मुल्यवृद्धि नियन्त्रण गर्न सरकारले कर कटौती गर्नुपर्छः उद्योग संगठन मोरङ

मोरङ– बढ्दो मुल्यवृद्धिबाट उपभोक्तालाई राहत दिन सरकारले तत्कालका लागि कर कटौतीमा ध्यान दिनुपर्ने सुझाव उद्योग संगठन मोरङले दिएको छ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयेशराज प्याकुरेलले अन्तर्राष्ट्रिय अभ्यासमा समेत बजारमा वस्तुको मुल्यवृद्धि हुँदा कच्चा पदार्थलगायतको उत्पादनको क्रममा प्रयोग हुने वस्तुमा लगाउँदै आएको करमा कटौती गर्ने प्रचलन रहेको बताए।

युक्रेन र रुसको युद्ध, पेट्रोलियम पदार्थमा मुल्यवृद्धि, डलरको विनियम दरका कारण खाने तेल, खाद्य सामाग्री, निर्माण सामाग्रीको मुल्य दैनिक बढ्दै गएको हुँदा सरकारले करमा कटौती गरेर मुल्य नियन्त्रणलाई तत्काल सहजीकरण गर्नसक्ने अध्यक्ष प्याकुरेलले बताए। पछिल्लो समय बदलिँदो परिस्थितिमा सरकारले स्थिति सहज नहुञ्जेलसम्मका लागि यही अभ्यास कार्यान्वयन गर्न सके उपभोक्तालाई राहत मिल्न सक्ने उनको भनाइ छ।

संगठनका अनुसार खाने तेल उत्पादन गर्ने उद्योगहरुको मुख्य कच्चा पदार्थका रुपमा रहेको क्रुड सोयावीन तेल, क्रुड सन्फलावर तेल, क्रुड पाम आयल र तोरीको दानामा अन्तर्राष्ट्रिय बजारमा मुल्यबृद्धि भएको छ।

ब्राजिल, अर्जेन्टिना, क्यानाडा, अष्ट्रेलिया, युक्रेनलगायतका राष्ट्रबाट आयात हुने यी सामाग्रीमा पछिल्लो समय प्रतिमेट्रिक टन ६ सय डलर बृद्धि भएको संगठनले जनाएको छ।

सन् २०२२ को जनवरीमा १ हजार ५ सय २५ अमेरिकी डलर प्रतिमेट्रिकटनमा आयात भइरहेको सामाग्री हाल प्रतिमेट्रिक टन २ हजार १ सय २५ अमेरिकी डलरसम्म पुगेको अध्यक्ष प्याकुरेलले बताए।

त्यसैगरि, कच्चा इन्धनको बढ्दो मुल्यवृद्धिले तेस्रो मुलुकदेखि उद्योग परिसरसम्मको ढुवानी भाडा र बढ्दो बैंक व्याज दरले उद्योगको वस्तु उत्पादन लागत निरन्तर वृद्धि भइरहेको संगठनको भनाइ छ। संगठनका अनुसार हरेक क्षेत्रमा देखिएको मुल्यवृद्धिसँगै स्वदेशी उद्योगीलाई बढ्दो महँङ्गीको मुख्य कारकका रुपमा हेर्न नमिल्ने संगठनले जनाएको छ।

फाल्गुन ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्