अल्मुताइरी गोल्ड कपको फाइनल हेर्न झापा पुग्ने

झापा – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी झापा गोल्ड कपमा आउने भएका छन्।

अलमुताइरी फाइनल खेलका दिन फागुन ३० गते डोमालाल राजवंशी रंगशालामा उपस्थित हुने पक्का भएको हो। उनले झापा आउनेबारे आफ्नो फेसबुक स्टाटसमा समेत उल्लेख गरेका छन्।

प्रतियोगितालाई थप उत्साह प्रदान गर्न उनलाई झापा बोलाइएको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए। उनी खेल अवधिभर मैदानमा रहनेछन्।

कुवेतका प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपालले पहिलोपटक साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलेको थियो।

एएफसी कोचिङ इन्स्ट्रक्टरसमेत रहेका अब्दुल्लाह नेपाली टिमका हालसम्मका सफल प्रशिक्षक हुन्। उनले नेपाललाई थ्री नेसन्स कपको उपाधिसमेत दिलाएका थिए।

कतार फुटबल एसोसियसनको सहयोगमा अब्दुल्लाह गत चैत ६ गते नेपाल आएका थिए। कुवेती प्रशिक्षक अब्दुल्लाह अनुभवी प्रशिक्षक हुन्। उनले कतारको अल शाहनी फुटबल क्लब यु–२३ र किर्गिस्तान यु–१७ टिमसँग काम गरिसकेका छन्।

फाल्गुन २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्