हाम्रा पुर्खा ऋषि कि अमिबा ?

मानवको इतिहासले लामै अध्याय पार गरिसकेको छ । अण्डा पहिले कि चल्ला ? बीज पहिले कि विरुवा ? भन्ने तर्कजस्तै मानवको उत्पत्ति र विकासका बारेमा अनेकौँ भाष्यहरु तयार गरिए । चित्त बुझ्दो उत्तर अहिलेसम्म नआउँदा यो खोजमा पूर्णविराम लाग्न सकेन । धर्मशास्त्र र विज्ञानका तर्क फरक छन् । विज्ञानभित्र पनि वैज्ञानिकअनुसारका वर्णन छन् । पुराणले पृथ्वी जलमग्न भएको अवस्थामा सम्पूर्ण जीवको अस्तित्वलाई डुङ्गामा राखेर मत्स्य भगवान्‌ले हिमालयको टुप्पोमा सुरक्षित राखेको बताउँछ । यो हिमालको चुचुरो सगरमाथा थियो भन्ने विषयमा वैदिक साहित्य, पुराणलगायतका ग्रन्थले संकेत गरेका छन् ।

यसको नाम स्वर्गको माथा (टाउको)बाट स्वर्गमाथा हुँदै सगरमाथा बन्न पुग्यो । पुराणका अनुसार ब्रम्हाजीले हिमाली क्षेत्रबाट मानस सृष्टि गरे, यहीँ वनस्पति पलाए, जीवहरु सल्बलाए । ब्रम्हाजीलाई हिमाली तालमा पाइने अद्भूत प्रकारको कमलमा बसेको देखाइएको छ । ब्रम्हाजीका चार मुखबाट चार वेद आदिको उत्पन्न भयो । महादेवले हिमाली क्षेत्रमा बसेर तन्त्र, योग, व्याकरण, आयुर्वेद आदिको परीक्षण र प्रचार गरे । सरस्वतीको आसन हिमाली क्षेत्रको कमल एवं राजहाँसमा भएको देखिन्छ । सरस्वतीबाट विद्याको विकास एवं विस्तार भयो । विद्या र विज्ञानको जननी यही भूगोल हो । ज्ञानको जन्म, विज्ञानको अंकुरण, जीवनको प्रदुर्भाव यहीँ भएको पुष्टि हुन्छ । महादेवले हिमालयमा आसन बाँधेर ब्रह्मचिन्तन गरे । हिमाली क्षेत्रमा आदिमकालदेखि साधनाका लागि अनेकौँ देवीदेवता, प्रशस्त ऋषिमुनिहरू रहेका देखिन्छन् । ध्रुवले उत्तरीधुव्रमा, कुबेरले हिमालीक्षेत्रमा आफ्नो निवास बनाए । मानसरोवर ताल देवीदेवता र ऋषिमुनिका लागि, राक्षसताल राक्षसलगायतका तामसी शक्तिका लागि प्रयोग गर्ने जलाशय बने । कालिदासले कुमारसंभवमा लेखेका छन्–

तत्प्रयातौषधिप्रस्थं सिद्धये हिमवत्पुरम् ।
महाकोशीप्रपातेस्मिन् सड्डमः पुनरेव नः ।।

अर्थात् ‘हिमालयको शहर औषधिप्रस्थतर्फ कामका लागि पाल्नुहोस् । महाकोशीका भीरमा तपाईंसँग फेरि भेटौँला ।’ नेपालका विभिन्न पहाड एवं नदी हुँदै देवीदेवता र ऋषिमुनिहरू आऊजाऊ गरेको देखिन्छ । महादेवका ससुरा हिमालयको राज्य हिमाल भएका कारण पार्वतीलाई हिमालयपुत्री, पर्वतजिल्लामा जन्मिएकीले पार्वती भनियो । मानवको सृष्टि जुन सरोवर (ताल)मा भयो अर्थात् मनको शक्तिद्वार ब्रम्हाजीले जहाँ मानिसको सृष्टि गरे त्यसलाई मानसरोवर भनियो । यसैले ॐकार परिवार (हिन्दू, बौद्ध, जैन, किरात आदि धर्मावलम्बीहरू)का लागि मानसरोवर र कैलाश पूजनीय बन्न पुग्यो । ब्रम्हाजीको मनले जस्तो कल्पना गर्‍यो, त्यस्तै स्वरूपका मानवले पहिलो पाइला यहीँ टेके । मनबाट उत्पन्न भएकाले यस्ता प्राणीलाई मानव (मनुष्य) भनियो । ब्रम्हाजीबाट उत्पन्न भएकाले उनीहरू ब्रम्हचिन्तन (परमात्माको चिन्तन) गर्न सक्छन् ।

