डा. चक्रराज पाण्डेसँग अन्तर्वार्ता

‘सर्जरी मेरा लागि पर्फेक्ट मेडिटेशन हो’ (भिडियो)

काठमाडौँ– सिन्धुपाल्चोकको समान्य परिवारमा जन्मिएका उनी बुवासँगै खेतबारीमा कुटो–कोदालो गर्दै हुर्किए। बुवाको दुःख देख्दा उनले महसुस गरेका थिए– राम्रो पढाइ गर्छु, अनि राम्रो जागिर पनि।

हुर्किँदै गरेका उनले सधैँभरी बुवासँगै माटो खेलाउन सम्भव थिएन। विस्तारै उनको स्कुल जाने उमेर हुँदै थियो। सिन्धुपाल्चोकमा विद्यालय भएपनि त्यति राम्रा भने थिएनन्। घरमा सल्लाह हुन्थ्यो, उनलाई कहाँ पढाउने?

यही कुरालाई उनी भाग्यसँग जोड्छन्। त्यही बेला उनका काका काठमाडौँमा सरकारी जागिरे थिए। काकाकै आडमा उनी काठममाडौँ आए। काकाले उनलाई ल्याबरोटरी स्कुलमा २५ रुपैयाँ तिरेर भर्ना गरिदिए।

चार कक्षा पढ्दै गर्दा स्कुलले शुल्क बढाएर ६२ रुपैयाँ बनाएपछि उनले स्कुल परिर्वतन गरे। विजय मेमोरियलमा भर्ना भए। बच्चैदेखि बुवाको दुःख देखेका उनले अभावलाई अझ नजिकबाट बुझे।

स्कुल पढ्दै गर्दा उनलाई डाक्टर बन्ने हुटहुटी जाग्यो। ‘डाक्टर’ बन्ने सपना देख्नु उनका लागि धेरै ठूलो कुरा थियो। तर, उनी पढाइमा राम्रो भएकाले डाक्टर बन्ने आँट कहिल्यै पनि डग्मगाएन।

र त उनले गर्वका साथ नामका अगाडि डाक्टर चक्रराज पाण्डे लेख्न सफल भएका छन्। डाक्टर चक्रराज पाण्डे जो ग्राण्डी अस्पतालको परिकल्पकार हुन्। उनको नाम लिनेवित्तिकै धेरैको मनसपटलमा ग्राण्डी अस्पताल आउने गर्छ।

केही समय अगाडि उनी ग्राण्डीबाट बाहिरिएका छन्। अहिले फ्रन्टलाइन अस्पतालको जिम्मेवारी सम्हालिरहेका छन्।

पढाइको यात्रा


ल्याबरोटरी स्कुलमा चार कक्षा पढ्दै गरेका डा. पाण्डे शुल्क तिर्न नसक्ने भएपछि विजय मेमोरियल स्कुलमा पढ्न थाले। एक वर्ष त्यहीँ पढे। उनी पढाइमा राम्रो थिए। लिवटी स्कुलले उनलाई छात्रवृत्ति दिने भएपछि फेरि उतै फर्किएर कक्षा ६ देखि १० सम्म त्यहीँ पढे।

एसएलसीमा उनी बोर्ड छैटौँ भएका थिए।

आइएससी उनले अमृत साइन्स कलेजबाट गरे। दुई वर्षको कोर्स भएपनि २०३६ सालको आन्दोलनका कारण झण्डै चार वर्ष लगाएर उनले आइएससी पास गरेका थिए।

पहिलो वर्ष राम्रो अङ्क ल्याएर पास भएका उनी दोस्रो वर्षमा भने फेल भएको नतिजा डा. पाण्डेको हातमा परेको थियो। उनलाई पत्याउन मुस्किल भयो। आफूले दिएको परीक्षामा उर्तीण हुनेमा उनी विश्वस्त थिए। तर नतिजाले त्यो बताइरहेको थिएन।

फेल भएको मन मान्न तयार थिएन। तर, हातमा परेको नतिजाले त्यही जनाइरहेको थियो। उनले रिटोटलिङका लागि आवेदन दिए। तीन महिनापछि उनको फेरि नतिजा सार्वजनिक भयो। यो पटक भने उनी पास भएका थिए। ‘त्यो समय जूलोजी र बोट्नीको दुई वटा पेपर हुन्थ्यो। त्यसमध्ये एउटाको नम्बरै जोडिएको रहेन छ। रिटोटलिङ गरेपछि म पास भएँ’, डा. पाण्डेले भने।

