३५ सय रुसी सैनिक मारिए, युक्रेनी राष्ट्रपतिले भने–म यहिँ छु, हतियार बिसाउने छैनौँ

फाइल तस्बिर।

युक्रेनमा रुसले युद्ध सुरुगरेको तीन दिन भएको छ । यो अवधिमा रुसले ठूलो क्षति बेहोर्नु परेको युक्रेनले दाबी गरेको छ ।

युद्धको क्रममा अहिलेसम्म ३५ सय भन्दा बढी रुसी सैनिक मारिएको युक्रेनको सेनाले दाबी गरेको हो ।

युक्रेनी सेनाले शनिबार सार्वजनिक गरेको वक्तव्यमा आक्रमणमा सहभागी तीन हजार पाँचसय भन्दा धेरै रुसी सैनिक मारिएको उल्लेख छ । यस्तै दुई सयजनालाई बन्धक बनाइएको पनि युक्रेनी आर्मीले बताएको छ ।

रुसका १४ वटा लडाकु विमान, ८ वटा हेलिकप्टर र १०२ वटा ट्यांक नष्ट गरिएको युक्रेनले बताएको छ । रुसले अहिलेसम्म आफ्नो तर्फ भएको हताहती र क्षतिबारे केही बताएको छैन ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा आफ्नो सेल्फी भिडियो पोस्ट गरी सेनालाई आत्मसमर्पण गर्नका लागि आदेश दिएको भन्ने गलत सूचनाको खण्डन गरेका छन् ।

उनले राजधानी किएभको सडकमा हिँड्दै गरेको भिडियो ट्वीटरमा पोस्ट गरेका हुन् । उनले यसो गरेर युक्रेनी सेनालाई रुसी सैनिक सामु आत्मसमर्पण गर्न भनिएको भन्ने खबर गलत रहेको बताउने प्रयास गरेका हुन् ।

उनले भनेका छन्, ‘अनलाइनमा धेरै गलत जानकारीहरु फैलाइएका छन् । भनिएको छ कि मैले सेनालाई हतियार बिसाउन भनेँ, म भाग्न खोजेँ । तर होइन । म यहाँ छु । हामीले हतियार बिसाउने छैनौँ । हामी हाम्रो देशको रक्षा गर्ने छौँ ।’

फाल्गुन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्