सोझ्यायो दुना आफैतिर धरम सकिगो नि
हाम्रा भागमा साह्रो बोक्रो नरम सकिगो नि।।

बैठकमा छाती ठोक्दा पसिना पुछ्यो कति
गिलासभरि बरफ हाल्दा गरम सकिगो नि।।

बाघको छाला खुइलिएर स्यालको अनुहार
विश्वास गर्नु कस्को अब परम सकिगो नि।।

सडकमा नाइँनाइँ भन्यो घरमा चाहिँ लौलौ
निल्छ अब क्वाप्प भन्ने भरम सकिगो नि।।

ओठमा ओठ मिलाउँदा मिलिभगत भन्लान्
पिठिउँ फर्की बाटो खोल्दा सरम सकिगो नि।।

फाल्गुन २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्