आइएससीपछि उनले टर्की र चीनको बेइजिङ युनिभर्सिटीमा छात्रवृत्तिका लागि आवेदन दिए। दुवै ठाउँमा उनी छानिए। चीनभन्दा उनलाई टर्कीले धेरै आकर्षण गर्‍यो। २०४१ सालमा एमबीबीएस पढ्न टर्की गए।

डाक्टर भइसकेपछिको नेपाल यात्रा


टर्कीमा एमबीबीएस सकिएपछि उनलाई नेपाल गएरै काम गर्नुपर्छ भन्ने लाग्यो र उनी नेपाल फर्किए। त्यो बेला डाक्टर भइसके पनि काम पाउन गाह्रो थियो। उनले वीर अस्पतालमा भोलेन्टिरी डाक्टरका रुपमा काम गरे। दिउँसो उनी वीरमा काम गर्थे। बिहान र बेलुका क्लिनिकहरुमा काम गर्न सुरु गरे।

क्लिनिकमा बिरामी जाँचेबापत ५० रुपैयाँ पाउने गरेको उनी सम्झन्छन्।

वीरमा काम गरेको ६ महिनाजति भइसकेको थियो। उनलाई टर्कीबाट ५ वर्षको लागि रेसिडेन्सीको लागि अफर आयो। उनका लागि यो सुनौलो अवसर पनि थियो। जसले गर्दा उनी उच्च शिक्षाका टर्कीतिर लागे। हार्डजोर्नी विशेषज्ञताको लागि पढाइ सुरु गरे। पाँच वर्षमा उनको पढाइ सकियो। एमडी गरिसकेपछि फेरि उनलाई नेपाल फर्किए। अनि हार्डजोर्नी विशेषज्ञको रुपमा काम गर्न थाले।

डाक्टर बन्ने प्रेरणा


उनी सानै थिए। घरमा आपन्तहरु जम्मा भएका बेला उनी कहिलेकाहीँ सुन्थे– भारतका प्रथम राष्ट्रपति राजेन्द्र प्रसाद कहिल्यै पनि कक्षामा दोस्रो भएनन् रे। कस्तो राम्रो पढाइ भन्दै तारिफ गरेको सुन्थे।

अनि भारतका त्यो बेलामा दोस्रो प्रधानमन्त्री लालबहादुर शास्त्री जो पढ्नकै लागि नदी तरेर स्कुल जाने गरेका किस्साहरु उनको मानसपटलमा कहिल्यै पनि नमेटिने गरी छापिए।

यस्ता कुराले उनी प्रभावित हुन्थे। मेहेनत गर्‍यो भने साँच्नै राम्रो गर्न सकिँदो रहेछ भन्ने सोच्थे। केही न केही आर्दशवादी काम गर्नै पर्ने रहेछ भन्ने सानैमा उनको मनमा गडेको थियो।

स्कुल पढ्दै गर्दा उनी जीवनी धेरै पढ्ने गर्थे। म्याडम क्यूरी, मदर टेरेसा, डाक्टर अल्बर्ट स्वीट्जरका बारेमा खोजीखोजी पढ्थे। उनी कल्पना गर्थे– म पनि यस्तै केही गर्न पाए!

डाक्टरप्रति उनको अकार्षण बढ्दै गयो। उनको आँट त्यतिबेला अझ बलियो भयो जब उनी एसएलसीमा बार्ड छैटौँ भएका थिए।

सपनाको उडान भर्न टर्की भएका डा. पाण्डेलाई थप हौसला प्रदान गरे टर्कीमा उनलाई पढाइरहेका शिक्षकले।

मुटुरोगबाट हाडजोर्नीतर्फ फेरिएको बाटो


उनलाई एमडी मुटुमा गर्न मन थियो। सन् १९८२ मा अमेरिकाका डा. वइलिएम डी ब्राइजले विश्वमा पहिलो पटक कृतिम मुटु प्रत्यारोपण गरेका थिए। त्यो कुराले उनी निकै प्रभावित भए।

त्यो बेला आजभोलिको जस्तो इन्टरनेटको पहुँच थिएन। टाइम्स् म्याग्जिनमा छापिएको त्यो फोटो उनले आफ्नो डायरीमा टाँसे। त्यो फोटो उनी प्रत्येक दिन हेर्थे। मुटुसम्बन्धी धेरै कुरा थाहा नभए पनि एक दिन मुटुरोग विशेषज्ञ बन्ने सपना बुनिरहेका थिए। मुटुरोग विशेषज्ञ बन्ने सपना बुन्दै गरेका उनले त्यो बेला मेडिकल शिक्षा सुरु भने गरेका थिएनन्। सफल हुन्छु भन्ने सोच उनले पालेका थिए। सोहीअनुसार सन् १९८५ मा एमबीबीएस पढ्न थाले।