ब्रम्हाजीले मानस सृष्टि गरे तर तिनीहरूको ध्यान संसारको मोह एवं सन्तान उत्पादनतर्फ गएन । यसबाट विरक्त बनेका ब्रम्हाजीले शिवजीको ध्यान गर्नुभयो । शिवजीले अर्धनारीश्वरको रूपमा ब्रह्माजीलाई दर्शन दिई कामदेवको उत्पन्न गर्नुभयो । यसपछिमात्र शारीरिक सृष्टिको प्रारम्भ भयो । अहिले मनबाट सन्तान उत्पादन नभए पनि अनेक चिन्तन र विचार उत्पन्न हुन्छ । मन चञ्चल होइन गतिशील बनाउन सक्ने हो भने अझैँ पनि मनबाट मानिस जन्माउन सकिन्छ । देवता र ऋषिको मनबाट मानिसको उत्पत्ति भयो । मन कमजोर र चञ्चल हुन थालेपछि सन्तान जन्माउन शारीरिक सम्बन्ध आवश्यक भयो । त्रेतायुगमा वाल्मीकिले कुशको सहयोग लिएर रामका पुत्र कुश उत्पन्न गरे । धृष्टधुम्न र द्रौपदीको जन्म यज्ञकुण्डबाट भएको थियो । पतञ्जलिको जन्म हातबाट खस्दै गरेका पानीबाट भयो । गोबरबाट गोरखनाथ र गोमा आदि मानससन्तान जन्मिएका थिए ।

स्वयम्भु मनु र शतरुपाबाट पहिलोपटक शारीरिक सम्बन्धद्वारा मानिसको जन्म हुन पुग्यो । यिनीहरूलाई मर्यादित तुल्याउन धर्मनीति र कानुन बनाइयो । मनुले लेखेको मनुस्मृति मानिसका लागि निर्माण गरिएको पहिलो कानुन हो । एउटै ऋषिमुनिबाट हजारौँ छोराछोरी जन्मिएको वर्णन पुराण आदि ग्रन्थमा भेटिन्छन् । एक महिलाबाट १०/२० वटा जन्मनु त ठीकै थियो तर हजारौँ सन्तान कसरी जन्माइन् भन्ने जिज्ञासा हुन सक्छ । सन्तान दुई प्रकारले उत्पन्न भएका देखिन्छन् । पहिलो मानससृष्टि र शारीरिक सम्बन्धबाट जन्मिएका सन्तान, दोस्रो आफूले दीक्षा वा पढाएका(शिष्य/चेला)लाई पनि सन्तान भनिन्थ्यो । वैष्णवले विष्णुको, बौद्धभिक्षुले बुद्धको, श्रीकृष्णप्रणामीले कृष्णका शिष्य भएर अस्तित्व जोगाएका छन् । पढाएका विद्यार्थी नै सनतनमा गणना हुँदा देवीदेवता वा ऋषिमुनिका छोराछोरी अत्याधिक भएका हुन् ।

