १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष क्षेत्र, एक सिकार आरक्ष क्षेत्र र ६ वटा संरक्षण क्षेत्र छन्। त्यसमध्ये राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष क्षेत्र र सिकार आरक्ष क्षेत्रको सुरक्षामा नेपाली सेना खटिँदै आएको छ। नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको सुरक्षामा संलग्नताको पृष्ठभूमि लामो छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले सन् १८६९ सालबाट नै सेनाले राष्ट्रिय निकुञ्जको सुरक्षा गर्दै आएको शिवपुरी राष्ट्रिय निकुन्जमा भेटिएको शिलालेखमा उल्लेख रहेको जानकारी दिए। तत्कालिन राजा सुरेन्द्र वीर विक्रम शाहको पाला शिवपुरी राष्ट्रिय निकुञ्ज सञ्चालनमा थियो। तर पछिलो समय विसं २०३२ सालदेखि नेपाली सेना राष्ट्रिय निकुञ्जको सुरक्षा र वन्यजन्तु संरक्षणमा खटिएको उनले बताए।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवाल।

नेपालमा विसं २०३४ सालमा राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण हेर्ने गरी छुट्टै राष्ट्रिय निकुन्ज वन्यजन्तु आरक्षण महाशाखा स्थापना भएको थियो। नेपाली सेनाले सुरुमा साधारण पोष्ट खडा गरी परम्परागत हिसाबले प्रकृति र वन्यजन्तुको सुरक्षा गर्दै आएको थियो। ‘त्यसबेला कानुन पनि अपुरो थियो। सेनाको जनशक्ति पनि कम थियो। राष्ट्रिय निकुञ्ज पनि कम थिए’, प्रवक्ता सिलवालले भने, ‘हाल प्रविधिको विकाससँगै सुरक्षा फौज र पोष्टको संख्या बढाइएको छ।’

प्रविधिको विकासले निकुञ्ज सुरक्षा तथा वन्यजन्तु संरक्षण अभियानमा गुणस्तर थपेको उनले बताए। उनले थपे, ‘प्रविधिको प्रयोग, सुरक्षा फौजको संख्यामा वृद्धि, तालिमको अवस्था हेर्ने हो भने पहिलेभन्दा अहिले गुणात्मक रुपमा फड्को मारेको छ।’

जलवायु परिवर्तन सम्बन्धमा सेनाकाे चासाे

विश्वमा यतिबेला जलवायु परिवर्तनको मुद्दा जोडदार रुपमा उठिरहेको छ। लामो समय प्रकृति र वन्यजन्तुको सुरक्षामा खटिएको नेपाली सेनाले जलवायु परिवर्तनको क्षेत्रमा योगदान दिँदै आएको छ। सैनिक प्रवक्ता सहायक रथी सिलवालले यस विषयमा नेपाली सेनाले चासोपूर्वक काम गरिरहेको बताए।

बिहानको गस्तीमा नेपाली सेनाको टोली।

‘जलवायु परिवर्तन र पर्यावरण परिवर्तनबाट हामी अछुतोे छैनौं र रहन पनि सक्दैनौं। सेनाले यसबारे विशेष कार्यकै रुपमा लिएको छ। प्रकृति र वन्यजन्तुको सुरक्षा त छँदैछ’, उनले भने, ‘यसबाहेक विपद्मा उद्धार, हिमाल सरसफाइ, चुरे सरक्षणलगायतका कार्यमा नेपाली सेना खटिँदै आएको छ। सर्वसाधारणलाई जागरुक बनाउने कार्य पनि गरिरहेका छौं।’

निकुञ्ज सुरक्षामा कति छन् सैनिक?

वन र वन्यजन्तुको सुरक्षाको क्रममा विसं २०४१ सालदेखि हालसम्म ६० जना सैनिकको मृत्यु भएको छ भने १४ जना घाइते भएको सहायक रथी सिलवालले जानकारी दिए। उक्त क्रममा कुनै सैनिकले नियमविपरीत कार्य गरेको खण्डमा सैनिक नियमअनुसार कारबाही पनि हुने गरेको उनले बताए।

हालसम्म ८ वटा गण, ७ वटा गुल्म, एकएक शिक्षालय र निर्देशनालयसहित नेपाली सेनाको कुल संख्याको ८ प्रतिशत जनशक्ति प्रकृति तथा वन्यजन्तुको सुरक्षामा खटिएको उनले जानकारी दिए।

गाडीबाट रातिको समयमा गस्ती गर्दै नेपाली सेना।

यो तथ्यको विश्लेषण गर्दा प्रविधि र सीपको विकाससँगै संरक्षण अभियान तुलनात्मक रुपमा विकास भएको पाइन्छ। पछिल्लो समय मुलुकमा वन तथा वन्यजन्तुको संरक्षणमा चुनौती बढेको छ। चोरी शिकारस्ँगै वनजंगल क्षेत्रभित्र होटल तथा रिसोर्ट निर्माणको क्रम बढेको छ। जंगल क्षेत्र नासिने क्रम पनि तीव्र छ।

कृषियोग्य भूमिमा बस्ती विस्तार सँगै पहाड तथा चुरे क्षेत्रमा अनियन्त्रित ढुंगा उत्खनन्ले जनावरहरुको बसाइ क्षेत्र अतिक्रमण बढेको छ, वनजंगल क्षेत्रमा मानवीय क्रियाकलाप बढ्दै आएको छ। जसले गर्दा जनावरहरुको बसोबासको क्षेत्र साँघुरिँदै गएको छ। परिणामतः वन्यजन्तु र मानवबीचको द्वन्द्व सघन हुन थालेको छ।

फाल्गुन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्