एमबीबी पढदै गर्दा सन् १९८८ तिर अफ्रिका र एसिया फुटबल प्रतियोगिता भयो। डा. पाण्डे एसियाबाट खेले। अफ्रिकाबाट खेल्नेहरु धेरै अग्ला थिए। उनीहरु विरुद्ध गोल गरिरहेका थिए।

खेल राम्रै भइरहेको थियो। खेलका क्रममा उनको घुँडामा चोट लाग्यो। घुडाको ‘मेनस्कस’ भन्ने तन्तु च्यातियो। सर्जरी गर्नु पर्‍यो। त्यो बेला क्यामेराको माध्यमबाट शल्यक्रिया गर्ने प्रविधि थिएन। भर्खरै सुरु भएको थियो, त्यो प्रविधि।

उनी ६ महिनाजति वैशाखीको सहयोगले हिँडे। वैशाखी टेकेर पढ्न जान्थे। आफूले भागेको त्यो पीडाले उनको ध्यान हार्डजोर्नीतर्फ खिचियो। तर उनको मन भने मुटुमै थियो।

एमबीबीएस गर्दा अस्पतालमा ‘पेडियाट्रिक कार्डियोलोजी’ उनी रोटेसनमा थिए। त्यसपछि उनी अझै यतातिर आकर्षित हुँदै गए। उनको मुटुप्रतिको त्यो आकर्षणलाई बीचमै रोक्ने काम गर्‍यो, हाडजोर्नी विभागले। एकदिन उनी रोटेसनमा हुँदैगर्दा हाडजोर्नी विभागमा जानुपर्ने भयो। जहाँ उनका शिक्षक प्रा. तालात गहुस् थिए। उनी हाडजोर्नी विभागका प्रमुख थिए। उनले एक महिना उक्त विभागमा काम गरेपछि उनका शिक्षकले उनलाई बोलाए र भने, ‘चक्र तिमी आर्थोपेडिक पढ।’

डा. पाण्डेले जवाफ दिए,‘सर म सानो कदको मान्छे। यहाँ अर्थोपेडिक पढ्नेहरु सबै अग्ला छन्। बलिया छन्। मजस्तो सानो मान्छेले अर्थोपेडिक पढेर सक्छु होला र?’

‘‘यू विल मेक इट’ तिमी सक्छौँ। पढ।’ शिक्षकले उनलाई हौसला दिए। र, छात्रावृत्तिका लागि नेपाल सरकारलाई पत्र पढाए। सरकारले जवाफमा छात्रावृत्ति दिन नसक्ने तर डलर सटही सुविधासम्म दिन सक्छौँ भन्दै पत्र डा. पाण्डेका शिक्षकलाई पठायो। डा. पाण्डे अर्थोपेडिक सर्जन भए। अहिले पनि डा. पाण्डे आफू हाडजोर्नीमा आउनुको श्रेय आफ्ना गुरुलाई दिन्छन्।

स्वदेश फर्किएपछिको सहकार्य


एमडी गरेपछि उनले टर्कीमै राम्रो काम पाएका थिए। सन् १९९७ मा उनले असिस्टेन्स प्रोफेसर पद पाएका थिए। त्यहाँ बसेर पढाउने अनि कमाउने राम्रो अवसर थियो।

विदेश बस्नुभन्दा नेपालमै फर्किने निधो गरे उनले। नेपालमा बस्न सके बस्ने नत्र अन्य कुनै ठाउँमा जानु पर्ला भन्ने सोच उनको मनमा थियो। नेपाल फर्किएलगत्तै उनले त्रिवि शिक्षण अस्पतालमा हाडजोर्नी विभागका लागि आवेदन दिए। तर, प्रकृया लामो भयो। काम जरुरी थियो। किनकि उनलाई पैसाको अभाव भइरहेको थियो।

त्यहि शिलशिलामा उनले डा. अशोक बाँस्कोटालाई भेटे। डा. बाँस्कोटाको आफ्नो पेशाप्रतिको लगनशिलता, ज्ञान, मेहनत देखेर डा. पाण्डे उनीबाट प्रभावित थिए। उनैसँगै काम गर्ने मौका पाए। त्रिपुरेश्वरमा डा. बाँसकोटा, डा. जगदिशलाल वैद्य र अन्य दुई जनाले सञ्चालन गर्दै आएको काडमाडौँ नर्सिङ होममा काम सुरु गरे।

