हात्तीपाइले रोगविरुद्धको औषधि सेवन सुरु

नेपालगञ्ज – बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन सुरु गरिएको छ।

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहका अनुसार शनिबारदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन सुरु गरिएको हो ।

बाँकेमा यो १२ औँ चरणको औषधि सेवन हो । यसपाली बाँकेमा तीन थरीको औषधि खुवाइएको छ । अल्बेन्डाजोल, डिइसीसँगै आइभरमेक्टिन नामक औषधि खुवाइएको छ । अहिले उचाईका आधारमा औषधि खुवाइएको छ ।

हात्तीपाइले औषधि सेवन सुरु गर्नु अघि बाँकेमा २०.८ प्रतिशत रोगी थिए । ११ वर्ष औषधि खुवाउदा जिल्लामा ५.५ प्रतिशत बिरामी छन् । लगातार औषधि खुवाउँदा पनि असफल भएपछि यसपाली औषधि थपिएको छ ।

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख शाहले यसपाली स्वास्थ्यकर्मीको अगाडि नै औषधि खुवाइने बताए । औषधि निलेपछि मात्रै रजिष्टरमा इन्ट्री गर्ने रणनीति अपनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि, जिल्ला प्रशासन कार्यालयबाट औषधि सेवन सुरु गरिएको छ ।

शनिबारदेखि १० जिल्लामा अभियान सुरु गरिएको छ । दश जिल्लामध्ये पाँच जिल्लामा तीन थरी र पाँच जिल्लामा दुई थरी नै औषधि खुवाइएको छ ।

फाल्गुन २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्