आर्यावर्तको वातावरणमा प्रजनन् शक्तिमात्र छैन संरक्षण र वृद्धि गर्ने तागत संरक्षित छ । त्यसैले यहाँ देवीदेवता, ऋषिमुनिमात्र जन्मिएनन् राक्षसहरू पनि पैद भए । कैलाशनिवासी महादेवलाई साधनाबाट रावणले खुशी बनाएका थिए । जबसम्म रावण कैलाश र नेपालको गोकर्णमा तपस्या गरेका थिए तबसम्म बदमाश थिएनन् । हिमालय छोडेपछि उनको मति बिग्रियो । अधिकांश हिमश्रृंखलामा कुण्ड, क्षेत्र, पोखरी, गुफालगायतका स्थान ऊर्जाशील मात्र छैनन् शक्तिदायक एवं ज्ञानवद्र्धक भएकाले दर्शनीय तीर्थस्थलहरू बन्न पुगे । मानिसले जहाँ देवीदेवता बसेको देखे त्यसलाई देवस्थल भने, ऋषिमुनिहरूले जहाँ साधना गरेको भेटे त्यसलाई तीर्थस्थल बनाए, साधुसन्तले ईश्वर चिन्तन गरेका स्थानलाई पुण्यस्थल भने, अध्ययन गर्ने ठाउँलाई ज्ञानभूमि भने, परमात्माको चिन्तन गर्नुलाई ध्यानभूमिको नाम दिए । शास्त्रीय दृष्टिले हेर्दा यस भूमिमा बाहिरबाट मानिस आएको देखिँदैन ।

नेपालमा ऋषि र साधुसन्तहरू जप, तप गर्दैगर्दा अफ्रिकामा उभयचर प्राणीको जन्मसमेत भएको थिएन । आर्यावर्तका ऋषिहरुले वेदको व्याख्या गर्दैगर्दा अन्य महादेशमा वनमान्छेको अजा (हजुरबा)सम्म गर्भमा आएका थिएनन् । अध्ययन एवं अनुसन्धानका लागि वातावरण शान्त, जीवन धान्न खाद्यान्न र वातावरण अनुकूल हुनुपर्छ । अफ्रिकाको मैदानलाई पानीले छोड्नु पहिले टेथिससागरलाई हाम्रा पहाड र हिमालले धकलेर हिन्दमहासागरमा पुर्‍याइदिएका थिए।

देवासुरसंग्राम हुँदा अफ्रिकामा अमिबाहरू दुई कोषीय जीवमा फड्का मार्न सकेका थिएन । अहिलेका केही पाश्चात्य वैज्ञानिकहरूले मानिसको उत्पत्तिस्थल अफ्रिकालाई मान्दछन् । अफ्रिकामा हिन्दूका कुनै तीर्थ, देवीदेवताको आश्रय, ऋषिको आश्रम, साधुसन्तको मठ छैन । त्यहाँ वेदको सुगन्ध, त्रिपिटकको बासना, मुन्धुमको सुवास भेटिँदैन । किन कि त्यो हाम्रो पुर्खाको जन्म र विकासस्थल होइन । हाम्रा ऋषिमुनिले यहाँ नै मूर्तिकलाको चमत्कारिक विकास एवं मन्दिरको अद्भूत संरचनालाई निर्माण गरे । उनीहरूले गुफा, नदी किनारा र पर्वतका टाकुरामा देवीदेवताको मूर्ति राखेर प्राणप्रतिष्ठा गराए । यहीँको जल, स्थल र वायुमण्डलमा योग, तन्त्र एवं मन्त्रको परीक्षण गरे ।

