व्यंग्य गजल

माडा बनायो

एउटै थालमा खाएका टाढा बनायो
पराइसँग गाँठो कस्दा गाढा बनायो।।

चलन आयो नौलो नबुझिने खालको
राम्रो होला ठानेको त छाडा बनायो।।

चल्छ गाडी गाउँमा भने रेल सहरमा
इन्जिन जड्न बिर्सिएर गाडा बनायो।।

ठाउँमा पुग्न तानतुन लुछाचुँडी खेल्दै
पद मान आफ्ना अट्ने भाँडा बनायो।।

कति वर्ष सुते वनमा स्याउला भाँचेर
एउटै गीतले मुंग्रो ठोकी माडा बनायो।।

चैत ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्