कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (फेब्रुअरी २७ देखि मार्च ५)

आगामी दिनमा के होला कोरोना?

विश्वमा कोरोना प्यान्डेमिक सुरु भएको करिब २ वर्ष पुगेको छ र हाल पनि यो निरन्तर अघि बढिरहेको छ। यसको प्रभाव र स्वरूप विश्वका विभिन्न ठाउँमा फरक–फरक देखिएको छ। कतै यसले विध्वंश मच्चाएको छ भने कतै केही शान्त नै देखिन्छ।

पछिल्लो अवस्थामा पनि कतै यो निकै सुषुप्त देखिन्छ भने कतै उत्पात। हालसम्म विश्वमा कोरोना संक्रमण करिब साढे ४४ करोड पुगिसकेको छ भने मृत्यु करिब साठी लाख। यो अझै निरन्तर उकालो लाग्ने क्रममा देखिन्छ यद्यपि पछिल्लो समय कोरोना संक्रमणको असर केही कम भएको हो कि जस्तो देखिन्छ। पछिल्लो समय भ्याक्सिनले पक्कै राम्रो काम गरेको हुनुपर्छ। हाल विश्वमा दैनिक १२ लाखदेखि १६ लाख नयाँ कोरोना संक्रमण र ७००० देखि १०००० नयाँ मृत्यु देखा परिरहेको छ। यी दुवै तथ्यांक विगतभन्दा हाल पनि अझै धेरै उच्च छ। विश्वको हालसम्मको समग्र कोरोना मृत्युदर करिब १.३५% छ भने पछिल्लो अवस्थामा यो दर ०.५–०.६%मा झरेको छ।

दक्षिण एसियाको कुरा गर्ने हो भने सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टरका अनुसार सन् २०२२ मार्च ३ सम्म करिब ४८३९५२७५ जम्मा संक्रमण देखा परिसकेको छ जुन विश्वको कुल संक्रमणको करिब ११% हो भने करिब ६१००४६ जम्मा मृत्यु देखिएको छ जुन विश्वको कुल मृत्युको करिब १०.५% हो। त्यस्तै, वर्तमान समयमा दक्षिण एसियामा विश्वको कुल दैनिक संक्रमणको १–१.७% देखिने गरेको छ भने विश्वको कुल दैनिक मृत्युको २.५–३.५% दक्षिण एसियामा देखिने गरेको छ।

नेपालको कुरा गर्ने हो भने सन् २०२२ मार्च ३ सम्म करिब ९७७२६९ जम्मा संक्रमण देखापरिसकेको छ जुन दक्षिण एसियाको कुल संक्रमणको करिब २.०२% र विश्वको कुल संक्रमणको करिब ०.२२% हो भने करिब ११९४४ जम्मा मृत्यु देखिएको छ जुन दक्षिण एसियाको कुल मृत्युको करिब १.९६% र विश्वको कुल मृत्युको करिब ०.२०% हो। त्यस्तै, वर्तमान समयमा नेपालमा दक्षिण एसियाको कुल दैनिक संक्रमणको ०.७१–१.२१% देखिने गरेको छ भने दक्षिण एसियाको कुल दैनिक मृत्युको ०.९०–१.५% नेपालमा देखिने गरेको छ।

तलको टेबुलमा दक्षिण एसियाली देशको जम्मा संक्रमण, जम्मा मृत्यु, वर्तमान समयको दैनिक संक्रमण र दैनिक मृत्युको दक्षिण एसियाको कुल संख्याको तुलनामा अनुपात देखाइएको छ। स्मरण राहोस्, भुटानको हालसम्मको कुल कोरोना मृत्यु र दैनिक कोरोना मृत्यु अनुपात निकै न्यून छ।

यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उद्धृृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन्। जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय डब्लुएचओ, वल्र्डमिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि। यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्र पाठकसमक्ष पुर्‍याउनु हो।
विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसिया पछिल्लो अवस्थामा शान्त देखिन्छ।

दक्षिण एसियाको पछिल्लो १५ दिन, सन् २०२२ फेब्रुअरी १६ देखि मार्च २ को कोरोना प्यान्डेमिकसम्बन्धी विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।

चित्र न. १ ले दक्षिण एसियाको पछिल्लो १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमण तीव्र ओरालो लागिरहेको छ जुन करिब औसतमा २०००० भन्दा कम भएको छ।

