महादेवले किन गाँजा खाई खरानी घस्छन्?

शिवरात्रि, कालारात्रि, मोहरात्रि, सुखरात्रि गरी चारवटा रात्रि साधना र उपासनाका लागि महत्वपूर्ण मानिन्छ । शिवरात्रिमा शिवजीको उपासना गरी स्वस्थ्यसहितको दीर्घजीवनको कामना गरिन्छ ।

संसारमा असल र खराब दुवै नशा छन् । जसले शास्त्र, ज्ञान, विवेकको नशा सेवन गर्दछ, त्यसले धर्म, समाज र राष्ट्रलाई धन्य बनाउँछ । जसले खराब नशा पिउँछ त्यसले आफ्नो नाश, अरूको विनाश र धर्मको सर्वनाश गर्दछ । महादेवले कालकुट विष पिएर ब्रह्माण्डको रक्षा गर्नुभयो, ताण्डवनृत्य गरी नाचको जन्म गराउनुभयो, १४ सूत्र दिएर व्यकरणको बीजारोपण गराउनुभयो, हात्ती र बोकाको टाउको प्रत्यरोपण गरी आधुनिक विज्ञानको अंकुरण गराउनुभयो ।

डम्बरु बजाई प्राणीलाई जगाउने, त्रिशूलद्वारा शत्रूको नाश गराउनु, बाघको छाला लगाई भ्रष्टाचारको उपाय सिकाउने देवतालाई हामीले गँजडी, सन्की, उग्र देवताको रुपमा चित्रण गरी दुर्भाग्य निम्त्याएका छौँ । देवीदेवताको स्वरुपअनुसार चढाउने पदार्थ फरक पर्न थाले । सरस्वती, विष्णु, गौतमबुद्धको पूजा फलफूल चढाएर गरियो । भैरव, दुर्गा, कालीसहित महादेवको उग्ररूपमा तामसी पदार्थ समर्पण गर्न थालियो । यसले बिस्तारै परम्परा र संस्कृतिको स्वरूप लियो, कर्मकाण्डको अध्याय बन्न पुग्यो । महादेवलाई खुशी तुल्याउन गाँजा चढाएर प्रसादका रूपमा खान थाले । महादेवले गरेका काम हामी गर्न सक्दैनौँ । नग्न भई हिमालमा तपस्या गर्ने, त्रिपुराको नाश गर्ने, मशानघाटमा खरानी घसेर वर्षैसम्म केही नखाई बस्ने तागत हामीमा छैन । देवीदेवताको जस्तो गर्न नसक्ने तर काल्पनिक गतिविधि गर्न रुचाउने ?

महादेवलाई प्रसन्न तुल्याउन बेलपत्र, धत्तुरो, दत्तीउन, पञ्चामृत आदि चढाइन्छ तर महादेवलाई गाँजा खाने देवताको रुपमा चिनाउने प्रयास भइरहेको छ । हामीले गाँजाभित्र रहेको औषधिजन्य गुणलाई बिर्सेर नशाजन्य प्रभावलाई मात्र हेर्न थाल्यौँ । देवीदेवतालाई चढाउने पदार्थमा हामीलाई लाभ दिने प्रशस्त गुण र शक्ति छन् । देवीदेवतालाई नशालु पदार्थ होइन फूल, पात, फल र पानी चढाउनुपर्छ । कर्मकाण्डका ग्रन्थहरूमा देवीदेवतालाई लागुऔषधका साथै मात लाग्ने पदार्थ चढाउने विधि छैन । यी सबै धर्ममाथि आरोप र देवीदेवतामाथि कलड्ढ लगाउने काममात्र हुन् ।

