राष्ट्रिय वाणिज्य बैंक र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागबीच सम्झौताः शोध गर्न पाँच विद्यार्थीले ४० हजारदेखि एकलाखसम्म पाउने

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागबीच एमए र एमफिल गरिरहेका विद्यार्थीहरुलाई अनुसन्धनात्मक शोधग्रन्थ लेखन कार्यका लागि सहयोग गर्ने सम्बन्धमा सम्झौता भएको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष डा बलराम पाठकको समुपस्थितिमा भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा डा शिवराज अधिकारीले हस्ताक्षर गरेका छन्।

उक्त अवसरमा बैंक सञ्चालक समितिका अध्यक्ष डा पाठकले अनुसन्धानबाट आउने प्रतिवेदनले बैंक र देशकै आर्थिक क्षेत्रलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास लिएको बताए।

बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले गर्ने लगानीका क्षेत्रहरुमा हुने जोखिम तथा सम्भावनाहरुको बारेमा यथार्थपरक ढङ्गबाट अनुसन्धान भई आगामी दिनमा बैंकलाई रणनीतिक ढङ्गबाट अगाडि बढ्न दिशानिर्देश गर्ने बताए।

उनले त्रिवि अर्थशास्त्र केन्द्रीय विभागसँगको सहकार्यमा यर्थाथपरक रुपमा लेख्न प्रेरित गर्न आर्थिक हिसाबले आवश्यक तथा जेहेन्दार विद्यार्थीहरुलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो सुविधा प्रदान गर्ने जानकारी दिए।

त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा डा अधिकारीले विभागले विभिन्न वित्तीय क्षेत्रसँग यस्तो सम्झौता गरिरेहकाले प्राप्त हुने अनुसन्धनात्मक प्रतिवेदनले देशको अर्थतन्त्रमा योगदान पुग्ने बताए। उनले विभागले माग गरी प्राप्त प्रस्तावमध्ये उत्कृष्ट पाँच प्रस्तावलाई छनोट गरी बैंकसँगको सहकार्यमा अनुसन्धान क्षेत्र तोकी शोधग्रन्थ तयार गर्ने विद्यार्थीहरुलाई सहयोग रकम उपलब्ध गराइने जानकारी दिए।

बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले पाँच जना विद्यार्थीलाई ४० हजार रुपैयाँदेखि बढीमा एकलाख रुपैयाँसम्म रकम उपलब्ध गराउने बताए।

कार्यक्रममा त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रा ताराप्रसाद भुसाल, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीे, उपकार्यकारी अधिकृत विमल डंगोल, विभागीय प्रमुख सरोज बस्नेत, कम्पनी सचिव भोलानाथ पौडेललगायत कर्मचारीको उपस्थिति थियो।

बैंकले देशभर २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ।

फाल्गुन २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्