ट्राफिक प्रहरीले शिवरात्रीमा विशेष ट्राफिक व्यवस्थापन गर्ने (योजनासहित)

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ।

‘महाशिवरात्री पर्व (विशेष ट्राफिक व्यवस्थापन योजना) बमोजिमको सम्पूर्ण तयारी पूरा गरी सो अवधिभर खटिने प्रहरी अधिकृत तथा अन्य खटिने कमाण्डरहरुलाई ट्राफिक प्रहरीको भूमिका, ट्राफिक व्यवस्थापन गर्दा भक्तजन तथा दर्शनार्थीसँग गर्ने व्यवहार र पार्किङ क्षेत्रमा गर्नुपर्ने सहजीकरणका बारेमा ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले ब्रिफिङ गर्नुका साथै आवश्यक निर्देशन दिएका छन्।

पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एव दर्शनार्थीहरुको भीडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रवन्ध मिलाएको छ। धेरै टाढा-टाढाबाट भक्तजनहरु आउने हुनाले उनीहरुको सुविधाका लागि निर्वाध आवतजावतको व्यवस्था मिलाइएको महाशाखाले जनाएकाे छ।

गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ गर्ने स्थानसमेत तोकिएको महाशाखाले जनाएको छ। अन्य नियमित दिनझैं चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाध रुपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइएको तर भक्तजनहरुको भीडभाड अत्यधिक भई सवारी सञ्चालनमा समस्या हुने अवस्था देखिएमा उक्त रुटमा भक्तजनबाहेकका सवारीलाई बैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने महाशाखाका प्रमुख एसएसपी जोशीले बताए।

दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने यातायात सञ्चालन गर्न नसक्ने अवस्था आएमा मित्रपार्क-गौशाला-तिलगंगा क्षेत्रमा सवारी आवागमन निषेध गरी बैकल्पिक मार्गबाट सवारी सञ्चालनको व्यवस्था मिलाइने उनले जानकारी दिए।

विभिन्न क्षेत्रबाट आउने दर्शनार्थी एवं भक्तजनहरुका सवारीसाधनलाई सिफल चौर, गौरीघाट करिडोर, गुहेश्वरी, तिलगंगाको पार्किङ र तिलगंगा करिडोरमा पार्किङकाे व्यवस्था मिलाइएको छ।

यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयभित्र कोष तथा पासबाहक सवारीसाधन, गौशाला प्रहरी कार्यालयभित्र सुरक्षा निकाय तथा पासवाहक सरकारी सवारीसाधन र वनकाली क्षेत्रमा अन्य अत्यावश्यक प्रयोजनका सवारीसाधन पार्किङ गर्ने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ।

ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले गौशाला चोकमा भीडभाड धेरै भई सवारी चल्न सक्ने अवस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई बैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिए।

उनले तीनकुनेबाट सिनामंगल तिलगंगातर्फ, चाबहिलबाट गौशालातर्फ र बागमती करिडोरबाट गौरीघाट र तिलगंगा क्षेत्र भई चल्ने मालबाहक सवारीसाधनहरुलाई सो खण्डमा निषेध गरी डाइभर्सनको प्रबन्ध मिलाइनेसमेत बताए।

महाशिवरात्री पर्व अवधिभरको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित एवं प्रभावकारी बनाउनको लागि करिब नौ सय ट्राफिक प्रहरी परिचालन हुनेसमेत प्रहरी उपरीक्षक शर्माले जानकारी दिए।

ट्राफिक महाशाखाले पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्शनार्थीबाहेक चाबहिल, गौशाला, तिलगंगा हुँदै अन्यत्र जाने सवारीसाधनलाई वैकल्पिक मार्गको प्रयोग गर्नसमेत अनुरोध गरेको छ।

फाल्गुन १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्