नर्सिङ होमसँगै डा. पाण्डेले डा. बाँस्कोटाकै अपाङ्ग बाल अस्पताल बनेपामा साढे पाँच वर्ष काम गरे। फेरि उनीसँगै बी एण्ड बीको सुरुवाती दिनदेखि नै हाडजोर्नी विभागमा काम गरे। त्यसपछि उनले मेडिकेयरमा काम सुरु गरे।

ग्राण्डीको परिकल्पना


उनी विभिन्न ठाउँमा काम गर्दै गर्दा नेपालमा कुनै संस्था खडा गर्नुपर्छ, जहाँ एउटै छानामुनि विभिन्न विभागहरु होस् भन्ने लागेको थियो।

जर्मनीमा रहेको ‘हानोवर सेन्टर’बाट डा. पाण्डे प्रभावित भएका थिए। ‘उनीहरुले यूरोपको जुनसुकै ठाउँबाट ४५ मिनेटमा चाँडो उपचार गर्नुपर्ने बिरामीलाई रेस्क्यु गरेर पुर्‍याउन सक्ने बनाएका छन्’, उनले भने, ‘ग्राउड जीरोमा उपचार गर्दै मुख्य अस्पतालमा डाक्टरको अर्को टीमले चाँडो उपचार गर्ने यो योजना मेरो मुटुमा थियो। र छ पनि। संसारमा मानिसको लाइफभन्दा अर्को ठूलो कुरा कुनै पनि छैन।’

संसार देखे। अरुले गरेको पनि देखे। आफ्नो देशमा किन नगर्ने भन्ने उनलाई लाग्यो। र, त्यहीबीच जन्मियो ‘ग्राण्डी’।

उनले लगानीकर्ता खोजे। डाक्टरहरु खोजे। मेडिकल टीम तयार पारे। उनीहरुलाई मनाउन डा. पाण्डेले धेरै मेहनत गरे। ‘१०/११ वर्ष अगाडि ग्राण्डी कस्तो थियो होला कल्पना गर्नुस् त?’, उनले भने।

व्यक्तिगत चनौती बुझेका उनले त्यो बेला संस्थागत चुनौती भने बुझेका थिएनन्। तर उनी सबै कुरालाई स्वीकार्दै अगाडि बढे। सफल भए पनि।

ग्राण्डीले नेपालमा स्वास्थ्य क्षेत्रमा परिर्वतन ल्याएको जस्तो लाग्छ, डा. पाण्डलाई। ‘नेपालमा स्वास्थ्य क्षेत्रमा केही गर्न सकिन्छ भन्ने विजारोपण ग्राण्डीबाट सुरु भयो’, यति भन्दै मुसुक्क मुस्कुराए उनी।

ग्राण्डीबाट छुट्टिँदा


ग्राण्डी उनको कल्पना थियो। आफ्नो सानो–सानो मेहनत गरेर पूरा गरेको सपनाबाट टाढा हुँदा डा. पाण्डेलाई कसरी दुःख नहुँदो हो! तर उनले यो कुरालाई सकारात्मक रुपमा लिने गरेका छन्।

‘ग्राण्डी बिरामीको फ्लोको हिसाबले बेस्ट अस्पताल हो। अर्थोपेडिक विभाग हेर्ने हो भने साइनस हस्पिटल मिनियापोलीस् र जहाँ मैले पढेको कलेजको अस्पताल दुवैको संयोजनको सानो प्रोडक्ट हो, त्यो’, आफूले बनाएको विभाग भन्दै गर्दा खुसीले उनको मुहार चम्किरहेको थियो।

नराम्रो समयमा पनि कसरी सकारात्मक ढंगले अगाडि बढ्ने यो विशेषता उनमा छ।

ग्राण्डीको परिकल्पना गर्दैगर्दा एक न एक दिन ग्राण्डीबाट बिदा लिनुपर्छ भन्ने उनले मनमा लिएका थिए। तर यसरी निस्कनु पर्ला उनले कहिल्यै कल्पना पनि गरेका थिएनन्।

उनले भने,‘एउटै ठाउँमा चिरस्थायी भएर बाँच्न सक्दैनौँ। तर जुन खालको स्थितिमा अपमानित भएर निस्कनु पर्‍यो। त्यो दुःखको कुरा थियो। तर, उनीहरु सबैलाई माफ गरिसकेँ। उनीहरुप्रति मलाई कुनै रिस छैन। त्यो बेलाको नकारात्मक कुरालाई कसरी सकारात्मकतर्फ लाग्ने भनेर सोचे। लाइफमा गर्न सक्ने धेरै कुराहरु छन्। अबको १५ वर्षमा मैले के गर्न सक्छु भन्ने कुरा समयले देखाउँछ।’