नेपालका अधिकांश गुफाहरूमा विभिन्न स्वरुपका देवीदेवताका मूर्तिहरू फेला परेका छन् । प्राचीन कालदेखि हाम्रो भूमिमा केके र कोको रहेछ भन्ने विषयलाई यी सामग्रीले बताउँछन् । अफ्रिकामा जीव विकास नहुँदै हाम्रा पुर्खाले विभिन्न शस्त्र, अस्त्र, प्रविधि र यन्त्रहरूको आविष्कार गरेको तथ्य रामायण, महाभारत र पुराणहरूले बताउँछन् । यी कार्यहरूमा सहयोग गर्न रामापिथेकस, होमोस्यापिन्स मानव नेपाल आएका थिएनन् । अधिकांश हिमचुचुरा र पहाडहरूको नाम देवीदेवताकै नामबाटै न्वारन गरिएका छन् । यहाँका कुनै पनि डाँडा, हिमाल, पोखरी, नदी, देवीदेवता आदिको नाम अफ्रिकामा प्रचलित भाषाबाट राखिएको पाइँदैन । आजभन्दा झण्डै २१,६५,१२१ वर्ष अगाडिसम्म सत्ययुग थियो । त्यतिबेला ब्रम्हा, विष्णु, महेश्वर, दुर्गा, पारुहाङ आदिको विचरण यही भूमिमा हुन्थ्यो । महादेवले कालकुट विष पिएर गोसाइँकुण्डमा आए । कागभुसुण्डीले मानङजिल्लाको तिलिचो तालमा तपस्या गरे । शुम्भ, निशुम्भ र महिषासुरलाई दुर्गाले यहीँ बध गरिन् । च्यवन ऋषिले च्यवनप्रास खुवाएर यहाँका जनतालाई बलवान बनाए ।

आर्यावर्तमा प्राचीन कालदेखि इन्द्र, मनु, हरिश्चन्द्रजस्ता शासक थिए । त्रेतायुग अर्थात् आजभन्दा ८,६९,१२१ वर्षअगाडि भगवान् राम, सीता, जनक आदिको अस्तित्व देखिन्छ । त्यही समयमा रावणले गोकर्णमा बसेर तपस्या गरे । नेपालका किरात राजा महाभारतको युद्धमा सहभागी हुँदा अफ्रिकामा राज्यको जन्म, जनताको न्वारनसमेत भएको थिएन । हाम्रो धर्ममा गोत्र र प्रवरको, किरातवर्गमा सामे र पाछाको प्रयोग गराउन अफ्रिकाबाट नियन्डरथलमानव आएका थिएनन् । सामे र गोत्रलाई सूक्ष्म विश्लेषण गर्ने हो भने उनीहरू नेपालका हिमालय वा पहाडका निवासी भएको पुष्टि हुन्छ । अहिलेका किरातवर्ग मंगोलबाट आयात गरिएका मानिस होइनन् भन्ने बुझ्न सामे र मुन्धुमको अध्ययन गर्न आवश्यक छ । लामा नाक हुन् वा थेप्चा नाक, संस्कृतभाषा बोलून् या थारुभाषा, शिव पुजून् वा पारुहाङ मानून् यिनीहरू यहीँ फलेफूलेका हुन् । बाहिरबाट आएर पलाएका ऐजेरु होइनन् ।

हलेसी, पशुपतिनाथ, मानसरोवर, केदार, अमरनाथ, मुक्तिनाथ, रुरुक्षेत्र, रामेश्वरम् आदि तीर्थस्थलहरूमा उनीहरूले जप, तप, अध्ययन, अनुसन्धान गरे । यस्ता कार्य बाँदरका सन्तान या अफ्रिकाबाट आएका मानिसहरूले गरेका पनि थिएनन्, गर्न पनि सकेनन् । महादेव, पारुहाङ, विष्णु, देवी, दुर्गा, बुद्धलाई पूज्नेहरूको विकास अन्य प्राणीबाट हुनै सक्दैन । डारविनका पुर्खा अफ्रिकाबासी होलान् तर हामी ऋषिका सन्तान हौँ, देवताका अंश हौँ, यही भूमिका आदिवासी हौँ ।

