युक्रेनमा रहेका अधिकांश नेपाली सुरक्षित स्थानमा

लन्डन – रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरु सुरक्षित स्थानमा पुगेका छन्।

रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिको अनुसार हालसम्म ५११ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगेका छन्।

समितिको बिहीबार साँझ भएको बैठकमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दोभालगायतको देशमा पुगेको जानकारी दिए।

समितिका अनुसार हालसम्म ४०३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी र ४ माल्दोभा पुगेका छन्। उद्दार गरिएकामध्ये ४ जना नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ।

युक्रेनबाट निस्केकामध्ये ४० जना नेपालीले यात्रा अनुमतिपत्र लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ।

उद्दार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा बद्री केसीले युक्रेनमा करिब ४० जनाको परिवार आफ्नो व्यवसायसहित स्थायी बसोबास गर्दै आएकाले पारिवारिक र व्यवहारिक कारणले युक्रेन छोड्न नसकेको जानकारी दिए।

उनले अप्ठ्यारोमा परेका नेपालीहरुलाई आर्थिक सहयोग समेत गराउने उद्देश्यले संघको पोल्याण्ड राष्ट्रिय समितिलाई आर्थिक संकलनको लागि अनुमति दिएको जानकारी दिए।

बैठकमा स्वास्थ्य समितिका संयोजक डा बोध सुवेदीले युक्रेनतर्फबाट अन्य देशमा आउने नेपालीको संख्या कम हुँदै गएको जानकारी दिए। उनले केही नेपालीहरु युद्धको क्रममा हराइरहेको आशंका व्यक्त गरे।

उद्धार समितिले युक्रेनबाट विस्थापित भएका नेपालीहरुको नियमित रुपमा तथ्यांक संकलन गर्दै आएको छ।

बैठकमा नेपालीहरुको उद्धारका लागि विभिन्न देशका सीमा क्षेत्रमा खटिएका सुरेन्द्र श्रेष्ठ (हंगेरी), पवन खड्का (पोल्याण्ड), सन्तोष भट्टराई (जर्मनी), चीरञ्जीवी खड्का (चेक रिपब्लिक) लगायतले सीमा क्षेत्रको स्थलगत विवरण प्रस्तुत गरेका थिए।

फाल्गुन २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्