विश्व मृगौला दिवस

बढ्दै मृगौलाको रोग, उपचारमा डायलाइसिसको भर

दाङ – लमही निवासी वेदा आचार्यलाई सुगर र प्रेसरले च्याप्दै लग्यो। एक्कासी बिरामी परेपछि घोराही अस्पताल पुर्‍याइयो। त्यहाँ उपचार हुन सकेन। त्यही साँझ नेपालगञ्ज पुर्‍याइयो। भनेजस्तो स्वास्थ्य लाभ नभएपछि काठमाडौँ लगियो। काठमाडौँमा मृगौला बिग्रिएको पत्ता लाग्यो। मृगौला जोगाउन डायलाइसिस गरियो।

लमहीमा डायलाइसिस सेन्टर खुल्यो। काठमाडौँपछि लमहीमा डायलाइसिस गर्न थालियो। विगत दुई वर्षदेखि आचार्यको डायलाइसिस चलिरहेको छ।

वैदेशिक रोजगारीमा गएका २६ वर्षीय युवकले त्यहाँ कडा मेहनत गर्नुपर्‍यो। प्रशस्त पसिना बग्ने तर, पानी ज्यादै कम पिउने अवस्था बन्यो। जसले मृगौलामा असर पर्‍यो। बिरामी परेपछि कम्पनीले कामबाट निकालिदियो। घर फर्किनुपर्‍यो। विगत एक वर्षदेखि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलाइसिस भइरहेको छ।

जिल्लामा करिब ११० जनाले नियमित डायलाइसिस गराउँदै आएका छन्। जसमा १४ वर्ष माथिका व्यक्ति छन्। पछिल्लो समय मृगौलासम्बन्धी स्वास्थ्य समस्या सबै उमेर समूहमा देखिएको छ।

जिल्लामा मृगौलाका बिरामीको संख्या बढ्दै गएको छ । पाँच वर्षअघि जिल्लामा मृगौलाको डायलाइसिस सेवा थिएन। बिरामीहरु बुटवल अथवा काठमाडौँमा डायलाइसिस गराउन बाध्य थिए। पहिले मृगौला फेल हुने बिरामी कम थिए। जिल्लामा डायलाइसिस सेवा सुरु गर्न आवश्यक देखिएको थिएन। बिरामीको संख्या बढेपछि सेवा पनि थपिएको छ। बिरामीको संख्या बढ्दा डाइलासिस गराउन पालो नपाउने अवस्था आयो।

डायलाइसिसको भर

मृगौलाको मुख्य काम रगत छान्ने हो। स्वस्थ व्यक्तिका दुवै मृगौलाले संयुक्त रुपमा प्रतिमिनेट १०० देखि १३० मिलिलिटरसम्म रगत छान्ने काम गर्ने चिकित्सकहरु बताउँछन्। साथै पिसाबमार्फत अनावश्यक तथा दूषित तरल पदार्थ शरीरबाट निस्कासन गर्ने काम मृगौलाले गर्छ।

त्यही रगत छान्न महत्वपूर्ण भूमिका निभाउने मृगौला बिग्रिएपछि शरीरमा थुप्रिने फोहरलाई बाहिर निस्कासन गर्न डायलाइसिस गर्नुपर्ने हुन्छ। मृगौला प्रत्यारोण त्यति सहज र सबैको पहुँचमा छैन। जसले गर्दा धेरै बिरामीले डायलाइसिसमात्रै गरिरहने गरेको चिकित्सकहरु बताउँछन्।

दाङमा तीन स्थानमा निःशुल्क डायलाइसिसको व्यवस्था छ। लमही सामुदायिक डायलाइसिस सेन्टर, घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा उपलब्ध छ। लमहीमा बिरामीको चाप बढी छ। मासिक ७० देखि ८० जनाको डायलाइसिस हुने सेन्टरले जनाएको छ। घोराहीमा १६ जना र तुलसीपुरमा २३ जनाले डायलाइसिस गर्दै आएका छन्।

‘दुई सिफ्टमा डायलाइसिस गर्दै आएका छौं’, सेन्टरका डा अब्दुस सवुद खाँले भने, ‘घोराहीमा डायलाइसिस सुरु भएको तीन वर्ष नाघेको छ।’
तुलसीपुरमा सुरु भएको दुई वर्ष पुगेको छ। लमहीमा पनि डायलाइसिस सुरु भएको दुई वर्ष पूरा भएको छ। रोटरी क्लव अफ सेन्ट्रल बुटवल र रोटरी क्लव अफ लमहीको सहयोगमा गौतम बुद्ध सामुदायिक स्वास्थ्य संस्था बुटवलले लमहीमा सामुदायिक डायलाइसिस सेन्टर स्थापना गरेको हो।

