बाँकेबाट चोरिएको मोटरसाइकलसहित काठमाडौँ स्वयम्भूबाट एकजना पक्राउ

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित एक जनालाई काठमाडौँको स्वयम्भू भुईखेलबाट नियन्त्रणमा लिएको छ।
ट्राफिक प्रहरीले कालिकोट महाबी गाउँपालिका– २ घर भई भक्तपुर सल्लाघारी बस्ने वर्ष २३ को पञ्चबहादुर सिंहलाई कोहलपुर बाँकेबाट हराएको प्रदेश ३(०२,००३ प २४७३ नम्वरको कालो रंङको २०० सीसीको पल्सर एनएस मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ।
निज सिंहले चैत २ गते यातायात व्यवस्था कार्यालय बागमतीले सञ्चालन गर्दै आएको गुर्जुधाराबाट सवारी चालक अनुमति(पत्र ए वर्गको परीक्षामा जिल्ला बाँके खजुरा– ३ बस्ने कबिन्द्र शाहीको नागरिकता प्रमाणपत्रमा आफ्नो फोटो टाँस गरी प्रयोगात्मक परीक्षा दिएकोसमेत खुल्न आएको छ।
वास्तविक नम्बर भे १० प ४३६२ खुल्न आएको सो मोटरसाइकल आशिष गुरूङको रहेको पत्ता लागेको छ। निज सवारी धनीलाई मोटरसाइकल भेटिएको जानकारी दिइएको महाशाखाले जनाएको छ।
नियन्त्रणमा आएको मोटरसाइकलसहित पक्राउ परेका सिंहलाई चोरी मुद्दा अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, थानकोट पठाइएको महाशाखाले जानकारी दिएको छ।