शिवरात्री, सेना दिवस र आजको सन्दर्भ

आजको दिन हिन्दु धर्मावलम्बीहरु र त्यसमा पनि शिवमार्गीका लागि एउटा महत्वपूर्ण धार्मिक पर्वको रुपमा विशेष महत्वको दिन हो। कृष्ण, शिव, ब्रम्हा जे भने पनि यो अस्तित्वको चेतनागत बोध हो। आकृति, रुप र चरित्रका वर्णनहरु, प्रतिकात्मक सूचक नै हुन्। यो ब्रह्माण्ड अस्तित्वमा रहिरहने कारण चेतना र ऊर्जा शक्तिको निरन्तर विद्यमानता, क्रियाशीलता र संयुक्त प्रवाहबाट नै सम्भव भएको हो। आकाश तत्वमाथि भएझैँ पहिला चेतना, अनि उर्जा र त्यसपछि पदार्थको अस्तित्व छ। गौरीशंकर, उमामहेश्वर, राधाकृष्ण जे भने पनि त्यो चेतना अनि उर्जा शक्तिको संयुक्त बोध हो।
आजको दिन शिव वा शंकर वा शम्भुको विशेष आयोजना गर्ने र आफूभित्र रहेको चेतना तथा शिव तत्वलाई बोध गर्ने दिन हो। आजकै दिन नेपालको प्रमुख राष्ट्रिय सुरक्षा अंगको रुपमा रहेको नेपाली सेनाको सेना दिवस पनि हो। यो नेपाली सेनाको गौरवको दिन हो। नेपाली सेनाको लोगोमा डमरु र त्रिशूल छ र यो प्रतिकात्मक रुपमा शिव तत्व उर्जा शक्ति वा ब्रम्हाण्डीय चेतना तत्वको बोध हो। सेना शक्ति हो र त्यो शक्ति चेतना र ऊर्जाबाट सन्तुलित हुन्छ। त्यसैले यो संयोग मात्र नभई प्रतिकात्मक रुपमा एउटा विशिष्ट पहिचान, बोध र आत्मसातको विषय हो। यो सुझावपूर्ण छ। तर यसलाई विगतमा देश कमजोर भएको अवस्थामा बंग्याएर गलत अर्थ लगाउने र भ्रमको खेती गर्नेहरुको विगविगी नभएको पनि होइन र लेखक स्वयंले यो विषयलाई आफूले अनुभूति गरेको कुरा सार्वजनिक रुपमा केही वर्षअघि यही दिनमा व्यक्त गरेको पनि थियो।
समय हो- कुनै कालखण्ड कमजोर र वलवान हुने रहेछ। तर जे होस् सबै प्रकारका कालखण्डहरुलाई देख्दै, भोग्दै, आत्मसात गर्दै, बोध गर्दै नेपाली सेना लामो इतिहास लिएर आजका दिनसम्म देशको एउटा गरिमामय, भरपर्दो र कर्मठ संगठनका रुपमा रही नेपाल र नेपालीको सेवामा संलग्न छ र सबैका लागि एउटा गौरवको विषय पनि छ यो। आज सेना दिवसको सुअवसरमा नेपाली सेनालाई हार्दिक मंगलमय शुभकामना, बधाई ज्ञापन गर्दै यो संगठनको उच्च कार्यशैली, देशप्रतिको जिम्मेवारी बोधको गहनतम प्रतिवद्धता र समग्र विविध योगदानहरुको उच्च मूल्याङ्कन गर्दै भविष्यमा अझ दृढ र सक्षम राष्ट्रिय सेनाको रुपमा नेपालीको ह्रदयमा स्थापित हुने सामर्थ्यका लागि कामना पनि गर्दछ यो पंक्तिकार। नेपाली सेनाबारे कुरा गर्दा यो संगठनले राष्ट्र र जनताका लागि गरेका योगदान र अन्तर्राष्ट्रिय रुपमा पनि यसले पुर्याएको योगदानलाई बिर्सन हुँदैन।
देश त राजनीतिले, नेताले र पार्टीहरुले नै चलाउने हुन् र सेना सरकारकै एउटा अभिन्न अंग हो। तर हाम्रो जस्तो भूराजनीतिको प्रभाव पर्ने देशमा र अस्थिर राजनीतिले ग्रस्त बनाएको मुलुकमा बहुपक्षीय कोण र दृष्टिकोणवाट विचार पुर्याउनुपर्ने हुन्छ। आन्तरिकरुपमा भन्नुपर्दा अस्थीर राजनीति, कुशासन तथा भ्रष्टाचारको बिगबिगी, भोक, रोग र अशिक्षाका कारण गरिबीको दुष्चक र त्यसबाट सिर्जित विद्रोहका विउहरु, चरम वैदेशिक चलखेल, प्राकृतिक साधनमाथिको दोहन र दुरुपयोग अनि विनाश, नेतृत्वको खडेरी, सीमा अतिक्रमण, वातावरण असुरक्षा, फोहोर व्यवस्थापनमा कमजोरी अनि उग्र राष्ट्रियताका नारा तर व्यवहारमा राष्ट्रियताको बिचल्ली यी विकराल समस्या हुन्।
बाह्य रुपमा देख्दा अहिले विश्व अमेरिका र चीनबीचको द्वन्द्व र प्रतिस्पर्धामा छ। चीनले पनि आफ्नो रणनीतिक चाल, प्रभाव क्षेत्रको विस्तार र उग्र आर्थिक प्रभावबाट विश्व राजनीति र अर्थतन्त्रलाई आफ्नो प्रभावमा ल्याउने कोशिस गरिरहेको छ। अमेरिका–चीन प्रतिस्पर्धा र चीन भारत शितयुद्ध द्वन्द्वबाट नेपाल प्रभावित हुने नै छ। हामी राष्ट्रिय सुरक्षा र समग्र पक्ष, सुरक्षा संकल्प र कार्ययोजना अनि दृढ र एकीकृत सुरक्षा संयन्त्र र योजनाविहीन अवस्थामा नै छौँ हामी।