बौद्धधर्मका ग्रन्थहरूले पनि प्रत्यक्ष वा परोक्षरुपमा हिमाली क्षेत्रमा मानिसहरू जन्मिएको बताउँछ । विपश्वी, कक्रुच्छन्दलगायतका बुद्धहरू यस भूमिका रत्न थिए । मुन्धुमले हिमालयको काखमा देवीदेवता र मानिसको उत्पत्ति तथा विकास भएको देखाउँछ । क्रिश्चियनको धार्मिक ग्रन्थ बाइबलमा समेत अफ्रिकाबाट मानिस विभिन्न क्षेत्रमा गएको वर्णन पाइँदैन । सबै धर्मग्रन्थ एशियामा लेखिए । महापुरुष बुद्धलाई मानौँ या कन्फुसियस, कृष्णलाई मानौँ या जिसस, सबै एशियाकै उत्पादन हुन् । धर्म, धर्मगुरु, भाषा, विज्ञान सबै एशियाबाट प्रारम्भ हुने अनि मानिसको जन्म अफ्रिकाबाट भयो भन्दा पत्याउने ? ५ हजार वर्षअगाडि वेदव्यासले वेदको विभाजन गरी पुराणहरू र महाभारत महाकाव्यको रचना गरे । अधिकांश ऋषिमुनिहरू नेपालका हिमाल र पहाडीक्षेत्रका आदिबासी थिए । हामी देवीदेवता, ऋषिमुनि, सिद्ध, बुद्ध आदिका सन्तति हौँ भन्ने तथ्यलाई हाम्रो शारीरिक बनोट, जीवनशैली र चिन्तनपद्धतिले प्रष्ट पार्छ । नेपालमा प्रचलित पूजा, उपासना, ध्यान विधिहरू यहीँ विकास भएर अन्यत्र फैलिएका हुन् । हामी बाहिरबाट आएका नागरिक थियौँ भने हाम्रो लिपि, भाषा, पूजा, जीवनशैली, संस्कृति आदि अफ्रिकाका आदिबासीसँग मिल्थ्यो । बरु हाम्रा पुर्खाको गतिविधिसँग विभिन्न महादेशमा रहेका आदिम संस्कृति र जीवनशैली मिल्दछन् । यहीँ विकास भएको मन्त्र, तन्त्र, यन्त्रको प्रयोग हरेक महादेशका आदिवासीको जीवन र संस्कृतिमा पाइन्छ । नेपालको संस्कृति एवं सनातनधर्मको प्रभाव अन्ताराष्ट्रमा कसरी पर्न गयो भन्ने दृष्टिले हेरियो भने सत्यतथ्य भेटिन्छ । पश्चिमीहरूको प्रभाव आदिमकालमा नेपालमा कसरी हुन गयो भन्ने सिद्धान्तलाई आधार बनाएर खोज गरेमा मनोरञ्जन प्राप्त हुन्छ, सत्यको अंश भेटिँदैन ।

पाश्चात्यहरुले केही वर्षयतामात्र आयुर्वेदिक औषधि, योग, ज्योतिष, दर्शन र तन्त्र आदिको प्रचार हुँदैछ । यी ज्ञान हामीलाई अफ्रिकाले सिकाएको होइन । ‘मायया नव इति मानवः’ मायाले नयाँ बनाइएको प्राणी मानव हो । मानव र देवताको शारीरिक संरचना एउटै छ, स्वभाव र बुद्धिमा मात्र अन्तर छ । मानव पुरानै सृष्टिको सर्वोत्कृष्ट प्राणी हो । पहिलो पराद्र्धलाई आधार मानेर ब्रम्हाजीले द्वितीय पराद्र्धको सृष्टिलाई निरन्तरता दिनुभएको छ । ‘यत् अण्डे तत् पिण्डे’ ब्रम्हाण्डको आकार–प्रकार र विशेषतालाई सम्लग्न गरी मानिसको शरीर निर्माण गरिएको हुनाले अन्य प्राणीको तुलानामा मानिस विवेकी र परमात्माको सर्वोत्कृष्ट सन्तान बन्न पुग्यो । श्रीमद्भागवतमहापुराण ( ११।९।२८)का अनुसार ‘ब्रम्हाजीले वृक्ष, सरीसृप, पशुपंक्षी, माछा आदि प्राणीहरूको सृष्टि गर्दा सन्तुष्ट र आनन्दित हुनु भएन । मानिसको उत्पत्तिपछि उहाँलाई अपार आनन्द र खुसी लाग्यो ।’ बुटवलस्थित तिनाउ नदी किनारमा फेला परेको रामापिथेकसको हड्डीका आधारमा एक लाख वर्षअघिदेखि नेपालमा मानिस बस्न थालेको पुष्टि हुन्छ । अनुसन्धान र उत्खनन् गर्ने हो भने नेपालका हिमाल, पहाड, गुफा र नदी किनाराहरूमा यस्ता अवशेषहरू प्रशस्तै पाइन्छन् । ती ऋषिमुनि र साधुसन्तका हड्डी हुन् । वैदिक इतिहासलाई हेर्ने हो भने लाखौँ वर्ष पहिलेदेखि देवीदेवतादेखि ऋषिमुनिहरूका सन्तान यहाँ बस्दै आएका छन् । हाम्रा हिमालका चोटीहरूमा यति पाइन्छन्, गुफाहरूमा देवीदेवता बस्छन्, नदी किनारामा ऋषिमुनिहरु र तीर्थस्थलहरूमा सिद्धपुरुषहरू भेटिन्छन् । तिनीहरूलाई चिन्ने शक्ति, थाहा पाउने चेत, पहिचान गर्ने सामथ्र्य हामीसँग हुन जरुरी छ।

