प्रकाश सपूतको गीतबारे के भन्छन् हिजोको माओवादी‍‍‍ थेवा? (भिडियो)

हिजोको माओवादी आन्दोलनलाई यो गीतले न्याय गर्न सकेको छैन। माओवादी नेतृत्वमाथि केही प्रश्न उठाएको छ, आमअसन्तुष्टि देखाएको छ, जुन जायज छन्। तर, ती असन्तुष्टि र प्रश्न कुन प्रकारले प्रस्तुत गरिएको छ, त्यो प्रमुख सवाल हो।

पहिलाका माओवादी र अहिले नेकपा विप्लवतिर लागेका मुक्तान थेवालाई लाग्छ माओवादी आन्दोलनका सपनालाई बीच बाटोमै छोडिएको छ। अलपत्र पारिएको छ। आमनागरिक र युद्ध लडेकामाथि गद्दारी भएको छ। धोका भएको छ, जसमा केही माओवादी आन्दोलनका नेता गलत होलान्। यो सत्य हो। यसमा प्रश्न उठाउन पाइन्छ।

तर, उनी भन्छन्, ‘प्रकाश सपुतको गीतमा केही गम्भीर त्रुटि छन्। भिडियोमा देखाइएको पूर्वमाओवादी छापामार लडाकुलाई एक यौनकर्मी रूपमा देखाउनु पाच्य छैन।’

युद्ध लडेको एक योद्धा जसले त्याग गरेको छ। बलिदान दिएको छ। तर, त्यही पात्रलाई आम प्रवृत्तिजस्तै सामान्य रुपमा लिएर देखाउनु उनी गलत मान्छन्।

थेवालाई लाग्छ, ‘आजको बजारमा कस्तो भिडियो चल्छ भन्ने हेक्का प्रकाश सपुतलाई छ। त्यसैले उनले पूर्वछापामार लडाकुलाई त्यो चरित्रमा देखाए।’

उनी भन्छन्, ‘घाइते लडाकु जो गिट्टी कुट्ने, बालुवा चाल्ने, ठेलामा व्यापार गर्नेजस्ता काममा छन् उनीहरूजस्ता प्रतिनिधिपात्रलाई सपुतले भिडियोमा देखाउन सक्थे।’

गीतले माओवादी नेतृत्वमा हलचल ल्याएको छ। सत्तामा रहेका माओवादी केन्द्रका नेताले प्रकाश सपुतले माफी मागेर गीत हटाउनुपर्ने बताइरहेका छन्। जनयुद्ध लडेर माओवादी केन्द्रको भ्रातृ संगठनको नेतृत्वमा पुगेकी पञ्चा सिंहले पनि गीत हटाउनुपर्ने बताएकी छन्।

यो कुरा थेवालाई मन परेको छैन। थेवा भन्छन्, ‘समग्रमा कुनै पनि सिर्जना गलत हुँदैन तर सार गलत हुन्छ। जुन यो गीतमा देखिएको छ,’ उनी थप्छन्, ‘यो गीत हटाउनुपर्छ त म भन्दिनँ तर प्रकाश सपुतले सच्याउनुपर्छ। गल्ती स्वीकार्नु पर्छ। र, त्यो दृश्य हटाउनुपर्छ।’

हिजोका दिनमा कमान्डर रहेकाहरूले आफ्ना सिपाहीलाई कसरी धोका दिए भन्ने विषय जायज छ तर एक योद्धालाई बनाइएको विम्ब नाजायज लाग्छ उनलाई।

थेवा आफैमा तत्कालीन माओवादीका साँस्कृतिक मोर्चाका योद्धा हुन्। मकवानपुरमा ८ कक्षामा पढ्दै गर्दा ०५६ सालतिर उनी माओवादीमा होमिए। उनले लामो समय जेलजीवन पनि बिताए। छापामार लडाकुसँगै विभिन्न साँस्कृतिक कार्यक्रममा गए।

उनीहरूको गीतमा भोगेका कुरा हुन्थे। दमनका कुरा हुन्थे। उत्पीडनका कुरा हुन्थे। प्रतिरोधका कुरा हुन्थे। माओवादीसँग साँस्कृतिक योद्धा हुन्थे, जसले गीतको माध्यमबाट आम नागरिकसम्म उनीहरू यी कुरा पुर्‍याउँथे। थेवाको सक्रियता ०६४ सालपछि बढ्यो। उनी कविता लेख्छन्।

उनी भन्छन्, ‘माओवादी अहिले माओवादी छैन। फुटेर धेरै टुक्रा भएको छ।’ उनी विप्लवको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघको केन्द्रीय सदस्य र अखिल नेपाल लेखक संघको सचिव छन्।

कलालाई नजिकबाट चिनेका उनी भन्छन्, ‘अहिलेको माओवादी नेतृत्व गीतबाट डराएको छ। उनीहरूको डर लडाकुलाई यौनकर्मी देखायो भनेर मात्र छैन, समग्र भिडियोमाथि नै छ। उनीहरूले त्यो गल्ती गरेका छन्, त्यसैले डराएका छन्। उनीहरूले माओवादीका विचार बीचैमा छाडे। आन्दोलन छाडे। र, त्यो आन्दोलनमा लागेका योद्धालाई बिर्सिए। त्यसैले उनीहरूलाई यो गीत बिझाएको छ।’

चार दिनअघि सामाजिक सञ्जाल युट्युबमा राखेको प्रकाश सपुतको गीत ‘पीर’ले सामाजिक क्रान्तिका लागि जनयुद्ध लडेको माओवादी र त्यसका योद्धामाथि बहस छेडेको छ। यो भिडियो ४३ लाखभन्दा धेरै पटक हेरिएको छ।

सामाजिक सञ्जालमा गीतको पक्ष र विपक्षमा विचार भेटिन्छन्। माओवादीको मुल जरो प्रचण्डको माओवादी केन्द्रमा रहेका नेताबाहेक धेरैले घुमाउरो पारामा यो गीतले उठाएको धेरै विषयमा समर्थन गरेका छन्।

जनयुद्धमा गीतका माध्यमबाट क्रान्तिको गाथा गाउने, तत्कालीन नेतृत्वमाथि बर्सिने र आमनागरिकलाई आन्दोलनमा होमिन उक्साउने माओवादी अहिले त्यही माध्यमबाट आफूहरूमाथि औँला उठ्दा तर्सिएको छ।

भिडियाे: रविन आचार्य

फाल्गुन ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्