उपचार र उपासनामा गाँजा महौषधि हो । जसरी गाँजा खाने मानिस एक सूरमा लाग्छ, दुनियाँले के भन्लान् ? भन्ने डर मान्दैन त्यसरी नै शिवभक्ति वा योगमा समर्पित व्यक्तिले संसारका मान–अपमान, लाभहानिलाई भुलेर ब्रह्मचिन्तनमा अनवरत लाग्छ । महादेव सधैँ ध्यानमा देखिनुहुन्छ । एकाग्र बनाउने सन्दर्भमा पनि गाँजा खाने प्रकरण थपिन पुगेको हो । बाहिरी प्रपञ्चबाट अलग भएर आत्मचिन्तनमा लीन हुनुपर्छ भन्ने अर्थ बुझाउन गाँजालाई महादेवको प्रिय लाग्छ भनिएको हो । युरोपका केही देश, क्यानडा, अमेरिकाका सीमित प्रान्तमा क्यान्सरका बिरामीलाई गाँजा खान दिन्छन् । बेसारजस्तै गाँजा पनि एन्टिवाइटिक हो । यसलाई नशाका रूपमा नभई औषधिका रूपमा प्रयोग गर्ने हो भने विभिन्न रोगहरू निर्मूल पार्न सकिन्छ ।

जाँड, रक्सीलगायतका मद्यपानमा डुबेका मानिस बलात्कारी हुन सक्लान् तर तुलानात्मक रूपमा गाँजा सेवन गर्ने त्यति घातक हुँदैनन् । मद्यपानले मानिस उन्मत्त हुन्छ तर गजडीहरू लठ्ठ हुन्छन्, भोगविलासको अपेक्षा गर्दैनन् । घरपालुवा जनावरहरूलाई चिसो वा मासीरोग लागे गाँजालाई भुटेर खुवाइन्छ । महादेव वैद्यनाथ (महान् डाक्टर) भएकाले जडीबुटीको उचित प्रयोग गर्नु स्वाभाविकै हो । मानिसमा रहेका नराम्रा लत वा नशालाई महादेवका नाम स्मरणले नाश गर्छ । अहिलेको उपचार विधिले शारीरिक रोग निको हुन्छ तर मानसिक उपचार गर्न महादेवकै आशीर्वाद चाहिन्छ । महादेवले कामदेवलाई नष्ट गर्नुभयो । कामदेवको अर्थ मानवविशेष मात्र होइन उत्तेजना वा कामुकताको प्रतीक हो । महादेवले सबै प्रकारका नशा, विष र विकारलाई लिएर जगत्को कल्याण गर्नुहुन्छ ।

धतूरोका पात, जरा, काण्ड, फूलको के महत्व छन् भन्ने तथ्यमाथि अनुसन्धान हुन आवश्यक छ । जस्तै पारिजातको फूलले सर्पलाई निकै आकर्षित गर्ने हुनाले यसको वरिपरि अँध्यारोमा हिँड्दा विचार गर्नुपर्छ । अपशोच र आश्चर्यका विषय के छ भने केही वर्षयता धतूरोलाई औषधि नभई नशाको रूपमा उपभोग गर्न थाले आयुर्वेदले विषलाई औषधि बनाउन सिकाएको छ विडम्बना हामी औषधिलाई विष बनाएर खाने दुर्मतिमा लागेका छौँ । औषधिमा टेक्ने, इतिहासलाई छोप्ने, धर्मलाई डुबाउने, राष्ट्रलाई भुल्ने रोगले हामी ग्रस्त हुन पुग्यौँ । हजारौँ बेलको पातभन्दा एउटै गुमपाती विशेष हुन्छ, हजारौँ गुमपातीभन्दा एउटै धत्तुरो उच्चकोटिको मानिन्छ । धतूरोको फूलले वातावरणलाई स्वच्छ बनाउनका साथै शिव र महादेवलाई प्रशन्न तुल्याउँछ । भविष्यपुराणमा भनिएको छ “जसले धतूरो अर्पण गरी शिवलिड्डको पूजा गर्छ उसले एक लाख गाई दान गरेको पुण्य प्राप्त गरी देहत्यागपछि शिवलोकमा बास गर्दछ ।” ऋषिमुनिहरूले लामो परीक्षण नगरी कुनै पनि फल, फूल, काण्ड, पात, जरालाई औषधि बनाएका छैनन् । जीवनभर आनन्द र मृत्युपछि मुक्ति प्राप्त गर्न चाहनेले शिवालय वरिपरि रुद्राक्ष, बेलपत्र, आँक, धतूरो लगाउने, गौशाला र साधु आश्रमको व्यवस्था गराउँछन् ।

