कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण: फेब्रुअरी २० देखि २६ सम्म

कोरोनाको सावधानी अझै आवश्यक

कोरोना प्यान्डेमिकको वर्तमान अर्थात् पछिल्लो लहर, ओमिक्रोन लहर, हाल विश्वभरि केही शान्त हुँदै गएको छ। एक महिनाअघि विश्वमा दैनिक संक्रमण ४० लाखसम्म पुगेकामा हाल २० लाखभन्दा कम भइसकेको छ।

तैपनि, हालको विश्वको दैनिक संक्रमण यसभन्दा पहिलाका लहरभन्दा अझै दुई गुणाभन्दा धेरै छ। विश्वको दैनिक कोरोना मृत्यु भने हाल पनि त्यति घटिसकेको अवस्था छैन। केही हप्ता अघिसम्मसाढे १२ हजार पुगेको विश्वको दैनिक मृत्यु हाल पनि ८ देखि १० हजार हाराहारीमा देखापरिरहेको छ।

ब्राजिल, रसिया, फ्रान्स, जर्मनी, जापान, कोरिया लगायत देशमा दैनिक कोरोना संक्रमण र मृत्युदर निकै उच्च छ।

दक्षिण एसियाको कुरा गर्दा करिब एक महिना अघिसम्म ३७०००० भन्दा माथि पुगेको दैनिक संक्रमण हाल २००००–३०००० मा झरिसकेको छ।

त्यस्तै, १८०० नाघेको दैनिक मृत्यु हाल ३००–५०० मा झरेको छ। हालसम्मको विश्वको जम्मा कोरोना संक्रमणमध्ये दक्षिण एसियामा करिब ११.५% भेटिएको छ भने पछिल्लो समय विश्वको दैनिक संक्रमणको २–३% मात्रै यस क्षेत्रमा देखिने गरेको छ।

त्यस्तै, हालसम्मको विश्वको जम्मा कोरोना मृत्युमध्ये दक्षिण एसियामा करिब १०.६% भेटिएको छ भने पछिल्लो समय विश्वको दैनिक मृत्युको ६–७% यस क्षेत्रमा देखिने गरेको छ।

विश्वको कुल संख्यामध्ये दक्षिण एसियाको पछिल्लो दैनिक संक्रमण अनुपातभन्दा मृत्यु अनुपात धेरै हुनु केही दुःखपूर्ण छ। पछिल्लो अवस्थामा दक्षिण एसियामा औसत दैनिक मृत्यु दर १.५% छ।

पछिल्लो औसत दैनिक कोरोना मृत्यु दर श्रीलंकामा सबैभन्दा धेरै करिब २.३% छ भने त्यसपछि क्रमशः भारतमा १.६९%, पाकिस्तानमा १.६४%, नेपालमा १.३% र बंगलादेशमा ०.६% छ। भुटान र माल्दिभ्समा मृत्यु दर निकै न्यून छ।

तर, दक्षिण एसियाभित्रै पनि कोरोना प्यान्डेमिकको स्थिति देशपिच्छे फरक देखिन्छ। दक्षिण एसियामा कोरोना संक्रमण र नियन्त्रण सबैभन्दा राम्रो देखिएको भुटानमा हाल संक्रमण निकै बढेको देखिन्छ।

त्यहाँ अघिल्लो लहरभन्दा वर्तमान लहर दसौं गुणा ठूलो भएको छ। अघिल्ला लहरमा अधिकतम ५० जति देखिएको त्यहाँको दैनिक संक्रमण हाल ५०० नाघेको छ।

त्यस्तै, कोरोना मृत्यु पनि हाल फाटफुट देखिन थालेको छ त्यहाँ। सन् २०२०को अन्त्यसम्म जम्मा एउटा कोरोना मृत्यु, त्यसपछिको डेल्टा लहरको अति घातक र ठूलो लहरको बेला एउटा र त्यसपछि अर्को एउटा मात्रै मृत्यु देखिएको भुटानमा पछिल्लो लहरमा तीन मृत्यु देखापरी त्यहाँ जम्मा मृत्यु ६ पुगेको छ।

दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी पनि त्यहाँ निकै बढेको देखिन्छ। शून्य समान रहेको संक्रमण दर हाल त्यहाँ ४.०% नाघेको छ जुन भारत, पाकिस्तान र नेपालमा भन्दा धेरै हो। स्मरण राहोस्, दैनिक कोरोना परीक्षण, कोरोना भ्याक्सिन, कोरोना नियन्त्रण आदिको हिसाबले भुटान दक्षिण एसियामा हालसम्म सबैभन्दा अब्बल छ।

