ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच सम्झौता

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीएफसी फाइनान्सबीच फाइनान्सका ग्राहकहरुलाई आवश्यक पर्ने गैरकोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव महाप्रबन्धक कल्याणविक्रम पाण्डे र आईसीएफसी फाइनान्सको तर्फबाट नायब महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार आईसीएफसी फाइनान्सका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यक पर्ने गैरकोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा फाइनान्सको सिफारिसमा ग्लोबल आइएमई बैंकमार्फत उपभोग गर्न सक्नेछन्।

साथै दुवै संस्थाको सहमतिमा दुई संस्थाबीच निक्षेप संकलन, रेमिट्यान्स, अन्तरबैंक कारोबार, निर्देशित लगानी, कन्सोर्टियम फाइनानसिङ र एफएक्स म्यानेजमेन्टलगायतका सेवाहरुमा सहकार्य हुनेछ। यो सम्झौता हस्ताक्षर भएको मितिबाट लागू हुनेछ।

ग्लोबल आइएमई बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी राष्ट्रियस्तरको ग वर्गको वित्तीय संस्था आईसीएफसी फाइनान्सले मुलुकभर २० शाखा, १८ एटीएम र १ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ।

फाल्गुन २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्