यसलेशिव पूजामा सहजमात्रै बनाउँदैन शिवालयको गरिमा समेत बढाउँछ । भविष्यपुराणमा भनिएको छ–
धत्तूरकैश्च यो लिड्डं सकृत् पूजयते नरः ।
स गोलक्षफलं प्राप्य शिवलोके महीयते ।।

अर्थात् “जसले धतुरो अर्पण गरी विधिसहित शिवलिड्डको पूजा गर्दछ, त्यसले एक लाख गाई दान गरेको पुण्य प्राप्त गरी मृत्युपछि शिवलोक प्राप्त गर्दछ ।” महादेवको बाहान नन्दी, पार्वतीको बाहान सिंह विपरीत स्वभाव र एक अर्काका शत्रु हुन् । गणेशको बाहान मूसो, महादेवको घाँटीमा सर्प हुँदा पनि पारिवारिक एकतामा कहिल्यै अप्ठेरो परेन । कुमारको बाहान मयूर एवं शङ्गरको गलामा विराजमान वासुकि सर्पमा मित्रता सम्भव हुने कुरै भएन । ईश्वरीय शक्तिको कृपाले यी सबै सम्भव भएका हुन् । मानिसभित्र द्वन्द्व छ, समाजमा विभेद छ र राष्ट्रमा अशान्ति छ तर शिव कृपा भयो भने भिन्न स्वभावका बीचमा एकता सम्भव हुन्छ र सद्भाव मौलाउँछ । देवताका बाहान, लवाई एवं उनीहरूलाई अर्पण गरिने पदार्थले कस्तो प्रभाव पार्छ भन्नेथाहा पाउन अध्ययन, अनुसन्धान र तत्तत् शास्त्रको चिन्तन आवश्यक छ । यसकारण महादेवले नशा खान सिकाउँदैनन् बरु मद्यपान, धूमपानबाट टाढा बसेर दशालाई पखाल्न, मुक्तिको ढोका खोल्ने, शान्तिको श्वास फेर्ने कला बताउँछन् । मसानमा बसेर होस वा हिमालमा आसन कसेर, सधैँ महादेवले महान् बन्न, महान् बनाउन, महान् हुन सिकाइरहेका छन् । महादेवले महान् बनाउँछन् । मद, मदिरा र मद्यपान विमुख हुन सिकाउँछन् ।

जोगी बन्न गाह्रो, पाउन दुर्लभ, चिन्न कठीन छ । खरानी घस्दैमा, टुप्पी फाल्दैमा, गेरुवा वस्त्र लगाउँदैमा, घरपरिवार त्याग्दैमा जोगी हुँदैन । जोगी बन्ने परम्पराको इतिहास प्राचीन छ । महादेव, विष्णु र ब्रह्माजी जोगी हुन् । उनीहरू संसारमा रहेर संसारी बनेनन् । श्रीमती भएर पनि दाम्पत्य जीवन बिताएनन् । महादेव हिमालमा बसे, विष्णु समुद्रमा सुते, ब्रह्माजीले कमलमाथि आसन कसे । संसारलाई दिए तर कसैबाट लिएनन् । जोगीले संस्कार, शिक्षा र सेवाका माध्यमद्वारा समाज र राष्ट्रको हित गरे ।