हलेसी, पशुपतिनाथ, मानसरोवर, केदार, अमरनाथ, मुक्तिनाथ, रुरुक्षेत्र, रामेश्वरम् आदि तीर्थस्थलहरूमा उनीहरूले जप, तप, अध्ययन, अनुसन्धान गरे । यस्ता कार्य बाँदरका सन्तान या अफ्रिकाबाट आएका मानिसहरूले गरेका पनि थिएनन्, गर्न पनि सकेनन् । महादेव, पारुहाङ, विष्णु, देवी, दुर्गा, बुद्धलाई पूज्नेहरूको विकास अन्य प्राणीबाट हुनै सक्दैन । डारविनका पुर्खा अफ्रिकाबासी होलान् तर हामी ऋषिका सन्तान हौँ, देवताका अंश हौँ, यही भूमिका आदिवासी हौँ । यसैलाई आत्मसात् गर्दै मि. काउण्ट जेर्नाले भने “आर्यावर्त केवल आर्यधर्मका मात्र घर होइन अखिल संसारको सभ्यताको आदि भण्डार हो ।”

हाम्रो खोज दुब्लाएको छ, अनुसन्धान लखतरान् भएको छ, सोच चाउरिएको छ, विवेक डल्लिएको छ । संस्कृतभाषा नबुझ्ने, कुनै शिलालेख र पुराणहरू नपढ्ने अनि पश्चिमाका भनाई पछि दौड्ने कस्तो विडम्बना ? सत्यको सुवास, तथ्यको बास र अर्थपूर्ण खोजको निवास नहुँदा अनुसन्धानका क्षेत्रमा हामी बामेसर्न सकेका छैनौँ । हाम्रा आँखा मेसोपोटामिया, मिश्र र सिन्धुसभ्यतामा केन्द्रित भए । लुम्बिनी, काँक्रेविहार, काठमाडौँ, जनकपुर, रुरुक्षेत्र, दामोदरकुण्ड, तिलिचोताल, गोसाइँकुण्ड, देउघाट, बराहक्षेत्र आदिमा उत्खनन् भए, वास्तविकता बुझिने थियो । मुस्ताङ क्षेत्रमा वि. सं. २०५० र ०५१ तिर पुरातत्त्व विभाग र कोलोग्ने विश्वविद्यालयबाट भएको उत्खनन् र अनुसन्धानले प्राचीन कालदेखि यहाँ मानिसको बसोबास भएको बताउँछ । पश्चिमाको भनाईमा अन्धो नबनौँ, अफ्रिकालाई पुर्खाको थाकथलो मान्ने भूल नगरौँ । पश्चिमाको भर पर्दा न त गन्तव्यमा पुग्छौँ, न त उपलब्धी नै हात लाग्छ ।

चैत ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्