कमल थापाका भतिजाले खाए राप्रपा केन्द्रीय सदस्यकाे सपथ

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको केन्द्रीय सदस्यको पद तथा गोपनीयताको सपथ लिएका छन्।

गत मंसिरमा भएको महाधिवेशनबाट सदस्यमा निर्वाचित अभिषेकले तीन महिनापछि बुधबार सपथ खाएका हुन्। तर, उनका काका तत्कालीन अध्यक्ष कमल थापाले भने राप्रपा परित्याग गरेर राप्रपा नेपालको जिम्मेवारी सम्हालेका छन्।

महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले ‘हस्तक्षेप गरेको’ र सो घटनामा अध्यक्ष लिङदेनले छलफल ‘नचलाएको’ भन्दै असन्तुष्ट कमल थापाले पार्टी परित्याग गरे पनि नयाँ पार्टीका लागि पारिवारिक सदस्यको साथ भने पाएका छैनन्।

राप्रपा नेपालमा नगई अभिषेक राप्रपामै रहेका छन्। कमलकी छोरी प्रतिष्ठा थापा रायमाझी पनि राप्रपामै छिन्। प्रतिष्ठा गत महाधिवेशनबाट राप्रपा केन्द्रीय सदस्यमा  निर्वाचित भएकी हुन्।

फाल्गुन १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्