पाँच महिनापछि सर्वोच्चमा संवैधानिक इजलास बस्ने

काठमाडौँ – पाँच महिनापछि शुक्रबार सर्वोच्च अदालतमा संवैधानिक इजलास बस्ने भएको छ। स‌ंवैधानिक इजलास पछिल्लो पटक १३ असोजमा बसेको थियो।

सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलका अनुसार शुक्रबार नयाँ दर्ता भएका मुद्दाको पेसी तोकिनेछ। हरेक बुधबार प्रक्रियामा रहेका मुद्दा हेरिनेछ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद विघटन गरेपछि उक्त विघटन मुद्दाको फैसला गरेपछि संवैधानिक इजलास बसेको छैन।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध न्यायिक क्षेत्रमा आन्दोलन चर्किएसँगै संवैधानिक इजलास रोकिएको थियो। राणा निलम्बन भएसँगै कायममुकाय प्रधानन्यायाधीशको जिम्मेवारी पाएका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले शुक्रबार संवैधानिक इजलास बस्ने तयारी गरेका छन्।

सर्वोच्चका अनुसार शुक्रबार बस्ने संवैधानिक इजलासले पूर्वप्रधानमन्त्री ओलीले ऐन संशोधन गरेर संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध परेको रिटको पेसी ताेक्नेछ। ओलीले प्रमुख प्रतिपक्षी दलका नेता, सभामुखलगायतले निरन्तर असहयोग गरेको भन्दै सर्वसम्मत निर्णय गर्नुपर्ने प्रावधान संशोधन गरेर संवैधानिक परिषद्को बहुमतको आधारमा निर्णय गर्न सकिने व्यवस्था गरेका थिए।

निलम्बित प्रधानन्यायाधीश राणासँगको भागबन्डा मिलाएर पूर्वप्रधानमन्त्री ओलीले संवैधानिक निकायहरुमा आफू पक्षीयहरुलाई धमाधम नियुक्ति दिएका थिए। भागबन्डामा आफ्नो पनि सहभागिता भएकाले राणाले त्यसविरुद्ध परेको रिटको सुनुवाइ पन्छाउँदै आएका थिए।

फागुन १ गते महाभियोग दर्ता भएपछि राणा निलम्बनमा परेका छन्। सर्वाेच्चका १० न्यायाधीशबीचको छलफलले संवैधानिक इजलास पुनः बस्ने निर्णय गरेकाे थियाे। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पहिलोपटक संवैधानिक इजलास गठन गर्ने भएका हुन्।

फाल्गुन २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्