नेफ्रोलोजिस्टको दरबन्दी नै छैन

मृगौलाको उपचार मृगौलाका विशेषज्ञ चिकित्सक नेफ्रोलोजिष्टले गर्छ। तर दाङमा एकजना पनि नेफ्रोलोजिस्ट छैनन्। फिजिसियन र मेडिकल अधिकृतले थप तालिम लिएको आधारमा उपचार सेवा दिँदै आएका छन्।

राप्ती प्रादेशिक अस्पतालमा नेफ्रोलोजिस्टको दरबन्दी नै छैन। फिजिसियनले नै उपचार गर्दै आएका छन्। ‘हामी कहाँ डायलाइसिस सेवा छ। तर, मृगौलाको सबै जाँच गर्ने अधिकार प्राप्त नेफ्रोलोजिस्टको दरबन्दी छैन’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंगले भने, ‘दरबन्दी भयो भने चिकित्सकको व्यवस्था गर्न सहज हुने थियो।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि नेफ्रोलोजिस्ट छैनन्। फिजिसियन डाक्टरले नै सेवा दिँदै आएको प्रतिष्ठानका डा प्रज्ञा बस्नेतले जानकारी दिइन्। ‘नेफ्रोलोजिस्ट नै चाहिन्छ भन्ने छैन। फिजिसियन डाक्टर हुनुहुन्छ। उहाँहरुले तालिम लिनुभएको छ’, उनले भनिन्, ‘७ वटा डायलाइसिस मेसिन छ। पाँच वटामात्रै चलेका छन्।’

चिकित्सकहरु मृगौला फेल भएका बिरामीहरुले सकेसम्म छिटो मृगौला प्रत्यारोपण गर्नुपर्नेमा जोड दिन्छन्। उनीहरुका अनुसार डायलासिस मृगौला रोगको अन्तिम उपचार होइन।

रगतको अभाव झेल्दै

विश्व मृगौला दिवसको पूर्वसन्ध्यामा लमहीमा रक्तदान कार्यक्रम राखियो। मृगौलाको डायलाइसिस गराउँदै आएका बिरामीलाई रगत अभाव हुने गरेपछि रगत संकलन गर्ने उद्देश्यले रक्तदान कार्यक्रम राखिएको हो। महिनामा कम्तिमा एक सय प्वाइन्ट रगत आवश्यक पर्छ। तर, रगत संकलन कम हुने भएकाले रगत अभाव छ।

रोटरी क्लव लमही र सामुदायिक डायलाइसिस सेन्टर लमहीको संयुक्त आयोजनामा रक्तदान गरिएको रोटरी क्लव अफ लमहीका अध्यक्ष बसन्त भण्डारीले जानकारी दिए। रक्तसञ्चार केन्द्र घोराही र लमहीको सहकार्यमा रगत संकलन गरिएको हो। ६७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक लोकमान रिजालले बताए। रगत अभाव हुन नदिने उद्देश्यले रक्तदान कार्यक्रम राखिएको थियो।

नियमित मृगौला जाँचौं

मृगौला स्वस्थ राख्न प्रशस्त मात्रामा पानी पिउनुपर्ने सल्लाह चिकित्सकको छ।

‘दैनिक ४ लिटरभन्दा बढी पानी पिउने मानिसमा मृगौलाको रोग लाग्ने सम्भावना न्यून हुन्छ। पानीले शरीरमा भएको खराब तत्वलाई पिसाबको माध्यमबाट बाहिर निकाल्छ’, लमही सामुदायिक डायलाइसिस सेन्टरका डा सवुद खाँले भने, ‘मृगौला स्वस्थ्य राख्न सही आहार खानु जरुरी हुन्छ। खानामा चिनी तथा नूनको मात्रा बढी हुनु हुँदैन।’
नून वा चिनीको बढी प्रयोगले मृगौलाको कार्यक्षमतामा ह्रास आउने उनी बताउँछन्।

आजकल अधिकांश मानिसले आफूखुसी औषधि किनेर खाने गर्दछन्। आफूखुसी औषधि खाँदा वा आवश्यकभन्दा बढी औषधि सेवन गर्दा पनि मृगौलामा असर गर्ने चिकित्सकहरु बताउँछन्।

‘मृगौलाको अवस्था थाहा पाउन वर्षमा कम्तिमा दुई पटक अनिवार्य जाँच गरौं’, डा खाँले भने, ‘यसले मृगौला बिग्रे नबिग्रेको थाहा पाउन सकिन्छ।’

फाल्गुन २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्