नेपाली सेनाले वैदेशिक कूटनीतिको एउटा महत्वपूर्ण पाटोलाई राम्ररी हेरविचार पुर्याउँदै आएको छ र शान्ति सेनामा यसको उल्लेख्य र महत्वपूर्ण योगदानलाई सबैले सराहना र मूल्याङ्कन गरेका छन्। सेनाका महत्वपूर्ण जिम्मेवारीमा बाह्य आक्रमण विरुद्द्धको तयारी, आन्तरिक सुरक्षा, पूर्वाधार तथा विकास निर्माणका कार्य, विश्व शान्ति स्थापनाको योगदान र विपत व्यवस्थापन, उद्धार कार्य र राहत कार्यको सञ्चालन नै हुन्। सेनाको विस्तारित कार्यक्षेत्रलाई हेर्दा जनशक्ति र साधन स्रोतको उपलब्धतामा टास्क बढी भएको तथा यी दुवैबीच म्याचिङ नभएको पनि अनुभव गर्न सकिन्छ। सेना आफ्नो प्रमुख कार्यबाट विचलित नहुने र त्यसलाई प्रवर्द्धन गर्ने कार्यमा अलिकति पनि कमजोरी हुन नदिने कुरामा सजग हुनुपर्छ।
नेपाली सेनाको कदरयोग्य कार्यको स्मृति र मूल्याङ्कन पनि हुनुपर्छ आजका दिनमा। यसले विश्व शान्तिमा पुर्याएको योगदान, भूकम्प र कोभिडका आपतकालीन अवस्थामा पुर्याएको योगदान, कोभिडका बेला शव व्यवस्थापन र स्वास्थ्य सेवामा पुर्याएको योगदान, सेनाको कल्याणकारी योजनामार्फत १० लाख नेपालीलाई पुगेको योगदान अनि माओवादी सेना समायोजनको कार्यमार्फत आन्तरिक द्धन्द्ध व्यवस्थापनमा गरेको योगदान, विकास निर्माण र प्रकृतिको संरक्षणमा अनवरत रुपमा गरेको योगदानलाई आज स्मरण गर्नैपर्छ र सेनालाई धन्यवाद दिँदै शुभकामना।
यसबीच यदाकदा नेपाली सेनाभित्र प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हुने र देखिने गरेको असन्तुष्टि, गुटबन्दी, प्रचार–बाजी, मिडियाकेन्द्रित वमनहरु चाहिँ घट्नेभन्दा बढ्ने क्रममा छन् कि भन्ने आभास र शंका पनि उत्पन्न भइरहेछ। स्वभाविक रुपमा नेपाली सेनामा नेतृत्व हस्तान्तरण भइरहेको प्रवृत्ति र अवस्थाले धेरै चलखेल भएका छैनन् अरु निकायजस्तो।
अदालतको हालत, प्रहरी र निजामतीतर्फका अत्याधिक राजनीतिकरणले सबै क्षेत्र र पक्ष प्रभावित भएका छन्। यस अवस्थामा नेपाली सेना धेरै हदसम्म व्यवसायिक रुपमा र संविधान तथा कानुनको मर्म र दायरामा संचालित, संगठित र परिचालित हुनु एउटा राम्रो पक्ष छ। आशा छ- यसमा विचलन नआओस्। भरोसा पनि गरौँ- त्यो कदापि हुने छैन।
अहिले संसदबाट एमसीसी अनुमोदन भएको छ। धेरै तर्क, रस्साकस्सी, चालवाजी, विरोध र आरोह तथा अवरोहका घटनाक्रम हुँदै सम्झौता तत्काल लागू हुने गरी र यो आर्थिक सहायता मात्र हो भन्दै संसदले अनुमोदन गरेको छ। यो विषय व्यापक चासो र चर्चामा पनि छ। भेलिका दिनमा यसको कार्यान्वयन, त्यसको नतिजा र प्राप्त उपलब्धिले पनि बताउला।
यो सम्झौताबारे धेरै तर्क, अड्कलबाजी र व्याख्या पनि भए। जेमा पनि राष्ट्रघात नै देख्ने दोषी आँखा र चश्माहरु,शक्ति राष्ट्रका पक्ष र विपक्षमा बाँडिएका तथाकथित विद्धान र विज्ञहरु अनि स्वार्थ र इशारामा चल्ने राजनीतिक नेताहरुको समग्र चपेटामा एमसीसी पर्यो। यसलाई नेपाली सेना जस्तो राष्ट्रप्रेमी, सार्वभौमसत्ताको रक्षक र राष्ट्रिय एकताको लागि दृढ संगठनले पनि आफ्ना अध्ययन, अनुभव, जिम्मेवारीका आधारमा मूल्याङकन गर्दै सत्य र तथ्यलाई आत्मसात गर्न र सरकारलाई यस विषयमा संविधान तथा कानुन सम्मत राय परामर्श, गर्ने सहयोग र कार्यक्षेत्रको जिम्मेवारी वहनमा अविचलित अवस्था रहनुपर्छ भन्ने मान्यता छ पंक्तिकारको। आजको दिनले अध्यात्मिक, भौतिक शक्ति, सामर्थ्य र कर्तव्यका सबै दृष्टिकोणबाट नेपाली सेनालाई सफलता मिलोस्।