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसिया पछिल्लो अवस्थामा शान्त देखिन्छ। दक्षिण एसियाको पछिल्लो १५ दिन, सन् २०२२ फेब्रुअरी ९ देखि २३, को कोरोना प्यान्डेमिकसम्बन्धी विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।

चित्र न. १ ले दक्षिण एसियाको पछिल्लो १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमण तीव्र ओरालो लागिरहेको छ जुन करिब औसतमा ४०००० भन्दा कम भएको छ। त्यस्तै, दैनिक मृत्यु पनि पछिल्लो समय केही घट्दै गई औसतमा ६०० भन्दा कम भएको छ।

 

चित्र न. २ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै गत हप्ता नेपाललगायत सबै देशमा दैनिक संक्रमण घट्दै गएको प्रवृत्ति देखिएको छ।

 

त्यस्तै, चित्र न. ३ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै गत हप्ता दक्षिण एसियाका सबै देशमा दैनिक मृत्यु पनि घट्ने क्रममा देखिन्छ। तर, जुन दरमा दक्षिण एसियामा दैनिक संक्रमण घट्दै गएको छ त्यो दरमा मृत्यु भने घटेको देखिएको छैन। तसर्थ कोरोनाको जोखिम हाल पनि कायमै देखिन्छ।

चित्र न. ४ले दक्षिण एसियाली र अन्य केही देशको पछिल्लो १५ दिनको जोन्स होप्किन्स विश्वविद्यालय र आवर वल्र्ड इन डाटाका अनुसार, साप्ताहिक औसत संक्रमण दरको प्रवृत्ति देखाएको छ।

चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका अधिकांश देशमा दैनिक संक्रमण दर स्थिर र ओरालो लागेको प्रवृत्ति देखिन्छ।

गत हप्ता माल्दिभ्सको औसत दैनिक संक्रमण दर दक्षिण एसियामा सबैभन्दा उच्च देखियो भने भारतको सबैभन्दा न्यून। अमेरिकामा र बेलायतमा पनि गत हप्ता दैनिक संक्रमण दर केही स्थिर देखियो भने जापानको संक्रमण दर हाल पनि अझै निकै उच्च देखिएको छ।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ फेब्रुअरी २० देखि २६ (वि.सं २०७८ फागुन ८ देखि १४) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न. ५मा प्रस्तुत गरिएको छ।

यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, फागुन १४ गते शनिबारसम्म, देशभरि जम्मा १४४१ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ९७६७७१ पुगेको छ। साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि २६९८ थियो।

त्यस्तै, साप्ताहिक मृत्यु संख्या गत हप्ता १७ रह्यो जुन दुई हप्ताअघि ३५ थियो। यो समेत नेपालको जम्मा कोरोना मृत्यु ११९३४ पुगेको छ। औसत मृत्यु दर गत हप्ता १.२% रह्यो जुन दुई हप्ताअघि १.३६% थियो। गत हप्ता जम्मा ३६७०३ पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि ३९०५३ थियो।

गत हप्ता देशको कुल संक्रमण संख्यामध्ये काठमाडौँ उपत्यकाको साप्ताहिक संक्रमण अनुपात ३७.३४% देखियो जुन दुई हप्ताअघि ४२.५८% थियो।

नेपालको दैनिक संक्रमण दर

प्यानडेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न. ६ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर, नयाँ संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम २.७४% देखि अधिकतम ४.७३% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ३.९९% रह्यो जुन दुई हप्ताअघि ७.०४% थियो।

नेपालमा पछिल्लो समय दैनिक संक्रमण दरमा सुधार हुने क्रम निरन्तर देखिँदै आएको छ। त्यस्तै, दैनिक मृत्युमा पनि सुधार हुँदै गएको देखिन्छ।

संक्षेपमा, पछिल्लो अवस्थामा विश्वका अधिकांश क्षेत्र र दक्षिण एसियामा कोरोना संक्रमण र मृत्यु दुवै विस्तारै घट्दै गएका छन्। यद्यपि, कुनै–कुनै देशमा कोरोना आतंक हाल पनि कायमै भएको देखिन्छ। त्यस्तै, विश्वमा दैनिक संक्रमणको तुलनामा दैनिक मृत्युमा त्यति धेरै सुधार भइसकेको देखिँदैन। यसले विश्वमा कोरोनाको जोखिम कायमै रहेको देखाउँछ।

गत हप्ता, वि.सं २०७८ फागुन ८ देखि १४, नेपालमा साप्ताहिक नयाँ कोरोना संक्रमण र संक्रमण दर निकै घटेको पाइयो। त्यस्तै, दैनिक र साप्ताहिक मृत्यु संख्यामा र मृत्यु दरमा पनि केही सुधार भएको पाइयो।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ–कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती सावित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ।

पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन। यस लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा प्रस्तुत गरिएको छ।

यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

फाल्गुन १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्