स्पर्श नेपाल सुधार केन्द्रबाट भागे चार दुर्व्यसनीः दुई नियन्त्रणमा, दुई फरार

सांकेतिक तस्बिर

मोरङ – विराटनगरस्थित स्पर्श नेपाल सुधार केन्द्रबाट ४ जना दुर्व्यसनी फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार सुधार केन्द्रबाट लागूपदार्थका ४ जना दुर्व्यसनी भागेका हुन्। भागेका चारमध्ये २ जना केही समयपछि फेला परेका थिए।

प्रहरीका अनुसार विराटनगरका दिनेश बस्नेत र धरानका निशान धमला फेला परे पनि अन्य दुई जना फरार छन्।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार धरानका दिलेन्द्र परियार र विराटनगरका रोहित कामत फरार छन्। प्रहरीका अनुसार करिब महिनाअघि दुव्र्यसनीलाई उनीहरुको परिवारले सुधारका लागि केन्द्रमा राखेका थिए।

उनीहरु केन्द्रको मूल प्रवेशद्वारबाटै भागेको प्रहरीले बताएको छ। सिंघिया खोलामा हामफालेर भागेका दुईजना नियन्त्रणमा आएको प्रहरीले बताएको छ।

घटनाबारे खबर पाएसँगै घरपरिवार र आफन्त केन्द्र पुगेका छन्। उनीहरुले केन्द्रको लापरबाहीले घटना भएको गुनासो गरेका छन्।

फरार परियारको परिवारले तीन महिनामा सुधार गर्ने कोर्षका लागि केन्द्रलाई ६० हजार रुपैयाँ बुझाएको बताएका छन्। दुर्व्यसनबाट सुधार्ने प्रतिबद्धता दिएको केन्द्रले फरारलाई सकुशल फिर्ता गर्नुपर्ने उनीहरुको माग छ।

सुधार केन्द्रमा भागेकासहित गरी १८ जना दुर्व्यसनीलाई राखिएको थियो। सुधार केन्द्रका अध्यक्ष सञ्जीव खड्काले घटनाको वास्तविकता बुझेर जानकारी दिने बताए।

फाल्गुन २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्