‘आफूले जन्माएको ठाउँबाट बाहिरिने प्रक्रिया फरक थियो। त्यसरी कोही पनि बाहिरिनु हुँदैन। म त्यसलाई सबैभन्दा दुर्भाग्यपूर्ण अवस्था ठान्छु। तर अहिले म त्यसलाई बढाइचढाइ गर्न चाहन्न’, डा. पाण्डेले थपे।

शल्यक्रिया नै मेडिटेशन


ग्राण्डीमा बाहिरिँदै गर्दा उनले धेरै मानसिक तनाव भोगे पनि उपचार गर्न छोडेननन्। बिरामीसँग कुरा गर्दा उनलाई खसी मिल्छ।

उनले भने, ‘सर्जरी मेरा लाग पर्फेक्ट मेडिटेशन हो। ग्राण्डीमा धेरै एनजाइटी हुँदा पनि शल्यक्रियाको समयमा म पूरै खुसी हुन्थेँ। त्यो समयमा मलाई केही पनि सोच्नै परेन। शल्यक्रिया गर्दैगर्दा बिरामीको कल्याण कसरी गर्ने मात्रै सोच आउँछ। एकदमै आनन्द महसुस हुन्छ। म कम्फट जोनमा हुन्छु, सर्जरी गर्दैगर्दा।’

कामका बेला उनी धेरै कुरालाई बेवास्ता गर्न सक्छन्। मात्रै उनी कामलाई ‘फोकस’ गर्छन्।

नयाँ नेतृत्व…


ग्राण्डीबाट बाहिरिएपछि उनले लाजिमपाटस्थित आफ्नै क्लिनिक अनामिवा हेल्थ एण्ड वेलनेश सेन्टरमा काम गरिरहेका थिए। त्यो सँगसँगै उनले नर्भिक अस्पतालमा काम सुरु गरे। अहिले फ्रन्टलाइन अस्पतालमा मेडिकल नेतृत्व हाक्ने जिम्मेवारी पाएका छन्।

ग्राण्डी उनले जमिनबाट उठाएका थिए। फ्रन्टलाइन अरुले बनाइसकेको अस्पताल हो। जुन एक महिनाभित्रै सञ्चालन हुने डा. पाण्डेले बताए। यो अस्पताललाई उनले अवसरका रुपमा लिएका छन्।

उनले भने,‘उहाँहरुले धेरै मेहनत गरेर लगानी गर्नुभएको छ। लोकेसनको हिसाबले यो अस्पतालले ठूलो अवसर प्राप्त गर्ने देखिन्छ। सबै कामको म अध्यन गरिरहेको छु।’

फ्रन्टलाइन कस्तो अस्पताल?


फ्रन्टलाइनको मुख्य व्यवस्थापक सिनामंगलस्थित नोबेल अस्पताल हो। नोबेलको व्यवस्थापनले विराटनगरस्थित नोबेल मेडिकल कलेजसँग नाम जुधेपछि अस्पतालको नाम परिवर्तन गरी ‘फ्रन्टलाइन अस्पताल’ राखेको हो।

फ्रन्टलाइन अस्पताल दुई सय शय्याको हुनेछ। अस्ताल एक महिनाभित्रै सञ्चालमा ल्याउने तयारीमा छ।

पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालको ‘चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्भिसेज’का रूपमा आफूले काम थालेको डा. पाण्डेले जानकारी दिए। ‘चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्भिसेजका रूपमा सबै विभागहरूलाई कोअर्डिनेट गर्ने गरी मैले काम सुरु गरिसकेको छु,’ उनले भने, ‘हेड अफ द क्लिनिकल सर्भिसेजका रूपमा मैले काम गर्नेछु।’

अस्पतालमा अर्थोपेडिक्स, जनरल सर्जरी, न्युरो सर्जरी, गाइनो, पेडियाट्रिक्स, डर्माटोलोजी, कार्डियाक, इन्डोक्राइनोलोजीलगायतका २५–२६ वटा विभाग हुनेछन्।

अस्पतालको मुख्य फोकस भने बजेट ट्रमा केयरमा हुनेछ। अस्पतालका चारवटा शल्यक्रिया कक्ष र ३० बेडको आईसीयू हुनेछ।

डाक्टर, नर्स, कर्मचारी गरी झण्डै ५ सय जनाको टीम हुने अस्पतालमा हेलिकोप्टरबाट इमर्जेन्सी रेस्क्युसहितको सुविधा हुनेछ।

चैत २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्