जोगी बन्न गाह्रो, पाउन दुर्लभ, चिन्न कठीन छ । खरानी घस्दैमा, टुप्पी फाल्दैमा, गेरुवा वस्त्र लगाउँदैमा, घरपरिवार त्याग्दैमा जोगी हुँदैन । जोगी बन्ने परम्पराको इतिहास प्राचीन छ । महादेव, विष्णु र ब्रह्माजी जोगी हुन् । उनीहरू संसारमा रहेर संसारी बनेनन् । श्रीमती भएर पनि दाम्पत्य जीवन बिताएनन् । महादेव हिमालमा बसे, विष्णु समुद्रमा सुते, ब्रह्माजीले कमलमाथि आसन कसे । संसारलाई दिए तर कसैबाट लिएनन् । जोगीले संस्कार, शिक्षा र सेवाका माध्यमद्वारा समाज र राष्ट्रको हित गरे । जोगीले जीवन जीउने कला सिकाउँछन्, परमात्मा भेट्ने बाटो देखाउँछन् । उद्देश्य प्राप्त गर्न जोगी बन्नै पर्छ । व्रतबन्धको समयमा पुरोहितले व्रतबन्धकर्तालाई विभिन्न उपदेश दिँदै ‘भिक माग्न’ पठाउँछन् । भिकले विनम्र बन्नमात्र सिकाउँदैन संस्कार र विनयले योग्य बनाउँछ । बच्चाको दाँत पलाएन भने सात घरमा भिक मागेर खाएमा पलाउँछ भन्ने मान्यता छ । बोली शुद्ध बनाउन सरस्वतीको कृपा पाउन जोगी नै बन्नुपर्छ । शिवका अनुयायीहरू रुद्राक्षको माला, भस्म लगाएर शिवको पूजा, उपासना गर्दछन् । भस्मलाई विभूति, भसित, भस्म, क्षार र रक्षा गरी पाँच नामले पुकारिन्छ । भस्म लगाउँदा ऐश्वर्य मिल्ने हुँदा यसलाई विभूति भनिएको हो, तत्वको प्रकाशन गर्ने हुनाले भसित भनिएको हो, पापहरूको नाश गर्ने हुनाले यसलाई भस्म भनिएको हो, आपत्तिहरूको नाश गर्ने हुनाले क्षार नाम दिइएको हो । भस्म धारण गर्दा शिवको चिन्तन गर्न आध्यात्मिक रूपले सहयोग गर्छ ।देवीभागवत् (११.११.२५) मा भनिएको छ– “त्रिपुण्ड्रको सबैभन्दा तलको रेखालाई ब्रह्मा, बीचको रेखालाई विष्णु र सबैभन्दा माथिको रेखालाई महादेव सम्झनुपर्छ ।” ‘शिवं भूत्वा शिवं यजेत’ अर्थात् शिव भएर शिवको पूजा गर्नु । अस्पतालहरूमा विशेष रोगबाट संक्रमितलाई छुनभन्दा पहिले डाक्टरहरूले सुरक्षार्थ विभिन्न पदार्थ लगाउँछन् ।

कोभिडको महामारीमा सेनिटाइजर, माक्स लगाएजस्तै पूजापूर्व शास्त्र विधिअनुसारको लेपन र पहिरन हुनुपर्छ । भस्म (खरानी)लाई जति पोले पनि खरानी नै हुन्छ अर्थात् रूप बदलिँदैन । अपरिवर्तनशील परमात्माको ध्यान गर्दा अपरिवर्तनशील पदार्थ (भस्म) लगाउनुपर्छ । भस्मले शरीरलाई गर्मी, चिसो र छालासम्बन्धी रोग आदिबाट बचाउँछ । भस्मले जाबे (एलर्जीजस्तै), पेटमा पर्ने चुर्ना, जुका, गानुगोला आदिलाई निर्मूल पार्छ । बालीनालीमा लाग्ने विभिन्न रोग उपचारमा खरानी अचूक औषधि हुन्छ । बच्चाबच्चीहरूलाई लामो यात्रा गराउनुभन्दा पहिले निधारमा भस्म लगाइदिनाले भूत, प्रेत आदिले दुःख दिँदैनन् । भस्म लगाउँदा ऐठन हुँदैन, छल्न आउँदैन, दुष्टात्मा देखा पर्दैन । प्रायः नाथसम्प्रदायका साधुहरूको धुनीबाट प्राप्त भस्ममाथि नेपाली समाजको आस्था र विश्वास अधिक छ । मसानघाटमा गणसहित रहेर महादेवले खरानी लगाएको आख्यानले भस्मलाई मुक्तिको प्रतीक बताउन खोजेको प्रष्ट हुन्छ ।

