बढ्दो व्याजदरविरुद्ध विराटनगरमा राष्ट्र बैंकअघि उद्योगी–व्यापारीले गरे प्रदर्शन

मोरङ – बढ्दो ब्याजदरविरुद्ध विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडि उद्योगी व्यापारीले प्रदर्शन गरेकाछन्।

मोरङ व्यापार संघको नेतृत्वमा मंगलबार उद्योगी व्यापारी बैंकमा ज्ञापन पत्र बुझाउन पुगेका थिए। तर, बैंकका कर्मचारीले सुरुमा ज्ञापन पत्र बुझ्न आनाकानी गरेपछि व्यापारीसहितको टोली बैंकको गेटमा धर्ना बसेको हो ।

संघका अध्यक्ष नवीन रिजालले उद्योग क्षेत्रमा एकल अंकको व्याजदर काम गर्नुपर्ने सुझावसहित ज्ञापन पत्र बुझाउन जाँदा दुर्व्यवहार गरिएको बताए ।

बैंक परिसरमा प्लेकार्डसहित प्रवेश गर्न नपाईने निर्देशन बैंक प्रमुख र कर्मचारीबाट आएपछि गार्डले उद्योगीमाथि दुर्व्यवहार गरेको उनले बताए। आक्रोशित उद्योगी व्यापारीले बैंक गेटमै नाराबाजी गरेका थिए।

अध्यक्ष रिजालले भने, ‘सौहार्दपूर्ण तरिकाले ज्ञापन पत्र बुझाउन प्रयास गरेका थियौँ। तर गेटमै बैंक प्रमुखको निर्देशनमा रोकियौँ र प्रदर्शन गर्न बाध्य भयौँ ।’

संघले संस्थागत निक्षेपमा ६ प्रतिशत व्याजदर कायम गराउन समेत राष्ट्र बैंकको ध्यानाकर्षण गरेको छ। विरोधका क्रममा उद्योगी व्यवसायीले गभर्नर महाप्रसाद अधिकारीविरुद्ध पनि नाराबाजी सुरु गरेपछि प्रमुख मीना पाण्डे गेटमा पुगेर ज्ञापन पत्र बुझेकी थिइन्।

चैत १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्