अमेरिकासँग संवाद गर्न साउदी अरेबिया र युएईले किन गरे अस्वीकार?

अमेरिकी राष्ट्रपति जो बाइडेन । तस्बिर : रोयटर्स

दुई ठूला तेल उत्पादक खाडी देश साउदी अरेबिया र संयुक्त अबर इमिरेट्स (युएई) का नेताले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग छलफल गर्न अस्वीकार गरेको दाबी गरिएको छ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले साउदी अरेबिया र युएईका नेतासँग बाइडेनको टेलिफोन वार्ताको प्रयास गरे पनि सफल हुन नसकेको द वाल स्ट्रिट जर्नलमा प्रकाशित खबरमा उल्लेख छ।

युक्रेनमा भइरहेको रुसको आक्रमणको विरोध तथा युक्रेनको पक्षमा अन्तर्राष्ट्रिय समर्थन बिस्तार गर्ने तथा तीव्र गतिमा बढ्दै गएको तेल मूल्य नियन्त्रणमा लिने प्रयासमा अमेरिका रहेको छ। सोही प्रयासस्वरुप बाइडेनले दुई ठूला तेल उत्पादक साउदी अरेबिया र युएईसँग छलफल गर्न चाहिरहेका हुन्।

साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान र युएईका शेख मोहम्मद बिन जायद अल–नाह्यानले पछिल्लो हप्तामा ह्वाइट हाउसले राष्ट्रपति बाइडेनसँग संवादका लागि गरेको आग्रह स्वीकार नगरेको मध्यपूर्व र अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जर्नलले खबर छापेको हो ।

साउदी अरेबियाले यमनमा जारी गृहयुद्धमा अमेरिकाबाट थप सहयोग चाहन्छ। यस्तै परमाणु कार्यक्रमका लागि सहयोग र अमेरिकामा क्राउन प्रिन्स (युवराज) सलमानलाई कानुनी प्रतिरक्षाको माग साउदी अरेबियाले गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले जनाएको छ।

अमेरिकामा साउदी युवराज सलमानविरुद्ध वासिङ्टन पोस्टका स्तम्भकार जमाल खाशोग्गीको सन् २०१८ मा भएको हत्यासहितका घटनामा मुद्दा चलिरहेको छ।

चुनावी अभियानको क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले साउदी अरेबियामा मानव अधिकारको उच्च उल्लंघन भएको र त्यसको मूल्य चुकाउनु पर्ने बताएका थिए।

यस्तै युएईले पनि यमन युद्धलाई लिएर आफ्नो चासो देखाउँदै आएको छ। इरानको साथ पाएका हुथी विद्रोहीबाट हुने मिसाइल आक्रमणको प्रतिरक्षाका लागि अमेरिकी सहयोगलाई लिएर युएई विश्वस्त हुन नसकेको अवस्था छ। पहिले त्यसको विश्वास दिलाउनु पर्ने अनि मात्रै थप कुरा अघि बढ्न सक्ने युएईको भनाइ छ।

अमेरिकाले रुसबाट आयात हुने इन्धनमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। त्यसको विकल्पका रुपमा साउदी अरेबिया र युएईलाई लिइएको भए पनि राजनीतिक–कूटनीतिक सम्बन्धको जटिलताले संकट टर्ने सम्भावना कम देखिएको छ।

फाल्गुन २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्