भस्म नै शिवको प्रसाद हो । प्रसादले मनमा प्रसन्नता ल्याउँछ, आनन्द प्रदान गर्दछ, सङ्कल्पलाई पूरा गर्छ, पापलाई नष्ट गर्दछ । भस्म धारण गर्नाले मानिसलाई पूर्वजन्मका महापातकले छुन सक्दैन, चण्डाल भएर जन्मनुपर्दैन । लिड्डपुराण (पूर्वभाग ३४.१६–१७)मा भनिएको छ भस्मस्नानद्वारा भस्म लेपन गरी मनले शिवजीको ध्यान गर्नुपर्दछ, यसले हजारौँ प्रकारका कुकृत्य र पापको दहन गर्दछ जसरी आगोले वनलाई डढाउँछ । खरानी घस्नेबित्तिकै कैयौँ जन्मका पाप एक्कासी नाश हुँदैन । भस्मले शरीरलाई स्वस्थ, बुद्धिलाई मेधावी, शरीरलाई ऊर्जाशील, रोगरहित बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्दछ । शरीर ठीक भएमात्र मन र सोच बलियो हुन्छ । यस्ता मानिसले शारीरिक, मानसिक कार्य गर्दै परमात्माको चिन्तन गर्न सक्छन् । परिणामस्वरूप उसका कर्महरूले पापलाई नाश गर्दै जान्छ ।

प्रकाशको साररुप सुन, जलको साररुप स्फटिक र मोती, अग्निको साररुप भस्म हो । यसैले यिनीहरूलाई पवित्रतम मानिन्छ । भस्म सबै काठ वा पदार्थको बनाउन हुँदैन । भस्म बनाउँदा प्रायः दूध आउने र काँडा भएका काठलाई प्रयोग गरिँदैन । जस्तै आँक, कटहर, सिउँडी आदि । भस्ममा रहेका अदृश्य शक्तिले मनलाई असर गर्दछ । भस्म लगाएकै कारण साधुसन्न्यासीको शरीर जाडोमा चिसोबाट, गर्मीमा तातोबाट, हरेक समय रोगबाट बच्न सहयोग पुग्छ । भस्म लगाउँदा टाउको दुःख्दैन, रोग व्याधि आउन दिँदैन । शिवपुराण, लिड्डपुराण आदिका साथै उपनिषद्हरूमा भस्मको उत्पत्ति, महत्व, गरिमालगायतका पक्षहरूमा प्रशस्त वर्णन पाइन्छन् । देवताको आशीर्वाद, तन र मनको औषिध सम्झेर भस्म लगाउनुपर्छ । वैदिक र तान्त्रिक दुबै अनुष्ठानमा भस्मको महत्व छ ।

शिवलिड्ड परमात्माको स्वरूप भएकाले भस्म लगाएर मात्र पूजा, उपासना र चिन्तन गर्नु सर्वोत्तम हुन्छ । सदुपयोग गर्न जाने गाँजा र भस्म दुबै औषधिमात्र होइन् रोगप्रतिरोधात्मक शक्ति भएका औषधि हुनाले महादेवले लगाउँछन्, खान्छन् भनिएको हो । देवीदेवताले न त खान्छन्, न त पिउँछन् । ती विषयलाई कथात्मक शैलीमा वर्णन गर्दा सवैले बुझ्छन् भन्ने अर्थले कथा बनाएर वाचनमात्र गरिएको हो ।

फाल्गुन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्