युक्रेन युद्ध : विदेशमन्त्री स्तरीय वार्ता विफल

हामीले रुस सामु आत्मसमर्पण गरेका छैनौँ र गर्ने छैनौँ : युक्रेनी विदेशमन्त्री

टर्कीका विदेशमन्त्रीका साथमा युक्रेनी विदेशमन्त्री डिमित्रो कुलेबा (बायाँ) । तस्बिर : गेट्टी इमेज

रुस र युक्रेनका विदेशमन्त्रीबीचको पहिलो चरणको वार्ता विफल भएको छ । टर्कीमा भएको वार्तामा युद्धविरामका लागि कुनै पनि प्रगति नभएको युक्रेनले जनाएको हो ।

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले गरेको माग आत्मसमर्पण सरह रहेको युक्रेनका विदेशमन्त्री डिमित्रो कुलेबाले बताएका छन् । यता लाभरोभले भने आफ्नो देशको सैन्य अभियान (युक्रेनमाथिको आक्रमण) योजना अनुसार नै गएको दाबी गरेका छन् ।

युक्रेनी विदेशमन्त्री कुलेबाले भनेका छन्, ‘म फेरि दोहो¥याएर भन्न चाहन्छु, युक्रेनले आत्मसमर्पण गरेको थिएन, गरेको छैन र गर्ने छैन ।’ तर वार्ता निरन्तर गर्नका लागि भने आफूहरु तयार रहेको उनले बताए ।

युक्रेनी विदेशमन्त्रीसँगको वार्तामा रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ (दायाँ) । तस्बिर : रोयटर्स

रुसी विदेशमन्त्री लाभरोभले भने युक्रेन निशस्त्र हुनु पर्ने र टतस्थ अवस्था स्वीकार गर्नु पर्ने बताए । युक्रेनको जवाफको पर्खाईमा रुस रहेको उनले बताएका छन् ।

पश्चिमा देशले युक्रेनलाई हतियार आपूर्ति गरेर युद्धलाई बढावा दिएको आरोप पनि उनले लगाए । पश्चिमा देशले लगाएको प्रतिबन्धको सामना गरेर थप बलियो भइ रुस निस्कने पनि उनले बताएका छन् । जीवनको कुनै पनि पक्षमा पश्चिमा देशसँग निर्भर नहुने बनेर उदाउने उनले दाबी गरे ।

रुसले मारिपोलमा रहेको बाल अस्पतालमा बम आक्रमण गरेपछिको पृष्ठभूमिमा वार्ता भएको हो । युक्रेनले अस्पतालमाथि भएको आक्रमणलाई युद्ध अपराध भनेको छ ।

सो आक्रमणमा एक बालकसहित तीनजनाको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

फाल्गुन २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्