 

 

त्यस्तै, दैनिक मृत्यु पनि पछिल्लो समय केही घट्दै गई औसतमा ३०० भन्दा कम भएको छ। चित्र न.२ ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै गत हप्ता नेपाललगायत सबै देशमा दैनिक संक्रमण घट्दै गएको प्रवृत्ति देखिएको छ भने भुटानमा हाल दैनिक संक्रमण हालसम्मकै उच्च देखिएको छ।

 

त्यस्तै, चित्र न.३ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै गत हप्ता दक्षिण एसियाका सबै देशमा दैनिक मृत्यु पनि घट्ने क्रममा देखिन्छ।

 

चित्र न. ४ले दक्षिण एसियाली र अन्य केही देशको पछिल्लो १५ दिनको जोन्स होप्किन्स विश्वविद्यालय र आवर वल्र्ड इन डाटाका अनुसार साप्ताहिक औसत संक्रमण दरको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका अधिकांश देशमा दैनिक संक्रमण दर स्थिर र ओरालो लागेको प्रवृत्ति देखिन्छ। गत हप्ता माल्दिभ्सको औसत दैनिक संक्रमण दर दक्षिण एसियामा सबैभन्दा उच्च देखियो भने भारतको सबैभन्दा न्यून, अमेरिकामा र बेलायतमा पनि गत हप्ता दैनिक संक्रमण दर केही स्थिर देखिएको छ भने जापान र दक्षिण कोरियाको संक्रमण दर हाल पनि अझै निकै उच्च छ।

 

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ फेब्रुअरी २७ देखि मार्च ५ अर्थात् ०७८ साल फागुन १५ गतेको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न.५मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, फागुन २१ गते शनिबारसम्म, देशभरि जम्मा ६७६ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ९७७४४७ पुगेको छ।

 

साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि १४४१ थियो। त्यस्तै, साप्ताहिक मृत्यु संख्या गत हप्ता ११ रह्यो जुन दुई हप्ताअघि १७ थियो। योसमेत नेपालको जम्मा कोरोना मृत्यु ११९४५ पुगेको छ।

औसत मृत्यु दर गत हप्ता १.६७% रह्यो जुन दुई हप्ताअघि १.२% थियो। गत हप्ता जम्मा ३३०३५ पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि ३६७०३ थियो।

गत हप्ता देशको कुल संक्रमण संख्यामध्ये काठमाडौँ उपत्यकाको साप्ताहिक संक्रमण अनुपात ३३.८९% देखियो जुन दुई हप्ताअघि ३७.३४% थियो।

नेपालको दैनिक संक्रमण दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न.६ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर, नयाँ संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम १.४५% देखि अधिकतम २.८६% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर २.२% रह्यो जुन दुई हप्ताअघि ३.९९% थियो। नेपालमा पछिल्लो समय दैनिक संक्रमण दरमा सुधार हुने क्रम निरन्तर देखिँदै आएको छ।

 

त्यस्तै, दैनिक मृत्युमा पनि सुधार हुँदै गएको देखिन्छ। संक्षेपमा, पछिल्लो अवस्थामा विश्वका अधिकांश क्षेत्र र दक्षिण एसियामा कोरोना संक्रमण र मृत्यु दुवै विस्तारै घट्दै गएका छन्। यद्यपि, कुनै कुनै देशमा कोरोना आतंक हाल पनि कायमै भएको देखिन्छ। त्यस्तै, विश्वमा दैनिक संक्रमणको तुलनामा दैनिक मृत्युमा हाल पनि त्यति धेरै सुधार भइसकेको देखिँदैन। यसले विश्वमा कोरोनाको जोखिम कायमै रहेको देखाउँछ।

गत हप्ता, ०७८ फागुन १५ देखि २१, नेपालमा साप्ताहिक नयाँ कोरोना संक्रमण र संक्रमण दर निकै घटेको पाइयो। त्यस्तै, दैनिक र साप्ताहिक मृत्यु संख्यामा केही सुधार देखिए पनि साप्ताहिक मृत्यु दर केही बढेको छ।

प्यान्डेमिक कालमा कोरोना संक्रमण कहाँ, कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ।

तसर्थ, कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती सावित हुन सक्छ। तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।

यस लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ। यसमा नेपालर विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा प्रस्तुत गरिएको छ। प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक विरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

फाल्गुन २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्