जुम्लादेखि रारासम्मको ४९ किमी दौडको तेस्रो संस्करण चैतमा

काठमाडौँ – तेस्रो जुम्ला रारा म्याराथन हुने भएको छ। कर्णाली खेलकुद क्लबको आयोजनमा म्याराथन हुन लागेको हो। राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरी आयोजक क्लबले चैत २६ गते रारा जुम्ला म्याराथन हुने जानकारी दिएको हो।

म्याराथनमा व्यावसायिक खेलाडीका साथै पदयात्रा गर्न चाहने १६ वर्षभन्दा माथिका शारीरिक रुपमा सक्षम व्यक्ति सहभागी हुन सक्ने आयोजकले जनाएको छ। दौडिन चाहनेले ०७८ चैत २४ गते बेलुका ५ बजेसम्म दर्ता गर्नु पर्नेछ।

आयोजक क्लबका अनुसार समुद्री सतहबाट २३०० मिटर उचाइमा रहेको जुम्ला सदरमुकामबाट सुरु हुने यो म्याराथन ३३०० मिटरको उचाइमा रहेको डाँफे लेक, २५०० मिटरमा रहेको न्याउरीघाट, ४१०० मिटरमा रहेको चुच्चेमारा लेक भएर २८९० मिटर उचाइमा रहेको रारा ताल छेउमा समापन हुनेछ।

यो जुम्ला सदरमुकामबाट मुगुको रारातालसम्म पुग्ने पदमार्ग हो। जुन ४९ किमि लामो छ यो दुई दिनको पदयात्रा हो तर व्यावसायिक खेलाडीले ५ देखि ७ घण्टामा पूरा गरेको रेकर्ड छ।

जुम्ला रारा म्याराथनको यो तेस्रो संस्करण हो। यसअघि ०७५ र ०७६ सालमा भएको थियो। ०७५ सालमा भएको पहिलो संस्करणमा २९२ पुरुष तथा २४ महिला गरी ३२० जना सहभागी भएका थिए। जसमा ७० जनाले दौड पूरा गरेका थिए। पुरुषतर्फ दुर्ग बुढा विजयी भएका थिए भने महिलातर्फ सुनमाया बुढा विजयी भएकी थिइन्।

०७६ को दोस्रो संस्करणमा ३०० पुरुष र ४७ महिला गरी ३५७ जना सहभागी भएकामा ७२ जनाले दूरी पूरा गरेका थिए। पुरुषतर्फ धीरजबहादुर बुढा विजयी भएका थिए भने महिलातर्फ राममाया बुढा विजयी भएकी थिइन्।

कोभिड १९ का कारण बीचमा खेल आयोजना हुन नसकेको आयोजकले जनाएको छ। कार्यक्रममा कर्णाली खेलकुद क्लबका दौड निर्देशक नारायण उपाध्यायले विदेशमा हुने अल्ट्रा म्याराथनमा उत्कृष्ट प्रतिस्पर्धी उत्पादन गर्नका लागि प्रतियोगिता आयोजना गरेको बताए।

नारायण उपाध्याय

‘त्यति मात्र हैन जुम्ला राराका विभिन्न ठाउँका भौगोलिक सुन्दरता देखाउन र बुझाउन पनि यो म्याराथनले सहयोग गर्नेछ’, उनले थपे, ‘हामी काठमाडौंको सिंहदरबारलाई जुम्ला र राराको सुन्दरता देखाउन चाहन्छौँ।’

‘हामी सबैलाई देखाउन चाहन्छौँ कि तिन पटक एभरेष्ट म्याराथन कुदेर गिनिज बुकमा नाम लेखाएका हरिबहादुर रोकाया कस्तो ठाउँमा कुदेर नेपाललाई चिनाएका थिए’, उनले भने ।

‘गुरु हरिबहादुर रोकायाको प्रशिक्षण दिने काम निरन्तर गरिरहनुभयो द्वन्द्वका बेला पनि रोकिएन’ कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले भने, ‘मेरा दिदी, दाइहरूले उहाँसँग कुद्न सिक्नुभयो अहिले हाम्रो बालबच्चाले सिकिरहेका छन्।’

सरोज शाही

उक्त अभियानलाई अगाडि बढाएर आफ्ना बालबच्चालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउन चाहेको उनले बताए। फिल्म निर्देशक तथा कलाकार निश्चल बस्नेतले हरिबहादुर रोकायको अनुसरण गर्दै आएको बतााए।

उनले भने, ‘मलाई थाहा छ, उहाँहरूलाई यो आयोजना गर्न धेरै अप्ठेरो सामना गर्नुपरेको छ। हामी त पर्दाका हिरो हौँ, उहाँहरू साँचो मानेमा हिरो हो जसको समस्या सरकारले आफ्नो सम्झिनुपर्छ।’ कार्यक्रममा कीर्तिमानी अल्ट्रा म्याराथन तथा ओलम्पिएन हरिबहादुर रोकायले प्रशिक्षणताका जुम्लामा गरेका संघर्ष सुनाएका थिए।

निश्चल बस्नेत
हरिबहादुर रोकाया
फाल्गुन २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्